पीएसजीको नेयमारप्रतिको महँगो मोह



 

 

फिरोज राजोपाध्याय

पेरिस सेन्ट जर्मेन बार्सिलोनाका फरवार्ड नेयमारलाई १९ करोड ९० लाख पाउन्ड तिर्न अहिले तयार छ। रिपोर्टअनुसार नेयमारले पनि सो रकमका लागि बार्सिलोना छाड्ने तय गरिसकेका छन्। तर आधिकारिकरुपमा भने अनुबन्धित प्रक्रिया अगाडि बढेको छैन। यतिका रकम एक खेलाडीलाई तिर्न धेरै रकम हो त? यही प्रश्न अहिले सबैतिर तेर्सिएको छ।

यो रकम नेयमारजस्ता सुपरस्टार खेलाडीका लागि ठूलो भने होइन। किनभने हालै रियल मेड्रिडले काइलीयान बाप्पेलाई १६ करोड पाउन्ड तिर्ने भएको छ। यसअनुसार नेयमारका लागि ३ करोड ९० लाख पाउन्ड मात्रै बढी रकम देखिएको छ।

म्यानचेस्टर युनाइटेडले पउल पोग्बालाई गत सिजनमा ८ करोड ९० लाख पाउन्डमा अनुबन्धित गरेको थियो। यो हालको ट्रान्सफर खेलाडीमा सबैभन्दा महँगो सम्झौता बनिरहँदा बाप्पेले यो रेकर्ड तोड्ने लगभग तय छ। पोग्बाको रकमभन्दा डबल हो नेयमारलाई दिने रकम।

विश्वका धनी व्यक्तिको सूची प्रकाशित गर्ने म्यागेजिन फोब्र्सका अनुसार म्यानचेस्टर युनाइटेड र रियल मेड्रिडले ३ अर्ब पाउन्ड खर्चिने इस्टिमेट गरेको छ। यसअनुसार नेयमारलाई २२ करोड २० लाख युरो तिर्न कुनै ठूलो विषय नभएको पनि विश्वका विभिन्न खेल अखबारले जनाएका छन्। उनीहरुका लागि यो कुनै आश्चर्यको विषय होइन।

तर विश्वका विभिन्न खेल अखबारले एउटै प्रश्न तेस्र्याएका छन् कि पेरिस सेन्ट जर्मेनले यतिका रकम कसरी तिर्न सक्छ? किनभने यो फ्रेन्च क्लब विश्वका धनी क्लबको सूचीमा शीर्ष १० भित्र पनि पर्दैन। यसैले यो क्लबले एक खेलाडीलाई यतिका ठूलो रकम कसरी तिर्न सक्छ?

सायद किस्ताबन्दीमा भएको भए यो सम्भव हुने पनि दाबी गर्नेहरु छन्। शेफिल्ड हालाम विश्वविद्यालयका फुटबल अर्थ विज्ञ डाक्टर रोब विल्सनले बताए– ‘क्लबले खेलाडी किन्दा ठूलो रकम वा सानो रकम होस् त्यो त तिर्नै पर्छ। यदि मानौं पीएसजीले नेयमारलाई १० वर्षका लागि २० लाख पाउन्ड तिरेमा वर्षको २ करोड पाउन्ड बार्सिलोनालाई तिर्नेछ। बेच्ने क्लबले समयको अवधि पनि स्वीकार गर्नुपर्ने हुन्छ।

पीएसजीले नेयमारलाई किन्न लागेको पनि दुई कारण छन्। उनी उच्च प्रतिभावान्का साथै उच्च मार्केटेबलसमेत हुन्। फोब्र्सका अनुसार ब्राजिली खेलाडी विश्वमा १८औं सर्वाधिक धनी खेलाडी हुन्। उनले १ करोड १५ लाख ४० हजार पाउन्ड तलबबाटै कमाउँछन्। नेयमारले नाइक, जिलेट, पानासोनिक र बीट्स बाई डे«सँग १ करोड ७० लाख पाउन्ड कमाउने गर्छन्। यो उनका लागि ठूलो विषय हो।

नेयमार पीएसजीमा आउने हल्लाले क्लबका फेन्सहरुले नेयमारको नयाँ टी–शर्ट किन्न थालेको पनि फ्रेन्च अखबारले बताएको छ। तर लुगा बेचेर कति कमाउनेछ क्लबले? उनको लुगा नाइकद्वारा प्रायोजन गरिएको छ। रिपोर्टका अनुसार क्लबलाई खेलसामग्री उत्पादक कम्पनीद्वारा २ करोड १५ लाख पाउन्ड प्रति सिजनका लागि तिरेको छ।

पीएसजीका मालिक तथा अध्यक्ष कतारी व्यवसायी नासेर अल खेलाइफी हुन्। उनी जति पनि खर्च गर्न सक्ने क्षमता राख्छन्। तर उनलाई फाइनान्सियल फेयर प्ले अधिकारको दुरुपयोग गरेको पनि आरोप लागेको छ। युरोपियन क्लबको संस्था यूएफाले सन् २०१४ मा कुनै पनि क्लबले आवश्यकताभन्दा बढी रकम खर्च गर्न नपाउने नियम निकालेको थियो।

क्लबले फुटबलसँग सम्बन्धित खर्च, ट्रान्सफर र साताको तलबसँगै टिभी र टिकटको आर्जन त्यसमाथि व्यावसायिक विभागबाट आएको नाफामा सन्तुलित गर्नुपर्छ।

म्यानचेस्टर सिटी, मोनाको, इन्टरमिलान र रोमा युरोपका शीर्ष क्लब थिए। उनीहरुले फाइनान्सियल फेयर प्लेको नियम तोडेपछि सजाय पाएका थिए। उनीहरुलाई जरिवाना र ट्रान्सफर गर्न पनि प्रतिबन्धित लगाइएको थियो। सन् २०१४ मै पनि पीएसजीले १६ करोड ७० लाख पाउन्डको सम्झौता कतार टुरिज्म अथोरिटीसँग व्यवसाय गर्दा यूएफाको अनुसन्धानमा परेको थियो। यो फेयर नभएको यूएफाले जनाएको थियो। पीएसजीले सजायबापत २ करोड पाउन्ड जरिवाना तिराउनुका साथै सिजनमा ४ करोड ९० लाख पाउन्ड लगानी गर्नुपरेको थियो। २०१४–१५ च्याम्पियन्स लिगमा २५ को साटो २१ खेलाडीले खेल्नुपरेको थियो।

यस्तै बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पीएसजीले नेयमारलाई १९ करोड ९० लाख पाउन्ड तिर्दा एफएफपी नियम तोडिएको मान्नुपर्ने बताएका छन्। बार्टोमेउका अनुसार पीएसजी यो सम्झौता गर्न लायक नभएको र यदि गरिएमा ब्राजिलियन खेलाडीलाई छाड्न बाध्य हुनेछ।

 

फुटबलर स्थान्तरणमा हुने प्रतिस्पर्धा
हरेक सिजनको समाप्तिसँगै युरोपियन फुटबल क्लबहरुले खेलाडी तथा प्रशिक्षकहरुको स्थान्तरण प्रक्रियालाई महत्त्व दिने गर्दछ। जसलाई अहिले पनि युरोपियन क्लबहरुले जोडतोडका साथ निरन्तरता दिइरहेका छन्। हालसालै नेयमारजस्ता खेलाडीमाथि तोकिएको स्थान्तरण रकमलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। विश्वमा पहिलो पटक फुटबल खेलाडी स्थान्तरण भएको कुनै ठोस तथ्य छैन। एक तथ्यांकअनुसार सन् १८९३ मा एस्टन भिल्लाले वेस्टब्रोम अल्भियोनका स्कटिस खेलाडी विल्ली ग्रुभ्सलाई १ सय स्टर्लिङ पाउन्डमा गरेको अनुबन्धनलाई पहिलो स्थान्तरण मानिएको छ।

अहिले ‘ट्रान्सफर विन्डोज’ नामबाट चर्चित यस प्रक्रिया सिजनमा दुईपटक हुने गरेको छ। मुख्यतः युरोपका विभिन्न देशको फुटबल क्लबले भिन्दाभिन्दै महिनालाई विन्डोज ट्रान्सफरको अवधि तोकेका छन्। जुन प्रि–सिजन र मिड–सिजन गरी दुई भागमा वर्गीकरण गरिएका छन्। तर इंग्ल्यान्ड, जर्मनी, इटाली, स्पेन, फ्रान्स, नेदरल्याण्ड्सजस्ता युरोपेली फुटबलका पावर हाउसहरुले भने जुनदेखि सेप्टेम्बरसम्म प्रि–सिजन र जनवरीदेखि फेब्रुअरीबीचको समयलाई मिड–सिजन विन्डोज ट्रान्सफर अवधिका रुपमा अवलम्बन गर्दै आएका छन्।

नयाँ सिजन शुरू नभएसम्म यो क्रम विशेषतः खेलाडी किनबेचका लागि क्लबहरुबीच एक प्रकारको तँछाडमछाडको स्थिति नै सिर्जना हुने गर्दछ। जसका लागि क्लबहरुले चर्को मूल्य खर्चने पनि गरेका छन्। पछिल्लो समय भएका ७ स्थान्तरणलाई हेर्दा रियल मेड्रिड चर्को रकम खर्च गर्ने क्लब सूचीको अग्रपंक्तिमा आउँछ। यस्तै बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट जर्मेनजस्ता क्लबहरू पनि खेलाडी अनुबन्धनको सन्दर्भमा १९⁄२० को प्रतिस्पर्धामा उत्रने क्लबहरु हुन्। महँगो स्थान्तरण हुने गरे पनि कतिपय क्लबहरुले अनुमान गरेजति उपलब्धि हासिल गर्न सकेका छैनन्। विन्डोज ट्रान्सफरअन्तर्गत केही स्थान्तरण रकम चर्चितसमेत बनेका छन्। पीएसजीको नेयमारप्रतिको मोहलाई हेर्दा यो सिजन विन्डोज ट्रान्सफरमार्फत अहिलेसम्मकै चर्को रकमको अनुबन्धन हुने सम्भावना बढेको छ। तर अहिलेसम्मकै सर्वाधिक चर्को अनुबन्धनको कुरा गर्नुपर्दा पाउल पोग्बा अग्रपंक्तिमा रहेका छन्।

सन् २०१६ मा इटालियन सिरी ए क्लब युभेन्ट्सबाट इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा स्थान्तरण हुँदा उनको मूल्य ८९ मिलियन पाउन्ड रहेको थियो। यो स्थान्तरण रकम हालसम्मकै उच्च हो। पोग्बाको स्थान्तरणले गेरेथ बेल र क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेको थियो। उक्त सम्झौता रकमबाहेक म्यानचेस्टर यनाइटेडले पोग्बालाई बोनस पनि उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्