पाकिस्तानी संसद्द्वारा अब्बासीलाई प्रधानमन्त्रीमा छनोट



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका विधायकहरूले गत साता भ्रष्टाचारको अभियोगमा अपदस्थ गरिएका प्रधानमन्त्री नवाज सरिफको स्थानमा शाहिद खाकान अब्बासीलाई मंगलबार छनोट गरेका छन्। सत्तारूढ पार्टीले नवाजकै भाइ शहवार सरिफले प्रधानमन्त्री पद धारण नगरुन्जेल अस्थायी रुपमा सो पदमा पूर्व तेलमन्त्री अब्बासीलाई राख्ने निर्णय गरेको हो।

हाल पंजावका मुख्यमन्त्री रहेका शहवाज सरिफले प्रधानमन्त्री बन्ने योग्यता बनाउन संसद्को मध्यावधि चुनाव जित्नुपर्ने भएको छ। पाकिस्तानको राष्ट्रिय सभाको ३ सय ४२ सदस्यमध्ये २ सय २१ जनाले अब्बासीलाई यस पदका लागि समर्थन गरेका हुन्।

उक्त मतदानपछि नवाज सरिफलाई धन्यवाद दिँदै अब्बासीले शहवाजको विकल्पको भूमिका मात्र निभाउन लागेको भन्ने दाबीको खण्डन पनि गरेका छन्। उनले भने– ‘कोही भन्छन् म यहाँ ४५ दिनका लागि मात्र आएको हुँ। म यहाँ ४५ दिन वा ४५ घण्टाका लागि आएको किन नहोस् तर म सिट न्यानो राखिराख्न मात्र आएको होइन। म केही काम गर्न चाहन्छु। यदि मन्त्रिमण्डलले सहयोग गरेको खण्डमा म केही महत्वपूर्ण काम गर्न चाहन्छु।’
मंगलबार प्रधानमन्त्री छनोटका लागि भएको मतदानमा विपक्षी समूहहरूले पनि उम्मेदवार प्रस्तुत गरे पनि संसद्मा सत्तारूढ पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीको बहुमत भएकाले तिनीहरूको केही सिप नलागेको हो। मतदानपछि विधायकहरूले नवाज सरिफको नाम लिएका थिए।

पीएमएल–एन विधायक राणा मुहम्मद अफजल खानले मतदानअघि पाकिस्तानमा राजनीतिक स्थिरता कायम राख्नकै निम्ति यो कदम उठाइएको र जिम्मेवार पार्टीको हैसियतले आफूहरूले पाकिस्तानलाई अघि बढाउनुपर्ने रोयटर्सलाई बताएका थिए।

शाहवाजले आफ्नो दाजुले छाडेको प्रधानमन्त्रीको रिक्त स्थान ओगट्न संसदीय चुनाव लड्ने अनुमान गरिएको छ। तर त्यसका लागि कम्तीमा ४५ दिन लाग्ने बताइएको छ। अब्बासीले अमेरिकाको एक विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका हुन्। पाकिस्तानी राजनीतिमा प्रवेश गर्नुअघि उनी साउदी अरेबियामा इन्जिनियरको हैसियतले कार्यरत थिए।

तीनपटक प्रधानमन्त्री रहिसकेका नवाज सरिफका उनी लामो समयदेखिका समर्थक मानिन्छन्। पाकिस्तानको सर्वोच्च अदालतले नवाजलाई पदमा बसिरहन अयोग्य ठहराएको थियो। अब्बासीले रावलपिन्डी जिल्लाको आफ्नो गृहनगर क्षेत्र मुर्रीबाट छपटकसम्म संसदीय चुनाव जितेका थिए।

उनले एकपटक मात्र अर्थात सन् २००२ को चुनाव हारेका थिए। सन् १९९९ मा जनरल परवेज मुसरफले नवाज सरिफको सरकार अपदस्थ गर्दा उनी उड्डयन मन्त्री रहेका थिए। मुसरफको रक्तपातरहित सैनिक विद्रोहपछि उनी दुई वर्ष जेल परेका थिए।

प्रतिक्रिया दिनुहोस्