एकै पटक निर्वाचन गराउनु राम्रो



 

संविधानअनुसार माघ ७ गतेभित्र सबै निर्वाचन गर्नुपर्ने समयसीमाका बारेमा अहिले प्रमुख राजनीतिक दल र निर्वाचन आयोगले चर्चा–परिचर्चा गरिरहेको अवस्था छ । यसरी चर्चा–परिचर्चा हुनु अस्वाभाविक पनि होइन । तर, चर्चा मात्रै भयो र काम भएन भने त्यो भन्दा अप्ठेरो अवस्था अरु केही पनि हुनेछैन । त्यसैले पनि असोज २ गते स्थानीय तहको प्रदेश–२ को निर्वाचनलगत्तै दल, सरकार र आयोग प्रदेश तथा केन्द्रको निर्वाचनमा होमिनु जरुरी रहेको छ ।

प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्नुपर्ने सत्तारुढ दल र प्रमुख विपक्षी दलले पनि बताउँदै आएका छन् भने निर्वाचन आयोगले त्यसो गर्न सम्भव नहुने बताउँदै आइरहेको अवस्था छ । वास्तवमा निर्वाचन एकै पटक गराएको खण्डमा एकातिर जनताले एउटै कामको लागि पटक–पटक दुःख पाउनेछैनन् भने अर्कोतर्फ अर्बौंको रकम जोगिने अवस्थासमेत उत्पन्न हुन सक्छ । त्यसैले झिनामसिना कुरा देखाएर निर्वाचन एकै पटक गराउन सकिँदैन भनेर आयोगले अत्तो थाप्न मिल्दैन । बरु कानुनी वा संवैधानिक जटिलता हुन्छ भने त्यो जटिलता फुकाउन सरकार तथा राजनीतिक दलहरूले बेलैमा पहल गर्नुपर्छ ।

हुन त दुई पटक निर्वाचन गराउनका लागि समेत दलहरूले आयोगले मागेका आवश्यक कानुन अझै पनि बनाइदिन नसकेको गुनासो आइरहेको छ । कतिपय कानुन त तोकिएको समयसीमा सकिँदासमेत नआएको बताइँदै आएको छ । अर्कातर्फ क्षेत्र निर्धारण आयोगले कहिलेसम्ममा प्रतिवेदन दिने हो, त्यो पनि निश्चित भइसकेको छैन । त्यसैले निर्वाचन आयोगलाई कराएर मात्रै पनि हुनेवाला छैन । तर, सरकार र राजनीतिक दलहरूले सबै आवश्यकता पूरा गरिदिने हो भने आयोग एकै पटक निर्वाचन गराउनबाट पछि हट्न पनि मिल्दैन । त्यसो गरिएको अवस्थामा सबैलाई सहज वातावरण हुनेछ ।

एउटा निर्वाचन गराउन नै गाह्रो भइरहेको अवस्थामा दुईवटा निर्वाचन छोटो समयमा हुन्छ कि हुन्न भनेर थप अन्योल सिर्जना हुन सक्छ । एउटा भइहालेमा फेरि अर्को के हो, के हो भन्ने वातावरण सिर्जना गराउनुभन्दा एकै पटक गर्ने र केही स्थानमा कुनै गडबड भएमा फेरि निर्वाचन गराउने समयसमेत मिल्ने गरी एकै पटक निर्वाचन गराउनु नै अत्युत्तम हुन्छ । मतदातालाई मतदान गर्न केही झन्झट होला तर बेलैमा त्यसको तयारी गरेर निर्वाचन शिक्षाजस्ता कुराहरूमा जोड दिनु उपयुक्त हुन्छ । एकै पटक हुने काम पटक–पटक गराउँदा त्यसले राज्यलाई व्ययभार बढ्ने र जनतालाई थप सास्ती हुने निश्चित नै रहेको छ । त्यसैले एकै पटक निर्वाचन गराउँदा राज्य वा दलहरूका तर्फबाट सल्ट्याउनुपर्ने कुराहरू के–के हुन सक्छन्, त्यो बेलैमा सल्ट्याएर युद्धस्तरमा निर्वाचनतिर लागिहाल्नु सबैका लागि हितकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्