विदेशप्रतिको अधिक निर्भरता



 

ढुनबहादुर बुढाथोकी
बेरोजगारी नेपालको विकराल समस्या हो। मुलुकमा आर्थिक गतिविधि धिमा हुनु र बर्सेनि करिब ४.५० लाख श्रमशक्ति श्रमबजारमा ओइरनुले बेरोजाारी बढाएको हो। अन्तर्राष्ट्रिय श्रम संगठनको सर्वेक्षणले पूर्ण बेराजगार १९.२ प्रतिशत र अर्धबेरोजगार २८.३ प्रतिशत देखाएको छ। यही रोजगारको अभावमा युवातप्का विदेश पलायन हुन बाध्य भएका हुन्।

वैदेशिक रोजगारमा मूलतः प्रजातन्त्र प्राप्तिपश्चात् जान थालिएको हो। सरकारले ०५०।५१ बाट मात्र वैदेशिक रोजगारमा जानेको तथ्यांक राखेको पाइन्छ। ०५०।५१ देखि २०७१।७२ सम्ममा ४४ लाख ५३ हजार विदेश पुगेका छन्। ०७२।७३ मा ४ लाख १८ हजार विदेशिए। देशगतरूपमा ०७२।७३ मा साउदीमा १ लाख ३८ हजार, कतारमा १ लाख २९ हजार, मलेसियामा ६० हजार, युएईमा ५२ हजार, कुबेतमा १० हजार, कोरियामा ७ हजार, बहराईनमा ३ हजार, ओमानमा ३ हजार पुगेका छन्। विभागको आँकडामा भारतमा रहेका करिब १५ लाख नेपाली समेटिएका छैनन्। उक्तसहित ६८ लाख पुग्छ। यसको अर्थ प्रत्येक ४ मध्ये १ नेपालीले विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन््। उक्त हिस्सा कुल जनसंख्याको करिब २२ प्रतिशत हो।

विप्रेषणबापत ०७१।७२ मा रु. ६ खर्ब १७ अर्ब भित्रिएकोमा ०७२।७३ मा ६ खर्ब ६५ अर्ब पुगेको छ। अनौपचारिक क्षेत्रबाट भित्रने विप्रेषणसमेत जोड्दा झन्डै ७ खर्ब अधिक पुग्छ। यहाँनिर महत्वपूर्ण कुरा ०७२।७३ मा विप्रेषण आय जीडीपीको ३२.१० प्रतिशत पुग्यो वा विप्रेषण आय वार्षिक १० प्रतिशतका दरले बढ्दो छ भन्ने होइन, महत्वपूर्ण कुराचाहिँ किन विप्रेषण आयको २⁄३ प्रतिशत भन्दा बढी हिस्सा उत्पादनमूलक क्षेत्रमा उपयोग हुन सकिरहेको छैन वा गाउँमा विप्रेषण संकलन गर्ने बैंकको अभाव छ भन्ने हो। जब कि विप्रेषण भित्र्याउने सोपानमा नेपाल छैटौं स्थानमा छ।

वैदेशिक रोजागारका तमाम दुर्गुणका बाबजुद पनि अल्पकालमा यस क्षेत्रलाई लत्याउन सकिने अवस्था छैन। तसर्थ, वैदेशिक रोजगारका क्षेत्रमा छिपेका विकृतिको शल्यक्रिया गर्दै वैदेशिक रोजगारप्रतिको अधिक निर्भरता तोड्नु अहिलेको आवश्यकता हो। नत्र यो वैदेशिक रोजगारी वरदान नभई अभिसाप बन्न बेर लाग्दैन।

वैदेशिक रोजगार प्रवद्र्धनमा श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतका सरकारी निकायहरू संलग्न छन्। परन्तु यी निकाय प्रदत्त कार्य प्रभावकारी हुन सकेको छैन। श्रम तथा रोजगार विभागमा पर्ने उजुरी, विदेशमा नेपाली श्रमिकमाथि हुने विभेद, अधुरा कागजातका कारण विदेशमा पर्ने अलपत्र उक्त कुराको सबुत हो। श्रमशक्ति पठाउने कार्यचाहिँ निजी कम्पनीहरूले गरिरहेका छन्। परन्तु वार्षिक ६ खर्ब ७९ अर्ब भित्र्याउने कार्यमा संलग्न मेनपावर कम्पनीहरूको सामाजिक ख्याती अमर्यादितपूर्ण छ। यसको आशय वैदेशिक रोजगारको क्षेत्रमा थुपै्र कमी–मजोरीहरू छन् भन्ने नै हो। कमी–कमजोरी विशेष गरी अभिमुखीकरण, पारिश्रमिक, ठगी, श्रम सम्झौता आदि क्षेत्रमा छ।

बर्सेनि ७ खर्ब भित्र्याउने वैदेशिक रोजगार भरपर्दो, सुरक्षित र श्रमिकमुखी बन्न सकिरहेको छैन। रोजगारपूर्व अभिमुखीकरणको अभावमा दुर्घटना बढ्दो छ। अभिभुखीकरण नाम मात्रको हुने गरेको छ। विदेशिने नागरिकबाट तोकिएभन्दा अधिक शुल्क असुल भइरहेको छ। यहाँसम्म कि २०७२ आषाढ २१ देखि खाडीका ७ मुलुकमा लागू गरिएको फ्री भिसा, फ्री टिकटको व्यवस्थालाई मेनपावर व्यवसायीहरूले लत्याइरहँदा सरकार भने मुकदर्शक बनिरहेको छ। जहाँ मेनपावर कम्पनीहरूले रसिद नदिई मनपरि रकम असुल गरिरहेका छन्। बिमा नगरी रोजागारमा पठाउने हर्कत बढ्दो छ। सम्झौतामा उल्लेख भएभन्दा कम पारिश्रमिक दिने गरिएको छ। तोकिएको भन्दा निकृष्ट कार्यमा लगाउनु सामान्यजस्तै भएको छ। गन्तव्य मुलुकको कानुनसम्बन्धी सामान्य जानकारीसमेत नहुँदा कारबाही भोग्नुपर्ने बाध्यता छ।

कतिपय मेनपावर कम्पनी तथा तिनका दलालले प्रलोभन देखाएर विदेश पठाई लाखौं रुपियाँ असुलेर सर्वसाधारणलाई अलपत्र पार्ने गरेका छन्। विभागमा उजुरी हाल्दा रकम फिर्ता प्राप्त गर्न नसकिरहेको अवस्था छ। कतिपय मेनपावर कम्पनीले तोकिएको काममा फरक पर्ने गरी विदेशमा पठाउने गरेका छन्। कतिपय कामदार करारपत्रमा उल्लेख भएअनुसार तलब र सुविधा नपाउँदा एक–डेढ महिनामै फर्कनुपरेको छ। वैदेशिक रोजगार संक्षिप्त कार्यविधिमा कुनै पनि उजुरी दर्ता भएको ३ महिनाभित्र टुंगो लगाइसक्नुपर्ने उल्लेख छ। तर ठगी गर्ने मेनपावर कम्पनीविरुद्ध हालेको उजुरी २⁄३ वर्षसम्म सुनुवाइ हुन नसकेको अवस्था छ। उटै कोठामा २०⁄२५ जना कोचिएर बस्नु सामान्यजस्तै भएको छ।

दैनिक १२⁄१४ घण्टा काममा जोतिनु नियतिजस्तै भएको छ। महिला कामदारको सुरक्षा ग्यारेन्टी गरिएको छैन। शारीरिक, मानसिक र यौनिक हिंसाबाट नेपाली महिला कामदार अछूत छैनन्। सरकारले लिबिया, इराक, अफगानिस्तानलगायका मुलुकमा रोजगारका लागि जान निधेष गरेको छ। तर बढी बेतन पाउने लोभमा नेपाली ती जोखिमयुक्त मुलुकमा पुग्ने गरेका छन्। त्यसरी अफगानिस्तानमा पुग्दा २०७३ मा असारमा १३ नेपालीले ज्यान गुमाएका हुन्। केही समयपूर्व सयौं नेपाली साउदी, कतार, मलेसिया, श्रीलंकालागयतका मुलुकमा अलपत्र अवस्थामा थिए। तर पनि मानव तस्करलाई कारबाही भएको कुनै समाचार सार्वजनिक भएन। प्रस्तुत तथ्यहरूबाट वैदेशिक रोजगारको क्षेत्र कसरी गुज्रिरहेको छ भन्ने छर्लङ्ग हुन्छ।

दैनिक १५ सयका दरमा युवाशक्ति विदेश पलायन हुँदाको सामाजिक लागत कम्ती भीमकाय छैन। युवाशक्ति पलायन हुँदा गाउँघरमा वृद्ध, अपांग, अशक्त, बालबच्चा र महिलाको कचरेघान छ। वृद्ध उमेर समूहको रेखदेख र सहारामा अभाव खड्किएको छ। पारपाचुकेको दर ह्वात्त उक्लिएको छ। असुरक्षित यौनका कारण एचआईभी संक्रमितको संख्या बढ्दो छ। आर्थिक लागत पनि त्यत्तिकै डरलाग्दो छ। श्रमशक्ति पलायनका कारण कलकारखाना र कृषिभूमिमा कार्य गर्ने श्रमिकको अभाव खड्किएको छ। ग्रामीण क्षेत्रमा करिब ३६ प्रतिशत व्याजदरमा कर्जा लिई विदेश पलायन हुँदा घरखेत लिलाम हुनेको संख्या पनि कम्ती छैन। विपे्रषणको उपयोग उत्पादनमूलक क्षेत्रमा गर्न नसक्दा वैदेशिक व्यापार घाटा ११ औं गुना फराकिलो भएको छ। आ.व. ०७२।७३ मा व्यापार घाटा ७ खर्ब ३ अर्ब चुलिनुमा विप्रेषण आयद्वारा निम्त्याइएको उपभोक्तावादी संस्कृति कम्ती जिम्मेवार छैन।

वैदेशिक रोजगारलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा स्वीकार गरिएको कुरामा द्विविधा छैन। १ सय १० मुलुकहरूमा वैदेशिक रोजगारी खुला गरिनु वा विप्रेषण आय जीडीपीको करिब एक तिहाइ हुनु यसैको सबुत हो। वैदेशिक रोजागारका तमाम दुर्गुणका बाबजुद पनि अल्पकालमा यस क्षेत्रलाई लत्याउन सकिने अवस्था छैन। तसर्थ, वैदेशिक रोजगारका क्षेत्रमा छिपेका विकृतिको शल्यक्रिया गर्दै वैदेशिक रोजगारप्रतिको अधिक निर्भरता तोड्नु अहिलेको आवश्यकता हो। नत्र यो वैदेशिक रोजगारी वरदान नभई अभिसाप बन्न बेर लाग्दैन। वैदेशिक रोजगार व्यवस्थित, मर्यादित र सुरक्षित बन्न नसक्नु, वैदेशिक रोजगारको लागत न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्न नसक्नु, न्यून लागतमा अधिक पारिश्रमकि प्राप्त हुने मुलुकहरूमा श्रम सम्झौता विस्तार हुन नसक्नु, वैदेशिक रोजगारमा दक्ष जनशक्तिको अनुपात वृद्धि गर्ने किसिमका कार्यक्रम विकास गर्न नसक्नु यस क्षेत्रका कमजोरी हुन्। त्यस्तै वैदेशिक रोजागरबाट प्राप्त विपे्रषण उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसक्नु, वैदेशिक रोजगारद्वारा प्राप्त सीप, कला, ज्ञान र प्रविधिलाई सदुपयोग गर्ने वातावरण निर्माण गर्न नसक्नु वैदेशिक रोजगारको मृगतृष्णा हो। यी मृगतृष्णा पर्गेल्न नसके वैदेशिक रोजगार वरदान होइन, अभिसाप
बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्