मेटिएको छैन नायिका क्षितिजाको फिल्म रहर



 

रश्मी थापा
नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य फेरि फिल्ममा काम गर्दै छिन्। ७ कक्षामा पढ्दै गर्दा १४ वर्षको उमेरमा पर्खाल नामक टेलिसिरियलमा बाल कलाकारका रूपमा खेलेर चर्चा पाएकी क्षितिजाले त्यसपछि विभिन्न अफर आए पनि पढाइलाई पनि सँगै लानुपर्ने भएकाले लामो सयमसम्म कुनै अफर स्वीकार गरिनन्।

‘मेरो ममीको रहरले गर्दा म फिल्म क्षेत्रमा आएकी हँु। १४ वर्षको उमेरमा पर्खालमा खेले पछि मलाई धेरैले चिन्थे। तर पढाइलाई डिस्ट्रब हुन्छ भनेर एसएलसीपछि मात्र पहिलो फिल्म घामछायामा नायिकाको रूपमा डेब्यु गरेँ’, क्षिजिताले सुनाइन्– ‘त्यो बेला मैले डान्स मात्र सिकेको थिएँ। फिल्मका लागि भनेर केही दिनसम्म निर्देशक प्रताप सुब्बा सरसँग ग्रुमिङ क्लास लिएर सुटिङ स्टार्ट गरेको थिएँ। घामछाया खेलेपछि मेरो एक्टिङको तारिफ सबैबाट भयो।’

कक्षा ४ देखि लगातार कक्षा ११ सम्म नृत्य निर्देशक वसन्त श्रेष्ठसँग नृत्य सिकेकी उनी सानैदेखि स्कुलमा आयोजना हुने कार्यक्रमहरूमा भाग लिने गर्थिन्। विषेश गरी डान्स र भलिबल खेल्नमा रुचि राख्थिन्। ‘डान्समा इन्ट्रेस्ट थियो। त्यसैले स्कुलको कम्पिटिसनहरूमा भाग लिन्थेँ। धेरैचोटि फस्ट भएर प्राइजहरू पाएकी थिएँ’, क्षितिज गफिँदै थिइन्– ‘त्यही देखेर ममीले मलाई वसन्त श्रेष्ठ अङ्कलको डान्स क्लासमा हालिदिनुभएको थियो। मलाई फिल्म क्षेत्रमा ल्याउन शुरुआत गर्ने र मलाई सपोर्ट गर्ने नै ममी हो। ममीकै सपोर्टले गर्दा नै म आज यहाँ छु।’

२०५५ सालमा विवाह बन्धनमा बाँधिएकी उनीले विवाह गरेकै वर्ष फिल्म घामछायामा खेलेकी थिइन्। त्यसै वर्ष उनले बेस्ट एक्ट्रेसको अवार्ड पाएकी थिइन्। त्यसो त उनी २०५३ सालमा दशैं उत्सव कार्यक्रममा बेस्ट मोडल भएकी थिइन्। घामछायापछि लगातार कैदी, नातेदार, फोर्स, क्लाइम्ब हाइ, सन्त्रास, मिस नेपालजस्ता आधा दर्जन नेपाली फिल्म तथा मधुरम नामक तामिल फिल्ममा अभिनय गरेकी छिन्। उनले ३ दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विभिन्न २ दर्जन विज्ञापनहरूमा काम गरेकी छिन्। यसको साथै विभिन्न समयमा आयोजित ६० भन्दा बढी र्याम्प शोहरूमा मोडलिङ गरेकी उनी आफैंले पनि तीन दर्जनभन्दा बढी र्याम्प शोहरूमा कोरियोग्राफी गरेकी छिन्। चिल्ड्रेन अफ द इयर २०१५ ले उनलाई बेस्ट फेसन डिजाइनर घोषणा गरेको थियो।

नायिका, कोरियोग्राफर, मोडलको अलावा उनले फेसनको दुनियामा छट्टै पहिचान बनाएकी छिन्। सन् २००६ देखि क्षितिजा फेसन हाउस सञ्चालनमा ल्याएकी उनी नेपालको चर्चित फेसन डिजाइनर हुन्। ‘फिल्महरूमा काम गर्दै गर्दा फेसन डिजाइनिङतिर पनि इन्ट्रेस्ट भयो। त्यसैले कोर्स गरेर बुटिक सञ्चालनमा ल्याएँ’, २ सन्तानकी आमा भएर पनि उत्तिकै सुन्दर उनले भनिन्– ‘छोरी जन्मेपछि म छोराछोरीहरूलाई पनि टाइम दिनुपर्ने भएकाले केही समय फिल्मदेखि टाढा रहेँ।

अब छिट्टै दुई फिल्ममा काम गर्दै छु। त्यही फिल्मको तयारीका लागि फेरि जिम, फाइट तथा डान्स क्लासहरू लिइरहेको छु, उनी भन्छिन्– ‘जुनसुकै फिल्डमा व्यस्त भए पनि जीवनभर अभिनयबाट टाढा रहन सक्दिनँ। नायिकाका रूपमा जस्तोसुकै भूमिकालाई न्याय दिन सक्छु भन्ने लाग्छ। अहिले पनि यी दुई फिल्ममा नायिकाका रूपमा आउँदै छु। फिल्म खेल्ने रहर मेटिएको छैन र कहिल्यै पनि मेटिने छैन।’ फिल्ममा काम गर्ने तयारीबाहेक हाल क्षितिजा फेसन हाउसमार्फत आफ्नो बिजनेसलाई अगाडि बढाइरहेकी उनी हाल अनलाइन बिजनेसलाई ध्यान दिइरहेको बताउँछिन्

प्रतिक्रिया दिनुहोस्