प्रतिबन्ध विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर नयाँ प्रतिबन्ध व्यापारिक युद्धको घोषणा हो



 

मस्को⁄वासिङ्टन, (एजेन्सी)
रुसले अमेरिकाको नयाँ प्रतिबन्धलाई लिएर कडा आपत्ति जनाएको छ। अमेरिकी कंग्रेसले पारित गरिसकेको उक्त प्रतिबन्ध विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि रुसको ताजा प्रतिक्रिया आएको हो।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले रुसमाथिको उक्त अमेरिकी प्रतिबन्ध पूर्णरुपमा व्यापारिक युद्धको घोषणा भएको बताएका छन्।

मेदभेदेवले ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमा हस्ताक्षर हुनुले उनी कति लाचार छन् भन्न दर्साएको बताए। कंग्रेसले राष्ट्रपति ट्रम्पको अपमानित गरेको पनि उनले बताए।

अमेरिकाले उक्त नयाँ प्रतिबन्ध सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा गरेको हस्तक्षेपकारी भूमिका र युक्रेनमा भएका कारबाहीविरुद्ध रुसलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको बताएको छ। ट्रम्पले यस प्रतिबन्धका लागि कंग्रेसलाई जिम्मेवार ठहर्याएको छ।

बुधबार नयाँ प्रतिबन्धमा हस्ताक्षर गरेपछि ट्रम्पले यसको परिणाम अमेरिकाको हकमा नभएको बताए। अमेरिकाको नयाँ प्रतिबन्धपछि अमेरिकीहरूका लागि रुसको ऊर्जा परियोजनामा लगानी गर्न सहज हुनेछैन। साथै अमेरिकी कम्पनीहरूका लागि रुसमा व्यापार गर्न अत्यन्त कठिन बनेको छ।

रुसबाहेक अमेरिकाले इरान र उत्तर कोरियाविरुद्ध पनि प्रतिबन्ध लगाएको हो। इरानले नयाँ अमेरिकी प्रतिबन्धलाई ओबामाको कार्यकालमा भएको परमाणु सम्झौताको उल्लंघन बताएको छ। इरानको अर्ध सरकारी समाचार एजेन्सी इस्नाले उक्त प्रतिबन्धको ‘उचित र समान’ जवाफ दिने इरानले बताएको जनाएको छ। उत्तर कोरियाले अमेरिकी प्रतिबन्धको कुनै सार्वजनिक टिप्पणी गरेको छैन।
रुसी प्रधानमन्त्री मेदभेदेवले बुधबार आफ्नो फेसबुकमा अमेरिकाका तर्फबाट आएको नयाँ प्रतिबन्धले, त्यहाँ नयाँ सरकार आएपछि सम्बन्ध सुधार हुने भनी गरिएको अपेक्षाको अन्त भएको लेखेका छन्।

उनले लेखे– ‘प्रतिबन्धात्मक शासन पद्धतिलाई स्थापित गरिदिएको छ। जबसम्म कुनै चमत्कार हुँदैन, तबसम्म यसको असर आगामी कयौं दशकसम्म रहनेछ।
मेदभेदेवले पछिल्लो कदमले राष्ट्रपति ट्रम्पलाई हटाउन पनि सहयोगी हुने चेतावनी दिएको छ।’ रुस सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि हस्तक्षेपलाई अस्वीकार गर्छ। गत हप्ता अमेरिकाको मस्कोस्थित अमेरिकी दूतावासबाट ७ सय ५५ कर्मचारीलाई देश छोड्न रुसले आदेश दिएको थियो।
अमेरिकाको पछिल्लो प्रतिबन्धलाई लिएर जर्मनीलगायत थुप्रै युरोपेली देशले आर्थिक दुस्परिणामको आशंका व्यक्त गरिसकेका छन्। यद्यपि युरोपेली युनियन कमिसनका अध्यक्ष जँ क्लाड युन्करले ईयूको चिन्तापछि प्रतिबन्धलाई उदार बनाउने विषयमा सन्तोष व्यक्त गरेका छन्। उनले भने– ‘अमेरिकी कंग्रेसले यो प्रतिबन्ध सहयोगी देशहरूको सुझावपछि मात्र लागू गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेको छ। अहिले पनि हामी अमेरिकाको सहयोगी हौं भन्ने कुरालाई म मान्छु।’

रुसप्रति उदार देखिएका राष्ट्रपति ट्रम्पले कंग्रेसमाथि विधेयक पारित गरेर मनोमानी गरेको आरोपसमेत लगाए। कंग्रेसले संवैधानिक अधिकारको अतिक्रमण गरिरहेको पनि ट्रम्पले आरोप लगाए। ट्रम्पले आफू कंग्रेसको तुलनामाा बाहिरी देशसँग धेरै राम्रो सम्झौता गर्न सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्