जर्मन मेलामा नेपाली सामान



 

जर्मनको म्युनिखमा जुन २१ देखि एक महिनाका लागि व्यापार मेला सञ्चालन हुने गर्छ। एक महिनासम्म चल्ने उक्त व्यापार मेलामा स्वदेश तथा विदेशबाट गरी २ सयको हाराहारीमा स्टलहरु राखिन्छन्। नेपाली हस्तकलाका सामान, अन्य विभिन्न देशका गार्मेन्ट, खानाका परिकार तथा कल्चर डान्स यस मेलाका प्रमुख आकर्षण हुन्। नेपालमा उत्पादित हस्तकला तथा गार्मेन्टका सामानहरु उक्त मेलामा देख्न पाइन्छ। मूर्ति, हातेकागज, पश्मिना, फेल्ट र ऊनीका वस्तुहरु बिक्रीका लागि राखिएका हुन्छन्। नेपाली सामानप्रति जर्मनहरु निकै मायाले हेर्ने गर्दा रहेछन्। यहाँको उत्पादनलाई गर्वले खरिद गरेको पाइयो। विगत १० वर्षदेखि नेपाली सामान बेच्दै आएका जर्मन व्यापारी उदु इटिलबुस भन्छन्, ‘नेपाली सामान पहिलेको तुलनामा क्वालिटीमा अलि सुधार भएर आएको छ। यसलाई अझै सुर्धादै लैजाने हो भने जर्मनमा नेपाली सामानको माग झनै बद्दै जानेछ।’

त्यस्तै त्यहाँका व्यापारी पिटर र मागीले पनि नेपालको गार्मेन्टमा गुणस्तरको खाँचो भएको बताए। वर्षमा दुईपटकसम्म व्यापार मेला हुने उक्त स्थानमा जाडोका सामानहरु– ऊनीका टोपी, पञ्जा र जाकेटले अलि महत्व पाउँदो रहेछ। जाडोका सामान बेच्नलाई नोभेम्बरको अन्तिम सातादेखि डिसेम्बरको २२ सम्म चल्ने व्यापार मेलामा बढी नेपाली हस्तकलाका सामा न नै बिक्री हुने गर्दछ। क्रिमसको समयमा चल्ने मेलामा क्रिमस गिफ्ट नेपाली सामानले स्थान पाउँदो रहेछ।

विगत ३ वर्षदेखि उक्त मेलामा भाग लिँदै आएका नेपाली व्यापारी अमिर अधिकारी भन्छन्– –यो व्यापार मेला भनेको दुहुनो गाई हो, जति हरियो घाँस र दाना खुवायो उति नै दूध दिन्छ। क्वालिटीको सामान राख्न सके व्यापार राम्रो हुने कुरामा विश्वस्त छु।’
मेलाको अर्को आकर्षण भनेको विभिन्न देशका खानका परिकार र आ–आफ्नो देशका कल्चर डान्स। खानामा थाई, इन्डियन, मेक्सिकन र अफ्रिकन पाइन्छ भने कल्चर डान्समा प्रमुख आर्कषण इन्डियाको पञ्जावी र जयपुरी डान्सले सबैको ध्यान केन्द्रित गर्दो रहेछ। प्रत्येक दिन बेलुका ५ बजेबाट शुरु हुने उक्त कल्चर डान्स हेर्नकै लागि टाढा–टाढाबाट मनिसहरु मेलामा आउने गर्दा रहेछन्। नेपालको तर्फबाट पनि कल्चर डान्स प्रस्तुत गर्न सके नेपालको टुरिजममा निकै टेवा पुग्ने देखिन्छ।

– हरि ढकाल, काठमाडौं

गौरवका आयोजनामा ध्यान पुगेन

संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन र त्यस्ता आयोजना निर्धारित समयभित्रै सक्ने प्रबन्ध मिलाउने गरी नयाँ ऐन निर्माण हुन अहिले जरुरी छ। गौरवका योजनालाई सरकारबाट महत्वका साथ हेरिनु जरुरी छ। यो विषयमा सबै सांसद गम्भीर हुनु जरुरी छ। म सबै सांसदलाई गम्भीर हुन अनुरोध गर्दछु।

नेपालले विभिन्न आयोजनालाई गौरवका आयोजना भनेर वर्गीकरण गरेको छ तर त्यसलाई विशेष प्राथमिकतामा राखेर काम गरेको पाइँदैन। काम गर्न लागे पनि विभिन्न चलखेलले बीचमै रोक्ने तथा काम नहुने र भए पनि कमसल र अपूरो हुनाले यसमा समस्या आएको जस्तो देखिन्छ। यस विषयमा गम्भीर हुनुपर्यो।
– खिमलाल भट्टराई, भक्तपुर

गरेमा हुँदोरहेछ त!

समुदायको अग्रसरतामा म्याग्दीको मालिका गाउँपालिका–७, बिममा निर्माण भएको खारा–बिम सडक जिल्लाकै नमुना बनेको छ। सरकारी लगानीको तुलनामा स्थानीयले आफ्नै स्रोत–साधन जुटाएर उच्च प्रविधिबाट निर्माण गरिएकोले सडक नमुना बनेको हो। समुदायले निर्माण गरेको साबकको बिम–४ खारादेखि १ र २ नम्बर वडामा पर्ने तल्लो गाउँ हुँदै ६ र ७ नम्बर वडामा पर्ने बिम डाँडागाउँ जोड्ने ५ किलोमिटर ग्रामीण सडक नमुना सडकका रुपमा चिनिएको छ।

व्यक्तिगत ऋण र घरदैलो चन्दाबाट ५६ लाख रुपियाँ सहयोग जुटाई बिमवासीले भिरालो पाखो र चट्टानी पहाडी भूगोलमा निर्माण गरेको सडक प्राविधिक मापदण्डअनुसार फराकिलो पनि छ। साबिकको बिम गाविसको कार्यालयले १३ लाख र जिविसले ३ लाख रुपियाँ मात्र अनुदान उपलब्ध गराएको मोटरबाटो निर्माणमा ७२ लाख रुपियाँ खर्च भएको छ। वैदेशिक रोजगारीमा गएका स्थानीयले पनि सडक निर्माणमा ठूलो सहयोग गरेका थिए। यसरी आफैं लागिपरेमा गाउँको विकास गर्न सकिन्छ। हामी सबैको सोच यस्तै भएमा विकासले गति लिने थियो। अब केही सोच्ने कि ? यसबाट केही सिक्ने कि ?

– सुदीप पौडेल, खारा

बोनस शेयरले शेयरधनीमा उत्साह

प्राइम लाइफ इन्सुरेन्सले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने कुरा एकदमै राम्रो हो। प्राइमजस्तै सबैले समय–समयमा बोनस दिनु जरुरी छ। प्राइमको साउन १२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस दिने र यसमा लाग्ने कर तिर्न आवश्यक नगद लाभांश दिने निर्णय गरेको खबर समाचारमा आएपछि मैले पनि बोनस पाउने भएको छु। सञ्चालक समितिको उक्त निर्णय आगामी साधारणसभा र नियामक बिमा समितिले अनुमोदन गरिसकेपछि मात्र कार्यान्वयनमा आउनेछ। त्यसकारण छिटो निर्णय होस् भन्न चाहन्छु।

– सम्झना शर्मा, काठमाडौं

वाणिज्य बैंकको पारा के हो ?

मेरो खाता राष्ट्रिय वाणिज्य बैंकमा छ। मैले सरकारी स्तरको सेवा–सुविधाको सबै अवस्था बुझेर खाता खोलेको हुँ। आज पछुताउने अवस्था सिर्जना गराएको छ मलाई बैंकले। किन खाता खोलेछु भन्ने अवस्थामा पुर्याएको छ। एटीएमसमेत लिएको मलाई बैंकको सेवा–सुविधा दिनमा गरिने ढिलासुस्तीले हैरान पारेको छ।

एटीएम मेसिनले काम नगर्ने र बैंकमा सेवा–सुविधा ढिला हुने अवस्थाले मलाई सताएको छ। समयको निकै महत्व छ। हामीले बुझेका छौं। तर यो बैंकमा ग्राहकको मतलव नै गरिँदैन। काममा त्यस्तै ढिलासुस्ती हुन्छ। अन्य निजीस्तरको बैंकमा खाता खोलेको भए पनि हुन्थ्यो भन्ने अवस्थासम्म मलाई यो बैंकले पुर्याएको छ।

म बुधबार विशालबजारमा रहेको वाणिज्य बैंकमा जाँदा त्यस्तै हबिगत भयो। म १२ बजे त्यो बैंकमा पुगेको थिएँ। म जाँदा टोकन नम्बर १५० सम्म थियो। मेरो नम्बर २०१ पर्यो। मैले त्यो टोकन नम्बरको पालो कुर्न ३ घन्टा कुर्नुपर्यो। कर्मचारी यताउता गफ गरेर बसिरहेका थिए। ढिला भयो भनेर कुरा गर्दा नराम्रो तरिकाले प्रस्तुत भए। हामीलाई काम थाहा छ, सिकाउन पर्दैन भन्दै ग्राहकलाई थर्काए मेरै अगाडि। बैंकको अवस्था अनि कर्मचारीको पारा नसुध्रेसम्म यो बैंकको केही प्रगति हुनेवाला देख्दिनँ म। त्यसकारण यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।
– शीतल शर्मा, कलंकी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्