को बन्ला पाकिस्तानमा नयाँ प्रधानमन्त्री ? ६ जना प्रतिस्पर्धामा



पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन्।

निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेपछि उनले राजीनामा दिएका थिए। राजीनामासँगै नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएको हो।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ।

प्रधानमन्त्रीको प्रतिस्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि छन्। उनी प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुन्।

अर्को प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ-इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका छन्।

इस्लामिक पार्टी जमात इ-इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन्।

पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लिम लिग (नवाज)का सांसद तथा पूर्व तेलमन्त्री सहिद खाक्वान अब्बासीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ।

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहेका सरिफ प्रधानमन्त्री निर्वाचित हुने करिव निश्चित छ।

मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर गरेर गत शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो। फैसलासँगै उनको तेस्रो कार्यकाल सकिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्