पीताको पछि लाग्दै छायांकार



 

रश्मी थापा
पर्दामा देखिने कलाकारको दाँजोमा त्यती नै महत्व हुन्छ पर्दापछाडिका अनेकन कलाकारको। पर्दामा प्रत्यक्षरुपमा देखिने कलाकारको कामलाई अगाडि ल्याउनमा सयौं त्यस्ता हात हुन्छन्, जसले पर्दापछाडि बसेर उनीहरुलाई चम्काउन महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। यसमध्ये छायांकन विधा एउटा यस्तो विधा हो, जसले पर्दामा देखिने कलाकारको कामलाई सुन्दर देखाउन मद्दत गर्छ।

सिन्धुपाल्चोक घर भई काठमाडौंलाई कर्मथलो बनाउँदै आएका २७ वर्षे नवराज उप्रेती पनि यही विधामा काम गरेर कलाकारका कामलाई दर्शकसम्म पुर्याउने काम गरिरहेका छन्। एघार वर्षअघि लाइट म्यान हुँदै छायाकंनमा आएका सिन्धुपाल्चोकको लिसंङ्खु नरगाउँका नवराज सहायक छायाकार हुँदै छायाकारको रुपमा आफूलाई स्थापित गराउन व्यस्त छन्। सानैदेखि नेपाली फिल्म हेर्न मन पराउने उनी कुनै पनि हिसाबले फिल्म क्षेत्रसँग जोडिन चाहन्थे। उनको यो चाहना पनि पूरा हुँदै गयो। फिल्म क्षेत्रमै कुकका रूपमा काम गर्ने पिता भोला उप्रेतीसँग सुटिङमा सँगै जाने क्रममा उनी पनि फिल्ममा जोडिन पुगे। तर संघर्ष भने गर्नुपर्यो। अहिले छायांकारका रुपमा स्थापित हुँदै गइरहेका उनले यो विधाको काम सम्हाल्न यहाँसम्म आइपुग्दासम्म स्पट ब्वाइदेखि लाईट म्यानसम्मको अनुभव बटुले।

२०६५ सालमा फिल्म मिस्टर मंगलेमा स्पट ब्वाइका रूपमा काम गर्न गरेका उनले पछि लाइटम्यानको रुपमा काम गर्न थाले। रहरले फिल्म क्षेत्रमा काम गर्न पुगेका उनी पिताको स्वर्गारोहणपछि भने घर व्यवहार पनि हेर्न पर्ने भएकाले यहीँ रहिरहन बाध्य भए। ‘पहिले बुबा पनि यही क्षेत्रमा काम गर्ने भएकाले मलाई पनि यतैतिर काम गर्ने रहर लाग्यो। तर बुबाको निधनपछि घरव्यवहार पनि आपैmँले हेर्नुपर्ने भएपछि त झन् नसुतीनसुतीसमेत लाइटको काम गर्नुपथ्र्यो नवराजले सुनाए ‘कतिपय बेला त करेन्ट पनि लाग्थ्यो। तर जस्तै अवस्थामा पनि मैले आफ्नो कामलाई निरन्तरता दिइरहे ’

थुप्रै फिल्ममा लाइटम्यानका रुपमा काम गरेका उनले पशुपतिप्रसाद, चपली हाइट, ब्रासलेट, ऐश्वर्या, सुब्बा साब, किन गरेँ मायालगायत २ दर्जनभन्दा बढी फिल्ममा सहायक छायाँकारका रूपमा काम गरे। ३ वर्षदेखि भने उनी आफूलाई छायांकारका रूपमा उभ्याइरहेका छन्। शुरुशुरुमा म्युजिक भिडियोहरुमा छायांकारका रुपमा काम गरेका उनले आफ्नो कामप्रति धेरैको सकरात्मक प्रतिक्रिया पाएपछि फिल्म नै खिचिरहेका छन्। उनले यस अवधिमा रोल्पा रोग, काररखाना, हैरानजस्ता फिल्मको छायाकंन गरेका छन्। अब भने उनी फिल्म मधुमालतीको छायाकंनको तयारीमा छन्। गायक शिव परियारको सानीमा सानी, गायिका अनिता चलाउनेको मेरो जवानी, गायिका सुनिता गुरुङको तिज गीतलगायत २ शय ५० भन्दा बढी म्युजिक भिडियोको छायांकन गरेका छन्। हाल नीतीन चन्दको युट्युब सिरिज हाई स्कुल तथा रङ टाईमको छायांकन गरिरहेका उनी आफूलाई पर्दा अगाडि आउने रहर कहिल्यै नभएको बताउँछन्। ‘शुरुदेखि नै पर्दापछाडि रहेर काम गर्ने बानी भयो। त्यसकारण पनि मलाई पर्दाअगाडि देखिने सोच भएन, तर पर्दापछाडि भए पनि आफूले गरेको काम पर्दामा हेर्न पाइन्छ अरुलाई देखाउन पाइन्छ’, नवराजले सुनाए– ‘आफूले गरिरहेको काममा नै केही नयाँ गरौं भन्ने लागिरहन्छ।’ उनलाई लाग्छ ‘नेपालमा अहिले नयाँनयाँ टेक्नोलोजी भित्रिरहेको छ। यी टेक्नोलोजीको सही प्रयोग गरी नेपाली फिल्मलाई पनि विदेशी फिल्मको स्तरमा पुर्याउन सकिन्छ। नेपाली फिल्मका लागि विदेशी क्यामेराम्यान ल्याउन नपर्ने गरी काम गर्न हामी नै सक्छौँ।’

म्युजिक भिडियो तथा फिल्ममा अनुवभ बटुलेका उनी म्युजिक भिडयोभन्दा फिल्ममा काम गर्नु चुनौतीपूर्ण र कठिन भएको बताउँछन्। ‘म्युजिक भिडियो एक दिनमै सकिन्छ। फिल्मका लागि लामो समय खटिनुपर्छ तर फिल्ममा भने आफ्नो काम देखाउन पाइन्छ। आफ्नो काममा मेहनतको साथ गर्दै छु आगामी दिनहरुमा यही कामलाई निरन्तरता दिँदै अगाडि बढ्दै जाने योजना छ। कमाइको हिसाबले पनि म खुसी नै छु –उनले भने।

प्रतिक्रिया दिनुहोस्