भरतपुर – १९ को मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी १२ गते



काठमाडौ । (नेस) ।

भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मत च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दालाई आजपनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दामाथिको बहस जारी रहेकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । मुद्दाको पेशी साउन १२ गतेलाई तोकिएको छ ।

सोमबार निर्वाचन आयोगको तर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले बहस गरेका थिए । उनले मुद्दाको विपक्षमा बहस गरेका थिए । यसअघि आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाँल, खिमलाल देवकोटा तथा गोविन्द बन्दीले बहस गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगले निर्णय गरेका थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्