बच्चालाई स्तनपान गराएको किर्गिज राष्ट्रपतिकी छोरीको तस्वीरमा कामुकताको बहस



 

बिस्केक, (एजेन्सी)
किर्जिस्तानका राष्ट्रपतिकी कान्छी छोरी आलिया सागइवाले आफ्नो बच्चालाई स्तनपान गराएको तस्वीरले व्यापक चर्चा पाएको छ। उक्त तस्वीरमा अन्डरवेयरमात्र लगाएकी आलिया आफ्ना छोरालाई दूध चुसाइरहेकी थिइन्।

यसै वर्ष अप्रिलमा आलियाले उक्त तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। तस्वीरमा उनले लेखेकी थिइन्– ‘मरो छोरालाई भोक लाग्यो भने म उनलाई कुनै पनि स्थानमा र कुनै पनि बेला स्तनपान गराउँछु।’

उक्त तस्वीरलाई लिएर उनीमाथि अनैतिक व्यवहारको आरोप लागेको छ। त्यसपछि उनले उक्त पोस्ट हटाएकी छिन्। उनले बीबीसीलाई दिएको एक अन्तरवार्तामा यो विवादलाई महिलाको शरीरलाई कामुकतासँग जोडेर हेर्ने संकृतिको हिस्सा भएको बताइन्।

आलियाले भनिन्– ‘मलाई ईश्वरले जुन शरीर दिएको हो त्यो अश्लील होइन। यो सुन्दर शरीर हो जसले मेरो छोरोको सबै आ
वश्यकता पूरा गर्नमा सक्षम छ। यसलाई कामुकताको नजरबाट हर्नुहुँदैन।’

उनको उक्त तस्वीरलाई लिएर सामाजिक सञ्जालमा केही व्यक्तिमात्र रुष्ट भएका होइनन्। उनका मातापिता राष्ट्रपति अल्माजबेक आत्मवयभ र उनकी पत्नी राइसाले पनि त्यसमा असन्तुष्टि व्यक्त गरेका थिए।

किर्गिस्तानको राजधानी बिस्केक बाहिरको इलाकामा बस्दै आइरहेकी आलियाले भनिन्– ‘उनलाई मन परेन। म यो कुरा बुझ्छु किनभने उनको पिँढीको तुलनामा नयाँ पुस्ता कम रुढिवादी छन्।’

आलिया सामाजिक सञ्जालमा अत्यन्त सक्रिय रहेकी छिन् र आफ्नो काम र परिवारको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन्।

उनले भनेकी छिन्– ‘जब म आफ्नो बच्चालाई स्तनपान गराइरहेकी हुन्छु, मलाई लाग्छ यो सबैभन्दा राम्रको कुरा हो, जुन म उसलाई दिन सक्छु। मेरो लागि आफ्नो बच्चाको आवश्यकता पूरा गर्नु सबैभन्दा जरुरी हो, मान्छेहरूको कुरामा ध्यान दिनु होइन।’

आलिया बिस्केकस्थित एक घरमा आफ्ना पति र बच्चासँग बस्छिन्। आलिया बच्चाहरूमा हुने डाउन सिन्ड्रो र जनावरहरूको अधिकारका बारेमा पनि जागरुकता फैलाउने काम गर्छिन्। उनी राजनीतिमा आउन चाहँदिनन्।
किर्गिस्तानमा दुई पूर्वराष्ट्रपतिको बच्चा राजनीति र व्यवसायका कारण विवादमा आएका थिए। तर, वर्तमान राष्ट्रपतिले यसअघि उनका सन्तान कहिले पनि राजनीतिमा नआउने बताएका थिए।

किर्गिस्तानमा प्राय मुलमान बाहुल्य रहेको छ। यहाँको समाज रुढिवादी भए पनि सामाजिकरूपमा यहाँ सार्वजनिक स्थानमा स्तनपान गराउनुलाई नराम्रो मानिँदैन। पार्क तथा अन्य सार्वजनिक स्थानहरूमा महिलाहरूलाई आफ्नो बच्चालाई स्तनपान गराइरहेको देखिनु सामान्य मानिन्छ। तर, सामान्यरूपमा दूध पिलाउने क्रममा आफ्नो शरीरलाई कपडाले छोप्ने गर्छन्।

आलियाले पोस्ट गरेको तस्वीरलाई लिएर मानिसहरूले उनको निजी तस्वीर भएको र पोस्ट गर्न नहुने प्रतिक्रिया दिएका थिए।

आलियाको तस्वीरलाई लिएर किर्गिजस्तानमा मात्र नभई बाहिर पनि चर्चाको विषय बनेको छ। युरोपका थुप्रै देशका अखबार तथा वेबसाइटले उनको तस्वीर छापेको छ। धेरैले महिलाको शरीरलाई लिएर प्रचलित सामाजिक मानसिकताको विरोध गर्नका लागि उनको तारिफ गरेका छन्।
बेलायतसहित थुप्रै देशमा सार्वजनिक स्थानमा स्तनपान गराउनुलाई लिएर बहस चलिरहेको छ। बेलायतमा ३ वर्षअगाडि लन्डनको चर्चित क्लारिज्स होटलको रेस्टुरेन्टमा बच्चालाई दूध पिलाइरहेकी एक महिलालाई आफ्नो छाती छोप्नका लागि भनिएको थियो। उक्त घटनालाई लिएर देशव्यापी व्यापम विरोध भएको थियो।

यसै वर्ष मेमा अस्ट्रेलियाको क्विन्सल्यान्डकी सिनेटर लारिसा वाटर्सले संसद्मा आफ्नी छोरीलाई स्तनपान गराएकी थिइन्।

आलियाको अन्तरवार्ता प्रकाशित भएपछि मुस्लिम बहुल देशमा स्तनपानलाई लिएर प्रचलित मान्यताहरूमा बहस छेडिएको छ। इरानका महिलाले सार्वजनिकरूपमा स्तनपान गराएकोमा उनीहरूले झेल्नुपरेका तनावका बारेमा लेखेका छन्।

तेहरानबाट एक आमाले लेखिन्– ‘मानिसहरूले मलाई घुरेर हेरिरहेका थिए। मैले कि त आफूलाई पूरै छोप्नुपथ्र्यो वा आफ्नो बच्चालाई भोकै रहन दिनुपथ्र्यो।’
अफगानिस्तानको राजधानी काबुलमा बस्दै आइरहेकी जरिफा गफारीले आफू एक ठूलो परिवारको भएको र त्यहाँ महिलाले बच्चालाई दूध पिलाउन अलग्गै कोठामा जानुपर्ने बताएकी छिन्।

उनी भन्छिन्– ‘अरूको अगाडि स्तनपान गराउन सकिँदैन। यदि त्यसो गरेमा परिवारका बुजुर्गहरूबाट गाली खानुपर्ने हुन्छ। यो एउटा ठूलो मुद्दा हो। तर, विस्तारै–विस्तारै स्थिति परिवर्तन भइरहेको छ।’

टोरोन्टो विश्वविद्यालयका विमेन एन्ड जेन्डर स्टडिज विज्ञ भिक्टोरिया टाहमासेबीले ट्विटमा भनेकी छिन्– ‘एक पुँजीपति दृष्टिकोणले हेर्ने हो भने जबसम्म स्तनलाई कामुक बनाएर राख्छ, त्यो फाइदाजनक अंग बनिरहेको हुन्छ। सार्वजनिक स्थलमा महिलाले स्तनपान गराउनुले उसलाई कम कामुक बनाउँछ। त्यसैले यसलाई स्वीकार गरिँदैन।’

आलियाका मामिलामा उनले सामाजिक सञ्जालबाट आफ्नो तस्वीर हटाउनुपर्यो किनभने उनका मातापितालाई ‘उनको परिवारलाई त्यसले नोक्सान पुग्न सक्छ’ भन्ने चिन्ता थियो।

तर, यस विषयमा आलियाले आफ्नो प्रष्ट धारण दिन छोडेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्