बाघ संरक्षणमा गतिलो समन्वय आवश्यक



एक शताब्दि अघिसम्म मुलुकको पूर्वदेखि सुदूरपश्चिमका तराई चारकोसे झाडी र वन–जंगलमा सहजरूपमा बाघ विचरण गर्ने गर्दथे । तराई मात्र होइन, चुरे र मध्य पहाडी भेगमा समेत बाघ भेटिएको अग्रज सुनाउँछन्, तर अहिले त्यस्ता कुरा किंवदन्ती भइसके । चारकोसे झाडी र वन–जंगल जसरी पातलिँदै गएको छ, बाघको चहल–पहल र संख्यासमेत सीमित क्षेत्रका प्राकृतिक बासस्थानमा खुम्चिँदै गएको छ । तराईका चितवन, पर्सा, बाँके, शुक्लाफाँटा र बर्दियामा मात्रै बाघको प्राकृतिक बासस्थान बनेको छ । त्यो पनि सीमित राष्ट्रिय निकुञ्ज र आरक्षमा ।

पछिल्लो सरकारी तथ्यांकअनुसार नेपालमा १ सय ९८ वयश्क बाघ भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ छन् । बासस्थानको विनाश, घट्दो आहारा प्रजाति, मौलाउँदो अवैध व्यापार र चोरी शिकार, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व जस्ता कारणले विश्वमै लोपोन्मुख सूचीमा सूचीकृत यो जन्तुको संख्या घट्दो अवस्थामा पुगेको छ । यस्तै कारणले गर्दा एक शताब्दि अघिसम्म विश्वमा करिब एक लाखको हाराहारीमा रहेको अनुमान गरिएको बाघको संख्या अहिले ३ हजार ५ सयको हाराहारीमा सीमित भएको बताइन्छ ।

बाघका विभिन्न ४ प्रजाति संसारबाटै लोप भइसकेको पुष्टि भइसकेको छ । अहिले पाटे बाघ, चिनियाँ बाघ, सुमात्रेली बाघ, साइबेरियाली बाघ, बंगाली बाघ र मलायन बाघसहित प्रजातिका बाघमात्रै प्राकृतिक बासस्थानमा फेला परेका छन् । नेपालमा पाइने बाघलाई पाटे बाघका रूपमा बुझ्ने गरिन्छ । नेपालसहित भारत, चीन, भुटान, बंगलादेश, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्यान्ड र भियतनाममा मात्रै बाघ पाइन्छ । नेपालसहित बाघ पाइने मुलुकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका छन् । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने मुलुक आबद्ध अन्तर्राष्ट्रिय सम्मेलनले त्यस्तो प्रतिबद्धता जनाएको थियो । नेपाल सो लक्ष्य प्राप्तिमा अघि बढिरहेकाले मुलुकका बाघ पाइने निकुञ्ज र आरक्षमा बाघको संख्या बढिरहेको सरोकारवालाहरूको दाबी छ । सेन्ट पिटर्सवर्ग सम्मेलनपछि नेपालले प्रधानमन्त्रीको अध्यक्षतमा राष्ट्रिय बाघ संरक्षण समितिसमेत गठन गरेर संरक्षण गतिविधि अघि बढाएको छ ।

भनिन्छ, जुन ठाउँको प्राकृतिक बासस्थानमा बाघ पाइन्छ, त्यहाँको पर्यावरण सन्तुलित र सम्पन्न हुन्छ । त्यति मात्र होइन, सो क्षेत्रमा प्रत्यक्ष⁄अप्रत्यक्ष पर्यटकीय गतिविधि मौलाउँछ, मुलुकलाई राष्ट्रिय⁄अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुग्छ । चितवन, बर्दियालगायतका राष्ट्रिय निकुञ्ज पुग्ने पर्यटकको संख्याले त्यस्तो कुरा पुष्टि गरिरहेको छ । तर, बाघको बासस्थान संरक्षित क्षेत्रमा मात्रै सीमित गरिनुहुँदैन । करिब ७३ प्रतिशत जंगलले ढाकेको चुरे क्षेत्रसम्म संरक्षण कार्यक्रम केन्द्रित गरिएमा बाघको विचरण क्षेत्र फराकिलो बन्नुका साथै पर्यटकीय क्षेत्र पनि विस्तार हुने संरक्षणकर्मी बताउँछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रसँगै अन्तरदेशीय बाघ करिडोर, प्राकृतिक बासस्थान व्यवस्थापन अर्को महत्त्वपूर्ण पक्ष हो । नेपाल–भारतबीच विभिन्न ८ स्थानमा जैविक करिडोर पहिचान भइसकेकाले एक–अर्को मुलुकबीच गतिलो समन्वय जरुरी देखिन्छ । त्यति मात्रै होइन, निकुञ्ज, आरक्ष आसपासमा निर्माण गरिने सडकलगायत अन्य पूर्वाधार वन्यजन्तु मैत्री बनाइनुपर्छ । साथै स्थानीय समुदाय, सरकारी तथा राष्ट्रिय⁄अन्तर्राष्ट्रिय संरक्षण साझेदार, सुरक्षा निकायबीच पनि समन्वय जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्