एउटा विवादमा सहमति भयो



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा क्रिकेटको विवाद समाधानका लागि भएको बैठक केही सकारात्मक सहमतिका साथ टुंगिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का दुई प्रतिनिधिका साथ विवाद समाधानका लागि गठित सल्लाहकार समितिबीच शनिबार बैठक बसेको थियो। काठमाडौंको एक पाँचतारे होटलमा भएको बैठकले एक विवाद भने समाधान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) दुई धार देखिएपछि आईसीसीले २०७२ साल वैशाखमा निलम्बित गरेको थियो।

दुई महिना अगाडि जेठमा आईसीसीमा पठाएको क्यानको प्रस्तावित विधानमा सल्लाहकार समितिभित्रै विवाद भएको थियो। आईसीसीका दुई प्रतिनिधि उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर उमर शेख सोही विवादबारे थप छलफल गर्न शुक्रबार नेपाल आएका हुन्।

बैठक सकारात्मक भएको आईसीसीका उपाध्यक्ष ख्वाजाले बताए। उनले विज्ञप्तिमा भनेका छन्– ‘हाम्रो बैठक सकारात्मक भएको छ। यसरी नै छलफल गरेर जाने र सहमति हुने हो भने नेपालको क्रिकेटमा नयाँ संरचना बन्नेमा कुनै शंका हुँदैन। यसले नेपालमा क्रिकेटका लागि नयाँ युग आउनेमा मलाई विश्वास छ।’

तर, यसका साथै आईसीसीका प्रतिनिधिले एक विवाद थाँती रहेकाले नेपाली क्रिकेटका लागि अर्को एक मौका दिएर जाने भएको छ। त्यो थाँती रहेको विवाद भनेको केन्द्रीय साधारण सभामा सीधै प्रतिनिधि पठाउनुपर्ने प्रस्ताव हो। निर्वाचित क्यानले सो मुद्दा उठाएको र आईसीसीले त्यसलाई सहजै अस्वीकार गरेको छ। निर्वाचित क्यानलाई यसको समाधान एक महिनाभित्र टुंग्याउनुपर्ने आईसीसीको निर्देशन रहेको छ।
नेपाल सल्लाहकार समितिका एक सदस्य रोहित दाहालले नेपाल समाचारपत्रलाई सोको जानकारी गराएका हुन्। दाहालले बताए– ‘जेठमा हामीले आईसीसी र राष्ट्रिय खेलकुद परिषद्लाई विधान पठाएका थियौं। जसमा सहमति पक्षको बुँदा पनि समावेश गरेर पठायौं। आईसीसीले त्यसैका लागि यहाँ छलफलका लागि प्रतिधिति पठायो।’

दाहालका अनुसार दुई विवादमध्ये एकको विवाद मिलेको छ। ‘क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद थियो। निर्वाचित क्यानका प्रतिनिधिले राखेको प्रस्तावबमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहनेछ’ º–दाहालले बताए।

क्यानको सदस्य जिल्ला ३८ बाट हरेक जिल्लाबाट एक जना प्रनिनिधिले भाग लिने पाउने गरी सहमति बनेको छ। त्यस्तै प्रदेशबाट २ जिल्ला बराबर १ प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका समान एक–एक जना गरी ६० जनाको साधारण सभामा उपस्थिति गरिने गरी आईसीसीले सहमति जनाएको हो।
निर्वाचित समितिकै अर्को प्रस्ताव निर्वाचित कार्यसमिति, तदर्थ समिति र सल्लाकार समितिलाई पनि साधारण सभामा भाग लिन दिनुपर्ने प्रस्तावमा भने सहमति जुट्न सकेन। अहिले विवादमा रहेका कुनै पनि व्यक्तिले स्वतः साधारण सभामा भाग लिन नपाउने भएका छन्।

‘क्यानको प्रस्तावित विधानलाई निर्वाचित क्यानले विशेष साधारण सभा बोलाएर पास गराउनुपर्ने गरी आईसीसीले चेतावनी दिएको छ। यदि त्यो विधान पास हुन सकेन भने सायद यसपछि आईसीसीले नेपाली क्रिकेटलाई अर्को मौका दिनेछैन। सायद त्यो दुर्भाग्य पनि हुन सक्नेछ’ –दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्