महिनावारी रोकिएका महिलालाई निःशुल्क सेवा



 

महिनावारी रोकिएका या विभिन्न कारणले पाठेघर झिकेर फ्याँकेका महिलाहरूका लागि नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलले अब हरेक हप्ता नियमितरूपमा निःशुल्क स्वास्थ्य जाँच सेवा शुरू गर्ने भएको छ।

महिनावारी रोकिएपछि महिलालाई उच्च रक्तचाप, मुटु, क्यान्सरलगायत विभिन्न रोग लाग्न सक्ने सम्भावना भएकाले ती रोगबाट समयमै महिलाहरूलाई जागाउने उद्देश्यले अस्पतालले महिलाहरूका लागि निःशुल्क रूपमा सो सेवा शुरू गर्न लागेको हो।

नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरको पहलमा वरिष्ठ क्यान्सर विशेषज्ञ तथा ‘मेनोपउजल सोसाइटी अफ नेपाल’ (मेसन) का पदाधिकारी एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञहरूको छलफले भदौदेखि सो सेवा शुरू गर्ने निर्णय गरेको हो।
अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदनकुमार पिया तथा मेसनकी निर्वाचित अध्यक्ष डा. सुशीला श्रेष्ठसहितको विशेषज्ञ टोलीले सो सेवा शुरू गर्ने तयारीका विषयमा छलफल गरेको थियो।

छलफलमा सो अस्पतालका अध्यक्ष डा. पिया, प्रबन्ध निर्देशक श्यामकृष्ण जोशी, मेसनकी अध्यक्ष एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुशीला श्रेष्ठ (प्रेसिडेन्ट इलेक्ट) डा. अचला वैद्य, डा. गणेश दंगाल,
डा. जेराज बराललगायतको सहभागिता थियो।

विशेष गरी महिनावारी रोकिएका ४० देखिमाथिका उमेरका महिला हुन् या विभिन्न कारणले पाठेघर झिकेर फ्याँकेका जुनसुकै उमेरका विवाहित महिला हुन् उनीहरूको स्वास्थ्यसम्बन्धी अनगिन्ती गुनासोलाई मध्यनजर गर्दै स्त्रीरोग विशेषज्ञहरूको सहकार्यमा अस्पतालमा निःशुल्क सेवा शुरू गर्न लागेको अस्पतालका कार्यकारी
अध्यक्ष डा. पियाले बताए।

डा. पियाका अनुसार भदौदेखि हरेक हप्ता बिहान १० देखि १२ बजेसम्म सो अस्पतालमा त्यस्ता महिलालाई निःशुल्क सेवा दिने र त्यससँग सम्बन्धित अन्य प्रयोगशाला सेवामा पनि छुट दिने तयारी भइरहेको छ। ती बिरामीलाई आवश्यक पर्ने औषधि छुटमा बिक्रीवितरण गर्ने विषयमा पनि छलफल भएको डा. पियाले बताए।

प्रतिक्रिया दिनुहोस्