कालिकोटका क्यान्सरपीडित बालक हेमराजलाई बचाऊ



 

नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले १५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकका लागि क्यान्सर, मुटुलगायतका समस्यामा निःशुल्क उपचार गर्न सहयोग गर्ने उद्घोष गरिरहँदा कालिकोटजस्तो विकट ठाउँबाट आर्थिक र पारिवारिकसमेत समस्यामा परी काठमाडौं पुगेका बालकको उपचारमा सहयोगको याचना गर्दै यी १२ वर्षीय बालक आफ्नो जीवनको भिख मागिरहेका छन्। यस्तो दयनीय अवस्थाका बालकको उपचार गर्ने दायित्व अब कसको र निःशुल्क उपचारका लागि नीतिनियम बनाएर सस्तो लोकप्रियताका लागि प्रचार प्रसारमा लाग्ने नेताहरूको दायित्व बहन अब कसले गर्ने ?

सरकारका जिम्मेवार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा यति लामो समयसम्म स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफ्नै पोल्टामा हालेर चुपचाप बस्नुभएको छ। यता नीति निर्माण गरिए पनि कार्यविधि नभएका कारण काम गर्ने बाटो नफुकेका कारण मन्त्रालयका कर्मचारीहरू गालका भागिदार बन्दै काम गर्नबाट वञ्चित छन् भने पीडित बिरामीहरू मन्त्रालयको ढोकामा पुगेर आफ्ना बिलौनासमेत सुनाउने जिम्मेवार व्यक्ति नभएको सुनेर निराश भएर फर्कन बाध्य छन्।

कालिकोटका क्यान्सरपीडित बालक हिमराज गिरीलाई बचाउन अपिल गरिएको छ। सान्नी–त्रिवेणी गाउँपालिका–१ का गिरीको उपचारमा सहयोग गर्दै आएका नवराज गिरी, मिलन कार्की र देवीराम देवकोटाले पत्रकार सम्मेलनको आयोजना गरेर सो अपिल गरेका हुन्।
शुक्रबार राजधानीको संवाद डबलीमा बिरामी हेमराजसहित उपस्थित पत्रकार सम्मेलनको आयोजना उनको अहिलेसम्मको अवस्था र थप उपचारको विषयमा जानकारी दिइएको थियो। कान्ति बाल अस्पतालले नेपालमा उपचार हुन नसक्ने भन्दै दिल्ली जान सुझाव दिएको उपचारमा सहयोग गरिरहेकी समाजसेवी मिलन कार्कीले जानकारी दिइन्। मध्यपश्चिम क्षेत्रीय अस्पतालले काठमाडौंको कान्ति अस्पतालमा रिफर गरेको थियो। कार्कीका अनुसार हेमराजको बोनम्यारोमा बदल्नुपर्ने कान्ति बाल अस्पतालले जनाएको छ।

आर्थिक अवस्थाका कारण घरपरिवारले उपचार नगर्ने र १२ वर्षीय हेमराजलाई बचाउन आफूहरूले काठमाडौं ल्याएको उपचारमा संलग्न नवराज गिरीले जानकारी दिए। उनी हेमराजको दाजु (माइला बुबाको छोरा) हुन्। उपचार नपाएर मृत्युसँग लडिरहेको जानकारी पाएपछि आफू हेमराज बचाउने अभियानमा लागेको कार्कीले बताइन्। व्यक्तिगत खर्चबाटै उपचार शुरू गरेकी कार्कीले भनिन्– ‘क्यान्सरबाट पीडित हेमराजलाई घरमा लिने धामीझाँक्रीबाट उपचार गर्न लगाउने, ढुंगालाई औषधि गर्नुहुँदैन जस्ता कुरा हेमराजका आमाबुबाले गरेको मैले सुनें, जसरी पनि हेमराजलाई बचाउनुपर्छ भन्ने लाग्यो। १५ हजार रुपियाँ दिएर काठमाडौं पठाएँ, केही जुटायौं तर हामीले सोचेभन्दा धेरै खर्च लाग्ने भयो। हामी एक्लैले नसक्ने भएका कारण सबैसँग सहयोगका लागि अनुरोध गर्दछौं।’ केही सहयोग जुटेको तर त्यतिले नपुग्ने उनले बताइन्।

भक्तपुर माइती भएकी कार्की रोजगारीको सिलसिलामा सुर्खेतमा कार्यरत छन्। चिकित्सकहरूले १० दिनभित्र बोनम्यारो बदल्न सुझाव दिएका छन् तर आर्थिक अभावका कारण आफूहरूले उपचार शुरू गर्न नसकेको दाजु नवराजले जानकारी दिए।

हेमराजकी आमा उनलाई १५ महिनाको छोडेर अर्कोसँग विवाह गरेर गएको र बुबाले पनि अर्की आमा ल्याएर अलग्गै बस्छन् भने उनी ठूलो बुबाको घरमा बस्दै आएका छन्। खोई राज्यले यस्ता व्यक्तिको अभिभावकको दायित्व बहन गरेको ?

प्रतिक्रिया दिनुहोस्