चाडपर्व विवादित नबनोस्



 

आ–आफ्ना घरका मूलढोकामाथि नागको चित्र टाँसेर पूजा–अर्चना गरी आज धूमधामका साथ नागपञ्चमी पर्व मनाइँदै छ । साथै श्रावण शुक्ल पूर्णिमामा ग्रहण लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयानुसार सो दिन गरिने उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन एवं नवयज्ञोपवीत धारणका कार्यहरु पनि आज गरिँदै छ । तर ज्योतिषीहरुको फरक–फरक धारणा आएपछि विशेष गरी तराईमा राखी पर्वका रुपमा धूमधामका साथ मनाइने यो रक्षबन्धन पर्वका विषयमा अन्योलता आएको समाचार प्रकाशित भएको छ । यसरी धर्म–संस्कृति एवं चाडपर्व विवादित हुनु पक्कै पनि राम्रो होइन ।

पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमबार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै रक्षाबन्धन अर्थात् जनैपूर्णिमा मनाउन सुझाव दिएको छ । सो समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिकाजस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको बताएको छ । पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्तिमा भनिएको छ– ‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्पराअनुसार समुचित छ ।’ समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले कुनै भ्रममा नपरी १३ गते नै रक्षाबन्धन गर्न आग्रह गर्नुभएको छ ।

उता अन्तर्राष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका अन्तर्राष्ट्रिय महासचिव एवं कालगणना विशेषज्ञ डा. आचार्य ऋषभ रेशुले हिन्दुहरुको महान् पर्व रक्षाबन्धन १३ गते नभई २३ गते नै मनाउनुपर्ने बताउनुभएको छ । ग्रहणकालमा भोजनादि कार्य मात्र निषेध गरिएको र २३ गते बिहान १०ः४५ मा भद्राकाल पनि समाप्त हुने हुँदा सोही दिन रक्षाबन्धन गरे हुने तर्क उहाँले राख्नुभएको छ । सबै पक्षका तर्कहरु आ–आफ्ना ठाउँमा बलिया होलान् तर धर्म–संस्कृतिलाई विवादित बनाउनु कसैका लागि पनि युक्तिसंगत होइन । यस्ता विषयमा पञ्चाङ्ग प्रकाशन गनुपूर्व नै शास्त्रार्थ गरेर बलिया तर्कहरुलाई आत्मसात् गरी निचोडमा पुग्नुपर्छ । अब आगामी वर्षहरुमा धर्म–संस्कृति र चाडबाडका विषयहरुमा विवाद नआओस् भन्ने सबैको चाहना छ । यसमा पञ्चाङ्ग निर्माणकर्तासहित धर्मशास्त्रका विद्वत्वर्गहरुको बेलैमा ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्