भारत–पाक स्वतन्त्रताको ७० वर्ष,हतारको विभाजनमा रुमल्लिएको संकट



नयाँदिल्ली, (एजेन्सी)
७० वर्षअगाडि भारतबाट अंग्रेज बिदा भएर जानु एक प्रकारले बेलायत साम्राज्य अन्त्यको घोषणा थियो।

हिन्दुस्तानमाथि बेलायतको शासन अन्त्य हुँदा एक होइन, दुई मुलुकले स्वतन्त्रताको श्वास फेरे।

स्वतन्त्रतासँगै मुलुकको विभाजनले ल्याएको विध्वंस २०औं शताब्दीमा मानवताको इतिहासमा सबैभन्दा ठूला त्रासदीमध्येको एक थियो। भारत स्वतन्त्र हुँदा त्यहाँको आवादी करिब ४० करोड थियो। यसमा हिन्दुको बाहुल्यता थियो। देशको एक चौथाइ आवादी मुसलमानको थियो भने उनीहरू स्वतन्त्र हुन अगाडिदेखि नै अलग्ग देश माग गरिरहेका थिए।

भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू धर्मको आधारमा देश विभाजनको विरुद्ध थिए। तर मोहम्मद अली जिन्नाले मुसलमानलाई आफ्नो अलग्ग देश चाहिने मागमा अडान राख्दै आएका थिए। जिन्ना स्वतन्त्र पाकिस्तानको गभर्नर जनरल बने। उनलाई पाकिस्तानले ‘कायदे आजम’ महान् व्यक्तिको सम्मान दिएको छ।

बेलायती शासनमा आबद्ध एक व्यक्तिले भनेका थिए– ‘स्वतन्त्रता र देशको विभाजन एकै पटक भए। भारतलाई स्वतन्त्रता विभाजनको मूल्य मात्र प्राप्त भयो।’

हिन्दुस्तान अर्थात् इन्डियालाई विभाजन गर्न जिम्मेवारी अन्तिम बेलायती गभर्नर जनरल तथा भायसराय लर्ड माउन्टबेटनलाई दिइएको थियो। माउन्टबेटन बेलायती साही परिवारसँग सम्बद्ध थिए।

साम्राज्यको सबैभन्दा ठूलो उपनिवेशबाट बेलायत आफै सुरक्षित निस्कन चाहेका थिए। यो काम कठिन र जटिल पनि थियो। माउन्टबेटनले यो काम जति छिटो हुन्छ त्यति राम्रो हुने सोच बनाएका थिए। यो काम यति हतारमा भएको थियो, भारत र पाकिस्तानबीच सीमांकन मात्र पाँच हप्तामा गरिएको थियो।

सन् १९४७ अगस्टमा पहिला पाकिस्तान र फेरि भारतले स्वतन्त्रताको खुसियाली मनाए। तर दुई दिनपछि दुई मुलकबीचको सिमाना घोषणा हँदा पाकिस्तान र भारत दुवै देशका नागरिक खुसी हुन सकेनन्।

पाकिस्तानका गभर्नर जनरल मोहम्मद अली जिन्नालाई जीर्ण पाकिस्तान सुम्पेको गुनासो थियो। जसको दुई हिस्सा एक अर्कोबाट दुई हजार किलोमिटरको दूरीमा पर्छन्। त्यसको बीचमा फेरि भारत पर्छ।
अन्ततः सन् १९७१ मा पूर्वीपाकिस्तान बंगलादेशको नाममा स्वतन्त्र मुलुक बन्यो।

भारत, पाकिस्तान स्वतन्त्र हुनु केही दिन अगाडिदेखि नै देशमा हिन्दु र मुसलमानबीच हिंसा शुरू भइसकेको थियो। तर हिंसाको यी घटनाले विभाजनको समयमा यति भयानक रुप लिन्छ भन्ने अनुमान गरिएको थिएन।
यी दुई देश स्वतन्त्र हुँदा करिब १ करोड २५ लाख नागरिक शरणार्थीका रुपमा भारत र पाकिस्तान आवत जावत गरे। विभाजनको समयमा भएका साम्प्रदायिक हिंसामा सबै धर्मका ५ देखि १० लाख मान्छे मारिएको अनुमान गरिएको छ। विभाजनका बेला भड्केको हिंसामा दशौं हजार महिला अपहरणमा परेका थिए।

विभाजनको चोट यति गहिरो थियो कि भारत र पाकिस्तान आजसम्म पनि यसको असरबाट माथि उठ्न सकेका छैनन्। काश्मिरमाथिको सम्प्रभुतालाई लिएर आज पनि दुई देशबीच खिचातानी भइरहेको छ।
स्वतन्त्रता हासिल भएको केही हप्ता नबित्दै दुई देशबीच काश्मिरलाई लिएर युद्ध छेडिएको थियो। आजसम्म पनि काश्मिरको विवाद सल्टिन सकेको छैन। यो हतारमा गरिएको विभाजनले छोडेको संकट हो र यसले फेरि एक पटक विध्वंशको रुप लिन सक्ने अनुमान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्