जनताकै काम गर्न जनप्रतिनिधि भएकोः अमन



 

अमन महर्जन स्थानीय निकायको निर्वाचन लड्ने पक्का भएर मत माग्न मतदातासामु जाँदा खासै केही भनेका थिएनन्। उनी लोकप्रियताका लागि नयाँ–नयाँ सोचका कुरा पनि गरेका थिएनन्। उनले विकासका काममा इमान्दारिताले लाग्छु मात्रै भनेका थिए, समग्रमा। त्रिभुवन विश्वविद्यालयसमेत रहेको कीर्तिपुर–१० बाट वडा अध्यक्षमा जित्नुभएका अमन महर्जनले कीर्तिपुरको प्रवेशद्वार रहेको नयाँबजार र सो आसपासको क्षेत्रलाई नमुना बनाउने बताउनुभएको छ। उहाँले जितेपछि मात्रै यो बताउनुभएको हो।

कुरासँगै काम गर्न थाल्नुभएका अमनले लोकतान्त्रिक चोकको माथिपटि पर्ने टापु जस्तो स्थानमा बुद्धपार्क बनाएर पर्यटक बोलाउने कामको शुरुआत गरिसक्नुभएको छ। उक्त स्थानमा ४ वटा ठूल्ठूला बुद्धको मूर्ति राखेर बुद्धपार्क बनाउने उहाँको योजना छ। ‘हामी कीर्तिपुरको प्रवेशद्धार तथा सबैभन्दा कान्छो वडालाई पर्यटकीय स्थानको रूपमा विकास गर्न विभिन्न योजना बनाएका छौं’, उहाँ भन्नुहुन्छ– ‘लोकतान्त्रिक चोकको माथि सिँढी उक्लेपछिको टुप्पोमा बुद्धपार्क बनाउँदै छौं र त्यसका लागि ४ वटा ठूल्ठूला बुद्धको मूर्तिसमेत राख्ने योजना छ।’

उहाँले कीर्तिपुरमै ऐतिहासिकरूपमा रहेको सम्पदा मार्गलाई पर्यटकीयरूपमा विकास गर्नेसमेत योजना बनाउनुभएको छ। यसका लागि कीर्तिपुर नगरपालिका १, २ र १० नम्बर वडा मिलेर योजनासमेत अगाडि बढाइएको छ। ‘हामी नजिक–नजिक पर्ने १, २ र १० नम्बर वडा मिलेर सम्पदा मार्गको पुरानो बाटोलाई पर्यटकले हेर्न आउने खालको बनाउछौं’, उहाँ भन्नुहुन्छ– ‘पुरानो कला नबिग्रने गरी हामीले पर्यटकीय सम्पदाको रूपमा विकास गर्ने योजना बनाएका छौं र काम पनि शुरु गर्न थालेका छौं।’ उहाँले भूकम्पमा जीर्ण भएको जगतपाल महाविहारलाई (जसलाई स्थानीय तिलंच्व विहार भनेर चिन्छन) संरक्षण गर्ने काम अगाडि बढाइसक्नुभएको छ। ‘वरिपरि ६ वटा बहाल छन्। सबै जीर्ण छन् तिनलाई पनि संरक्षण गर्ने योजना छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘स्थानीयको साथ सहयोग र सहकार्यमा मैले कीर्तिपुरलाई पर्यटकीयरूपमा विकास गर्छु।’

स्थानीय निर्वाचन जितेका जनप्रतिनिधिले अझै सपथ खाँदै गरेको खबर आइरहँदा कीर्तिपुर १० का वडा अध्यक्षका उम्मेदवारले भने आफ्नो जनसेवाको कामलाई तीव्र गतिमा अगाडि बढाउनुभएको छ। पानीको समस्या भइरहने कीर्तिपुरका लागि वडा अध्यक्ष अमन महर्जनले खानेपानी समस्या सधैंका लागि दूर गराउन बजेटको समेत व्यवस्था मिलाइसक्नुभएको छ। १ वर्षभित्र खानेपानी समस्याको समाधान गर्ने लक्ष्यसहित खानेपानी योजनाको काम गरिने उहाँले बताउनुभयो। पानीको व्यवस्थापनका लागि वडाको बजेटले नभ्याउने भएपछि अमनले नगरपालिकाबाट कीर्तिपुरमा खानेपानीका लागि १९ करोड बजेट छुट्याउन भ्याइसक्नुभएको छ। ‘१ वर्षभित्र कीर्तिपुरमा ९० प्रतिशत खानेपानी समस्याको समाधान गर्ने गरी काम गरेका छौं’, उहाँले भन्नुभयो– ‘हामीले बजेटको पनि व्यवस्था गरिसकेका छौं।’ अमन महर्जनले नेकपा एमालेको तर्फबाट उम्मेदवार भई कीर्तिपुर–१० को वडा अध्यक्षमा जित्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्