ऐतिहासिक दरबार अलपत्र नपरुन्



 

 

नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीनवटा ऐतिहासिक दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्र परेको छ । तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरेको पोखराको रत्न मन्दिर, महेन्द्रको देहावसान भएको चितवनको दियालो बंगला र राजा त्रिभुवनले आफ्नी रानीको नाममा निर्माण गरेको हेटौंडाको कान्ति ईश्वरी दरबारलाई संग्रहालयका रुपमा विकास गरी सर्वसाधारणका लागि खुला गर्ने योजना थियो । तर, चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट नदिएपछि नेपालमा तीनवटा संग्रहालय थप्ने काम रोकिएको समाचार छ ।

तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र परिवारसहित गर्मी याममा पोखराको रत्न मन्दिरमा बस्न जाने गरेका थिए । त्यस्तै जाडो याममा उनीहरु चितवनको दियालो बंगला र हेटौंडाको कान्ति ईश्वरीमा बस्न जाने गरेका थिए । विकास क्षेत्र भ्रमणको क्रममा समेत तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र यिनै दरबारहरुमा बास बस्न जाने गरेका थिए । पछि राजा वीरेन्द्रको वंशनाश भएपछि उनी र उनका परिवारको नाममा भएको सम्पत्ति संरक्षण गर्न नेपाल ट्रस्टको कार्यालय स्थापना गरियो । अहिले यही ट्रस्टले यी तीनवटै ऐतिहासिक दरबारहरुको संरक्षण गर्दै आएको छ । र, यी दरबारलाई संग्रहालय बनाउने योजनाअनुरुप कार्य थालनी भएको छ ।

तर यी तीनवटै दरबार संरक्षण गर्न र संग्रहालयको पूर्वाधार निर्माण गर्न करिब ७ करोड रुपियाँ माग गरेकोमा सो शीर्षकमा १ रुपियाँ पनि बजेट नआएपछि संग्रहालय बनाउने काम शुरू हुन नसकेको कार्यालयका प्रवक्ता एवं सहसचिव लेखबहादुर कार्कीको भनाइ छ । संग्रहालय बनाउने निर्णय भएलगत्तै अवलोकनकर्ताका लागि करिब ३० लाख थान टिकटसमेत छपाइ भएको थियो । अहिले संग्रहालयको पूर्वाधार निर्माण गर्न रकम नहुँदा ती टिकटसमेत स्टोरमा थन्किएका छन् । ती ऐतिहासिक दरबारलाई संरक्षण गरी संग्रहालय खोल्ने तयारी गरेको ट्रस्टले बजेटको अभावमा अहिले सबै काम अलपत्र परेको जनाएको छ । अवलोकनकर्ता प्रवेश गर्ने स्थान, शौचालय, पार्किङ, टिकट घरलगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने तयारी गरेकोमा रकम विनियोजन नगरिएपछि सबै काम रोकिएको ट्रस्टको भनाइ छ । अहिले यी दरबारको संरक्षण गर्नका लागि पनि संग्रहालयको रुपमा विकास गर्नुपर्ने खाँचो छ । त्यसैले यी दरबार अलपत्र हुनबाट जोगाउन सरकारको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्