कांग्रेस–एमालेबीच देखिएको अन्तरविरोध



 

रामप्रसाद गौतम

यथार्थ जे–जस्तो भए पनि इतिहासले त्यसलाई तोडमोड गर्न सक्छ। तानाशाही शासन पद्धतिमा इतिहास विजेताको लेखिन्थ्यो, हरूवाको होइन। परन्तु प्रजातन्त्र र गणतन्त्रमा इतिहास विजेताले पनि लेख्छ र हार्नेले पनि लेख्न पाउँछ। तसर्थ प्रजातन्त्र प्रनातन्न्त्र नै हुन्छ। प्रजातन्त्रमै पनि दुवै पक्षका इतिहासकारहरूले सत्यको आवरणमा आफ्नो पक्षलाई नै अलिकति जलप लगाएर विचारहरू राख्छन्। अतटस्थ विचारबाट लेखिएका इतिहासले सही र गलत छुट्याउन प्रजतन्त्रमा पनि फरक तरिकाले विश्लेषण गर्नुपर्दछ। पदार्थ र परिणामबीचको यथार्थ अन्तर थाहा पाउन दुवै पक्षको अन्तर्विरोधलाई विश्लेषण गर्नुपर्दछ।

कुरा नलुकाउने हो भने, महाभारतमा दुर्योधनले जितेको भए युधिष्ठिरको सत्यनिष्ठतालाई इतिहासले कमजोरी भनी व्याख्या गर्ने थियो। द्रौपदीको चीरहरणलाई नितान्त जुवामा हार्नेले आफ्नो बचन पूरा गर्नुपर्ने कर्तव्यबोधको रुपमा व्याख्या गरिने थियो। अर्थात् इतिहास विजेताले पालेको सेतो हात्ती हो यदि त्यसको प्रामाणिक पुष्टि हुँदैन भने। आज एमालेले धेरै सिट जितेको छ, कांग्रस दोस्रो भएको छ। एमालेका साथी र समर्थकहरूले एकोहोरोरुपमा एमालेको राम्रो कामले गर्दा यो विजय सम्भव भएको बताउनुहुन्छ। कांग्रसका धेरैले महाअभियोग, आईजीपी प्रकरणले गर्दा पार्टी हार्यो भन्ने विश्लेषण गर्दछन्। दुवै यथार्थ होइन, दुवै असत्य पनि होइन। यथार्थ यही हो भने एमालेले गरेको राम्रो काम के हो ? होइन भने आईजीपी केसले किन मतदाता घट्नुपर्यो ? अन्तरविरोध छ।

आज देशमा दूई चरणको निर्वाचन सकिएको छ, स्पष्टतः देशको जनमानस विशेष गरी दुई धारमा बाँडिएको छ। एकातर्फ नेपाली कांग्रसको प्रजातान्त्रिक समाजवाद र अर्कोतर्फ नेकपा एमालेको बहुदलीय जनवादबीच प्रतिस्पर्धा भैरहेको छ।

शाब्दिकरुपमा कुरा नलुकाउने हो भने, आवरणीय रुपमा साम्यवादी र प्रजातन्त्रवादीबीच युद्ध भएको देखिन्छ। परन्तु यहाँ लडाइँ कुनै प्रकारको यथार्थ कारण र घटनाबीच भैरहेको छैन, केवल काल्पनिक त्रास र आशबीच युद्ध भैरहेको छ। लेख्दासम्म भएको मतगणनामा ७ नम्बर प्रदेशलाई छोडेर अन्य सबै ५ प्रदेशमा एमालेको मत कांग्रेसको भन्दा १ लाखदेखि ३ लाखसम्मको अन्तरमा बढी छ।

जहाँ जे बोल्दा मत आउँछ त्यहाँ त्यही बोल्यो एमालेले। सासूको मत तान्न बुहारीलाई दोष र बुहारीको मत तान्न सासूलाई दोष दिने दोहोरो शैली एमालेको मूल सफलताको आधार हो। कांग्रेसले तरिका त यही अपनायो तर सासू–बुहारी दुवैलाई सँगै राखेर। यो विषयको बारेमा खोजी कांग्रेसजनले गर्न जरुरी छ।

एमालेले कसरी तटस्थतालाई आफ्नो पोल्टामा हाल्न सक्यो ? कसरी कतै पनि नलागेका मतदाताको ठूलो हिस्सालाई एमालेले समेट्न सक्यो ? यो विश्लेषण विषय बन्दै जाला, परन्तु कांग्रसले जस्तालाई तस्तै जवाफ दिन सकेन। जसको करणले आज कांग्रस एमालेभन्दा झन्डै ५० स्थानीय निकायमा पछाडि पर्यो। कांग्रेसमा हारको जिम्मेवारी र जीतको खुशीयालीमा नेतृत्व निरपेक्ष देखिन्छ। जबकि एमालेको जीतमा नेतृत्वको सापेक्ष भूमिका देखिन्छ। एमाले र कांग्रेसबीच जहाँ जसले जिते पनि र हारे पनि दुई पार्टीबीचको मूल अन्तरविरोध यही नै हो। यसको अर्थ हो कांग्रसले स्थानीय नेतृत्वको बलमा मात्र चुनाव जितेको छ भने एमालेलाई केन्द्रीय नेतृत्वका केही कामको बेनिफिट भैरहेको छ। जस्तै– वृद्धभत्ता, राजपाका अनावश्यक माग स्वीकार नगरेको र प्रदेश नम्बर ५ टुक्र्याउन नदिने काममा नेतृत्व गरेको फाइदा स्थानीय तहमा स्पष्ट पर्यो। यसरी अहिले एमाले कृष्णसहितको अर्जुनजस्तै हो भने कांग्रेस एकल नेतृत्व दुनियाँ जित्न सक्ने कर्ण हो। एमालेरुपी अर्जुनलाई विभिन्न पक्षले साथ दिए भने कर्णरुपी कांग्रेसले आफूले गरेका कामको समेत व्याख्या गर्न नसकेर स्थानीय कार्यकर्तारुपी कर्णहरूलाई चुनावी रणभूमिमा पठायो र पनि दमदार दोस्रो भयो।

कार्यकर्ता दुवै पार्टीका जुझारु थिए, दुवै पार्टीलाई कार्यकर्ताले नै जिताएका हुन्। फरक कहाँनिर पर्यो भने, एमाले नेतृत्वले बकम्फुसे कुरा गर्दा पनि कार्यकर्ताले त्यसलाई राम्रै सुने। जबकि ती कुराको वास्तविकतासँग कुनै नजदिकी थिएन र कुनै आधार पनि थिएन। तर कांग्रेस नेतृत्वले कुनै कुराप्रति वस्तुनिष्ठ प्रतिउत्तर दिन सकेन। राजनीति विज्ञानकै नियमअनुसार गरिनुपर्दछ, राजनीतिले हरेक कार्यक्रमगत र विचारगत आक्रमणलाई त्यस्तै तर ज्यादै व्यावहारिक अर्को कार्यक्रम तथा विचारले प्रत्याक्रमण गरिनुपर्दछ। कांग्रसले त्यो गर्न सकेन। जस्तै– अनावश्यकरुपमा राजपा नेतालाई भाउ दिइयो तर ती नेताको मधेसमा जमिनी पकड कति छ भन्ने कांग्रेसले आंकलन गर्न सकेन। वृद्धभत्तालाई नछोईकन अर्को कुनै कार्यक्रम शुरुवात गर्नुपर्ने थियो। त्यो बारेमा सोच्न सकेन। राजनीतिमा हरेक क्रियामाथि राजनीतिकरुपमै प्रतिक्रिया दिन सक्नुपर्दछ। भारतको दार्जीलिङमा स्वतन्त्र राज्यको माग उठिरहेको बेला ममता बेनर्जी तृणमूल कांग्रेस र केन्द्रीय सरकार बीजेपी स्पष्टरुपमा अन्तरविरोधी धारणबाट आफ्नो राजनीति गरिरहेका छन्। ममताले राज्य अलग हुन दिन्न भन्ने अडान लिइरहेको बेला बीजेपी अल्पधार्मिकहरूमाथि दमन सह्य हुँदैन भनी अर्को कार्ड फालिरहेको अवस्था छ। भोटको लागि हरेक चीजलाई स्पष्ट दुई धारबाट व्याख्या गर्नुपर्दछ, अर्काको मुद्दा बोकेर आफू सफल हुने प्रयास ‘गोडामुते न्यानो’ मात्र हो। तसर्थ हरेक मुद्दामा स्पष्ट आफ्नो धारणा विपक्षीको भन्दा आक्रामक पाराले पेस गर्नै पर्दछ। यो कुरामा एमाले चतुर छ। त्यहाँ नेताभन्दा कार्यकर्ता आर्थिकरुपमा सक्षम र चलाख देखिए बोल्नमा पनि र खर्च गर्नमा पनि।

भोट त्यसै आउँदैन, भोट ल्याउनको लागि जनतामा जान र उनीहरूलाई प्रभाव पार्न सक्नुपर्दछ। दुईवटा केटाले एउटी गर्लफ्रेन्ड फकाउने अवस्था आएमा पहिलो केटाले उनको मन जित्न जे–जे भनेको छ, आश्वासन दिएको छ। दोस्रोले पनि त्यही कुरा भनेर पक्कै हुँदैन। यदि पहिलो वालाले तिमीलाई पोखरा र लुम्बिनी घुमाउनेछु भनेको छ भने अर्कोले हे अहिले घुम्ने उमेर हो र ? पहिले तिमीले बी.सी.ए.मा राम्रो नम्बर ल्याऊ, जागिर खाऊ, अनि हामी पूरै देश घुमौंला भन्नेजस्तो फरक कुरा भन्न सक्नुपर्दछ। पढ्न नचाहने गर्लफ्रेन्ड भए पहिलोलाई स्वीकार्लान्, पढ्न चाहने र अलि प्रतिस्पर्धीले दोस्रोलाई। तर अर्कोले जे भन्छ त्यही कुरा गरेर न त गर्लफ्रेन्ड फकाउन सकिन्छ, न मतदाता ? तसर्थ एमाले र कांग्रसले हावादारी प्रलोभनलाई कटौती गर्दै व्यावहारिक प्रलोभन दिन सक्नुपर्दछ।

यसमा कुन सफल थिए, कुन असफल थिए ? त्यो आफ्नो ठाउँमा होला तर हारेको कांग्रेसले आफ्नो सोच एनालाइसिस गर्न जरुरी छ। जसअन्तर्गत आफ्नो शक्ति, कमजोरी, अवसर र चुनौतीको व्यापक खोजी गरेर भोलिका दिनमा आउने अन्य चुनावलाई केही सशक्त बोल्ने बाटो बनाउन जरुरी छ। एमालेले जनतालाई कसरी विश्वस्त पार्न सक्यो र कांग्रेसले किन सकेन ? अन्तर्विरोध यहाँबाट शुरु हुन्छ। एमालेको प्रचारप्रसार शैली राम्रो थियो। वास्तविक र वस्तुनिष्ठतालाई आधार मानेर भन्दा जहाँ जे बोल्दा मत आउँछ त्यहाँ त्यही बोल्यो एमालेले।

सासूको मत तान्न बुहारीलाई दोष र बुहारीको मत तान्न सासूलाई दोष दिने दोहोरो शैली एमालेको मूल सफलताको आधार हो। कांग्रेसले तरिका त यही अपनायो तर सासू–बुहारी दुवैलाई सँगै राखेर। यो विषयको बारेमा खोजी कांग्रेसजनले गर्न जरुरी छ। गाउँस्तरमा पार्टीको संगठन बनाउँदादेखि लिएर केन्द्रीय समितिसम्म प्रत्येक विन्दुमा पार्टीले जनताबीच जाने आधार तय गर्न सकेन।

चुनावमा पैसा खर्च हुन्छ, दुवै पार्टीले केही रकम खर्च गरे पनि, दुवैले बाँडे पनि होलान्। तर एमालेले कांग्रेसले पैसा बाँडेर चुनाव जित्दै छ भन्ने हल्ला पहिला पिटाउँछ र कांग्रेसले पनि त्यही कुरा एमालेलाई भन्छ। जे होस्, चुनाव यस्तै–यस्तै हुन्छ तर तटस्थ मतदाताको मन लोभ्याउनको लागि राष्ट्रिय माहोल बनाउन नसक्नु नै कांग्रेसको विडम्बना हो। विजेताहरू चाहे जोसुकै पार्टीका हुन्, जनतालाई चाहिएको विकास हो। जनताले भोटको रुपमा आफ्नो अधिकार प्रतिनिधिलाई सुम्पेर द्वापरयुगका गोपिनीझैँ नदीमा नाङ्गै बसेका छन् भने प्रतिनिधिहरूचाहिँ कपडा बोकेर रुखमा चढेका छन्। जुन पार्टीका प्रतिनिधिले यो नाङ्गोपनको छिटो व्यवस्थापन गर्न सक्छ, त्यो नै सफल हुनेछ र अहिलेको अन्तर्विरोध पनि साफ हुनेछ।

प्रतिक्रिया दिनुहोस्