सर्वोच्च अदालतको आदेशको कार्यान्वयनको माग गर्दै जलेश्वर–जनकपुर–भिठामोड सडक अवरुद्ध



लक्ष्मी कुमार साह, महोत्तरी ।
सर्वोच्च अदालतको आदेशको कार्यान्वयनको माग गर्दै जलेश्वरका स्थानिय युवाहरुले जलेश्वर–जनकपुर–भिठामोड सडक अवरुद्ध पारेका छन् ।

महोत्तरीको जलेश्वरस्थित बस स्टैण्ड चौकमा जलेश्वरका स्थानिय युवाहरुले जलेश्वर–जनकपुर–भिठामोड सडक खण्डमा १ बजेर १५ मिनेट देखि २ बजेर १५ मिनेटसम्म एक घण्टा चक्का जाम गरी सडक अवरुरद्ध पारेका छन् । जलेश्वरका स्थानिय युवाहरुले सडक डिभिजन कार्यालय र ठेकेदारहरुले सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको तथा आदेश पश्चात पनि सो सडक खण्डमा काम सुचारु नगरेको भन्दै सडक अवरुद्ध पारेका छन् ।

महोत्तरी र धनुषा जोड्ने मूल भिठामोड–जलेश्वर–जनकपुर सडक खण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेकोले तोकिएकै मितिमा सम्पन्न गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । मंगलबार न्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

भिठामोड–जलेश्वर–जनकपुर सडक हुलाकी राजमार्गको चार लेन कालोपत्रसमेत हुने गरी निर्माण गर्न सरकारद्धारा निर्णय भएकोमा तत्काल एक लेन ग्राभेल सम्पन्न गर्न समेत आदेशमा उल्लेख छ । सो आदेशमा तोकिएकै समयमा सडक निर्माण कार्य सम्पन्न गर्नको साथै एक वर्ष वितिसक्दा पनि उक्त सडक निर्माण हुन ढिलासुस्ती हुनका कारण देखाउन समेत उल्लेख गरिएको छ ।
जलेश्वरका स्थानिय युवाहरुले सो सडक खण्ड दिनप्रतिदिन जिर्ण बन्दै गएकोले पैदल हिडने यात्रुलाई हिडन समेत कठिनाई भएकोले तत्काल कम्तिमा एक लेनको ग्रावेल बाटो निर्माण हुनुपर्ने बताए साथै यदि ठेकेदार र सम्बन्धित निकायले चाँडै काम सूचारु गरेन भने हामी सशक्त रुपमा प्रस्तुत हुने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्