सडकको बेथिति हटाऊ



 

राजधानी काठमाडौंका अधिकांश सडक अस्तव्यस्त छन् । सडक सवारी र पैदल मैत्री छैनन् । धेरैजसो सडकको दायाँ–बायाँ पैदल यात्रीका लागि चाहिले फुटपाथसमेत छैनन् । सडकमा सवारीसाधनको जाम अत्यधिक छ । सडक विस्तारको नाममा भत्काइएका सडकहरू निर्माण कार्यमा देखिएको ढिलाइले सडकमा सहजरुपमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । सवारीसाधानको चाप धेरै अनि सडकको क्षमता नहुँदा काठमाडौंमा दिनहुँ जाम हुने क्रम बढ्दो छ । सवारी जाम हटाउनको लागि सरकारले बेलाबखत नीति र योजना बनाए पनि कार्यान्वय हुन सकेको छैन । ठूलो भन्दा पनि साना सवारीसाधनको संख्या बढी हुँदा जाम बढेको बढ्यै छ । अत्यधिक जाम हुने कारणले गर्दा राजधानीवासीको दैनिकीसमेत कष्टकर बनेको छ ।

सडक निर्माणमा देखिएको ढिलासुस्तीको कारण राजधानीवासीले धेरै सास्ती खेप्नुपरेको छ । सडकको निर्माण पाएको ठेकेदार कम्पनीहरूले समयमा काम गर्ने गरेका छैनन् । सडक निर्माणमा भएको ढिलासुस्तीप्रति सरकारले प्रभावकारीरुपमा अनुगमन गर्न पनि सकेको छैन । सडकमा जतततै बेथिति छ । सडकको फुटपाथमा जताततै पसल राखिएको छ । पैदल यात्रु हिँड्नको लागि समेत कठिनाइ छ । सडक निर्माणको क्रममा देखिएको मुख्य समस्या भनेको सरकारी निकायबीच देखिएको समन्वयको अभाव हो । खानेपानीले सडक भत्काएर पुर्न नपाउँदै ढल विस्तारको नाममा भत्किने गरेको छ ।

सरकारले कम्तीमा एकीकृत योजना बनाएर सडक विस्तार गर्नुपर्छ । आज निर्माण गर्ने अनि भोलि भत्काउने प्रवृत्ति रहेसम्म राजधानी काठमाडौंमा सवारी आवातजावत र पैदल यात्रीले सास्ती खेपिरहनुपर्छ । वर्षाको कारण सडकमा ढल फुटेर नागरिकको ज्यानसमेत गएको छ । पानी पर्नासाथ ढलको पानी सडकमा आउँदा सर्वसाधारणमा त्राससमेत फैलिएको छ । हरेक वर्षायामको समयमा ढल फुट्ने, सडकमा पानी जमेर हिँडनु नहुने अवस्था सृजना भएपनि सरकारले समस्या समाधान गर्नको लागि खासै ध्यान दिन सकेको छैन । सडक जलमग्न हुँदासमेत आर्थिक वर्षको अन्तिममा आएर पुरपार गर्ने र झारा टार्ने कामबाहेक सरकारले दिगो समाधान गर्नतिर ध्यान दिन सकेको छैन । सरकारले काम गर्दा झारा टार्ने मात्र भन्दा पनि जनताको दैनिकीसँग जोडिएको सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्