सामूहिक आत्महत्या प्रकरण: कान्छीले लिएको जग्गा फिर्ता



तिमल्सिना, काभ्रे
सम्पत्तिकै कारण सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि मृतक राजाराम दाहालको कान्छी श्रीमती पूजा दाहालले सम्बन्ध विच्छेद भएको ८ महिनापछि सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा जग्गा फिर्ता गरेकी छिन्।

उनकै कारण श्रीमान् राजाराम, ससुरा हरिभक्त, सासू हरिमाया र नन्द रञ्जनाले सामूहिक आत्महत्या गरेको आरोप लागेपछि सम्बन्ध विच्छेद हुनुअघि २०७३ मंसिर ७ गते सासू हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएकी थिइन्।

सोही जग्गाबाट पूजाले राजारामकै जेठी श्रीमती कमला र उनका छोरा सुरजलाई ५ रोपनी जग्गा पास गरिदिएकी हुन्। जग्गा पास गरिदिएलगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरूको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

पूजा र उनका छोरा पुजनका नाममा सोही कित्ताको ८ आना २ पैसा ३ दाम जग्गा रहेको छ। पूजाको कित्ता नम्बर २१३७ रहेको छ भने कमलाको कित्ता नम्बर २१३८ रहेको छ।

नेपाल समाचारपत्र दैनिकले आइतबारको अंकमा पूजाले जेठीको अंश मार्ने नियतले परिवारकै सल्लाहमा अंश बुझेर सम्बन्ध विच्छेद गरेको तथ्य सार्वजनिक गरेको थियो। सोही तथ्य सार्वजनिक भएपछि जेठी र कान्छी श्रीमतीका आफन्तहरूको छलफलबाट बकसपत्र गरेर लिएको पूजाको नामको जग्गा फिर्ता गर्ने सहमति भएपछि पूजाले मालपोत कार्यालयमा पुगेर जग्गा फिर्ता गरिदिएकी हुन्।

सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला पछि २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतल्ले घर पूजाले बकसपत्र गरी लिएकी थिइन्। उक्त घरको २५ लाख ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ।

टुकुचा नाला गाविस–८ को ६६६ कित्ताबाट २०६२ साल भदौ ६ गते १ रोपनी जग्गा कमलाकै नाममा रहने सहमति भएको छ। उक्त जग्गा राजारामले पूजालाई विवाह गरेर ल्याएको ९ दिनमा बकसपत्र गरेर दिएका थिए।

२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा–८ मा रहेको ०–८–३–२ क्षेफलको अंश र सोही दिन लिएको कित्ता नम्बर ७३० बाटै छोरा राजाराम दाहालले ९६२ कित्ता नम्बर कायम हुने गरी ०–८–३–१ क्षेत्रफलको जग्गा अंशलाई कमला र पूजाकै छोराहरूको समेत नाममा जाने गरी सहमति भएको छ। सम्बन्ध विच्छेद भइसकेकाले कानुनी प्रक्रियामा कसरी पूजाको नाममा उक्त जग्गा नामसारी हुन्छ ? व्यवहारतः कसरी मिलाउने हो ? छलफल भएको छैन। कमलाका आफन्तले सम्पत्तिका कारण पूजाले मानसिकरूपमा दबाब दिएकाले राजारामसहितका परिवारले नै सामूहिक आत्महत्या गरेकाले कारबाही र जग्गा फिर्ता नभई शव नबुझ्ने अडान राखेका थिए।

शुक्रबार बनेपाको बसपार्कमा रहेको गौतम भोजनालयमा बुबा हरिभक्त, आमा हरिमाया, छोरा राजाराम र छोरी रञ्जनाले सामूहिक आत्महत्या गरेका थिए। पूजा सम्बन्ध विच्छेद गरे पनि श्रीमान् राजारामसँगै बस्दै आएकी थिइन्। प्रहरी प्रमुख सहकुलबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्