रुस–अमेरिका विवाद पुटिनद्वारा ७५५ अमेरिकीलाई रुस छोड्न आदेश, निष्कासनपछि अमेरिकी कूटनीतिकको संख्या ४५५ मा सीमित हुने



 

मस्को, (एजेन्सी)
अमेरिकाको पछिल्लो प्रतिबन्धको जवाफमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कूटनीतिज्ञलाई रुस छोड्ने आदेश दिएका छन्। पुटिनले दुई देशबीच निकट भविष्यमा सम्बन्ध सुधार हुने कुनै लक्षण पनि नदेखिएको बताए।

उक्त फैसला शुक्रबार लिइएको थियो तर पुटिनले संख्याको पुष्टि गर्दै सेप्टेम्बर १ भित्र रुस छोड्नका लागि भनिएको छ। सेप्टेम्बर १ पछि रुसमा अमेरिकी कर्मचारीको संख्या वासिङ्टनमा रुसी कर्मचारीको संख्या बराबर ४ सय ५५ हुनेछ।

यसलाई आधुनिक इतिहासमा कुनै पनि देशबाट कूटनीतिज्ञ निष्कासन गरेको सबैभन्दा ठूलो संख्या हो। यसमा रुसमा अमेरिकी मिसनका लागि काम गरिरहेका रुसी कर्मचारी पनि परेका छन्। मस्कोसँगै भ्लादिभोस्तक र सेन्ट पिटर्स बर्गस्थित दूतावासका कर्मचारी पनि यसबाट प्रभावित भएको जनाइएको छ।

अमेरिकाले रुसको यस कदमलाई अफसोचजनक भएको प्रतिक्रिया दिएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टका एक अधिकारीले भने– ‘हामी यसको प्रभावको आंकलन गरिरहेका छौं र यसको कसरी जवाफ दिने विषयमा सोच बनाइरहेका छौं।’

पुटिनले भने– ‘१ हजारभन्दा धेरै कर्मचारी काम गरिरहेका थिए र अहिले पनि गरिरहेका छन् तर यसमा ७ सय ५५ जनाले अब रुसमा आफ्नो गतिविधि रोक्नु पर्नेछ।’

आफूले अन्य कदम पनि चाल्न सक्ने तर अहिले आफू त्यसको पक्षमा नरहेको पुटिनले बताए। उनले यस घटनालाई सिरियामा अप्रसार क्षेत्रको निर्माणमा सँगै काम गरेकोको ठोस परिणाम भएको बताए।

सम्बन्ध सामान्य हुने विषयमा उनले भने– ‘हामीले स्थिति राम्रो होस्, यसका लागि धेरै लामो समयसम्म पर्खियौं। स्थिति परिवर्तन भइरहेको पनि छ तर तत्काल यसमा सुधार हुन्छ, यसको सम्भावना कमै देखेको छु।’

रुसले अमेरिकी कूटनीतिज्ञद्वारा बिदा मनाउन प्रयोग गरिरहेको सम्पत्ति र गोदाम पनि फिर्ता लिने घोषणा गरेको छ। वर्तमान अमेरिकी प्रतिबन्ध २०१४ मा रुसको क्रिमियामाथि कब्जा र हालैको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेपको सम्बन्धमा रहेको छ। गतवर्ष डिसेम्बरमा ओबामा प्रशासनले हिलारी क्लिन्टनको अभियानको कथित ह्याकिङको जवाफमा अमेरिकाले दुई रुसी नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको र ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

ह्वाइट हाउसको आपत्तिका बाबजुद रुसमाथि लगाइएका ताजा अमेरिकी प्रतिबन्धलाई कांग्रेसको दुवै सदनले अनुमोदन गरेको थियो।
अमेरिकी गुप्तचर विभागले रुसले चुनावी नतिजा डोनाल्ड ट्रम्पको पक्षमा पार्ने प्रयास गरेको मुद्दामा छानबिन गरिहेको छ। ट्रम्पको अभियानले वास्तवमै मद्दत पाएको छ वा छैन भन्ने विषयमा जाँच भइरहेको छ।

रुसले हस्तक्षेपकारी भूमिकाको अमेरिकी आरोपलाई अस्वीकार गरेको छ र ट्रम्प स्वयंले पनि रुससँग कुनै मिलोमतो नरहेको दोहोर्याउँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्