नेपालको सिंगापुरमाथि कठिन जित



 

नेपाल समाचारपत्र
काठमाडौं
सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकपको एसिया क्षेत्रको छनोट चरणमा नेपालले तेस्रो जित निकालेको छ।

नेपालले आयोजक सिंगापुरलाई २२ रनले हराएर प्रतियोगितामा चार खेलमध्ये तेस्रो जित हात पारेको हो। सिंगापुरले पहिलो खेलमाझैं सहजै नतिजा सुम्पेन। घरेलु टोलीले जितको कोसिस गरे पनि कप्तान सन्दीप लामिछानेले फेरि एकपटक घातक बलिङ गर्दै नेपाललाई जित दिलाएका हुन्। उनले चार विकेट लिँदा सिंगापुर ४६ दशमलब ४ ओभरमा १ सय ४६ रनमा अलआउट भएको थियो। सन्दीपले प्रतियोगितामा चार खेलबाट कुल १६ विकेट लिइसकेका छन्।

एसिया क्षेत्रबाट विश्वकपमा पुग्न नेपालले बाँकी दुई खेल जित्नै पर्ने दबाब छ। नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग लज्जास्पद पराजय बेहोरेपछि न्युजिल्यान्डमा हुने विश्वकप २०१८ मा प्रवेश गर्न कठिन बनेको हो। अफगान टोली आफ्नो चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेर शीर्ष स्थानमा अडिग बनेको छ।

यसअघि नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो। जसमा नेपालको भरोसा मन्द ब्याटस्म्यान दीपेन्द्र सिंह ऐरी पहिलोपटक प्रतियोगितामा लयमा फर्के। अघिल्ला तीनै खेलमा खासै नजमेका दीपेन्द्रले ८३ बलको सामना गरेर ५४ रन बनाए। यो नेपालको तर्फबाट प्रतियोगितमा पहिलो अर्धशतक हो। उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। उनीपछि सर्वाधिक योगदान प्रकाश केसीले दिए। उनले २३ रन जोडेका थिए।

नेपालको ओपनरमा केही परिवर्तन गरे पनि त्यसको लाभ टोलीमा परेन। सन्दीप सुनार र अनिल शाहले ओपनिङ साझेदारी गरेका थिए। तर तेस्रो ओभरमै अनिल ७ रन बनाएर आउट भए। त्यसपछि आएका प्रनीत थापा ८ रन जोडेर पवेलियन फर्के भने आसिफ शेखले तीन रन बनाए। यतिबेलासम्म नेपाल ३९ रनमा थियो।
अर्का ओपनर सन्दीप पनि केही राम्रा सट प्रहार गरेर आउट भए। उनी २०औं ओभरमा आउट भएका थिए। उनले ५५ बलमा २ चौका र १ छक्काको मद्दतमा २६ रन बनाएका थिए। रोहितकुमार पौडेल १५ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछानेले केबल ५ रनको योगदान दिए। सिंगापुरे बलर विश्वासरेले सर्वाधिक तीन विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्