नमोबुद्ध पर्यटकीय नगर बन्दै



 

मोतीराम तिमल्सिना⁄काभ्रे

आठओटा गाविस मिलाएर गठन गरिएको नमोबुद्ध नगरपालिका जिल्लाको पर्यटकीय क्षेत्रका रूपमा पनि चिनिन्छ। धार्मिक पर्यटकको गन्तव्य स्थल रहेको यो नगरपालिकाको भुगोल कला र संस्कृतिका साथै यहाँको वातावरणीय अवस्था पनि ज्यादै सुन्दर छ। कृषि, व्यापार र उद्योगको पनि यो नगरले राम्रो सम्भावना बोकेको छ।

नमबुद्ध नगरपालिकामा जनप्रतिनिधिको रुपमा नेतृत्व गरिरहनुभएको छ– टिपी शर्मा तिमल्सिना। उत्कृष्ट र नमुना नगर बनाउने योजनाका साथअघि बढिरहनुभएको नगरप्रमुख शर्माले पहिलो नीति तथा कार्यक्रममै केही महत्वकांक्षी योजना अघि सार्नुभएको छ। सडकलाई प्राथमिकताका साथ अघि बढाइको नीति तथा कार्यक्रममा अरनिको लोकमार्गलाई विपी राजमार्गमा जोड्ने सडक, रोसीखोलाको किनारैकिनार चौकिडाँडा हुँदै विपी राजमार्गसम्म सडक सञ्जाल विस्तार गर्नेमा विशेष ध्यान दिइएको छ। साथसाथै सम्पूर्ण वडाहरुलाई केन्द्र (भकुण्डे) बनाइ सडक निर्माणमा तिव्रता दिने नीति कार्यक्रममा उल्लेख छ।

नमोबुद्ध मुलतः धार्मिक पर्यटकको गन्तव्य स्थल बन्ने प्रशस्त आधार छन्। यहाँको भूगोल, कला, संस्कृति एवं पर्यावरणीय अवस्था ज्यादै सुन्दर र मनमोहक छ। पर्यटकहरुलाई नगरभित्र धेरै दिनसम्म राख्ने कार्यक्रम अगाडि बढाउन ध्यान पुर्याइएको छ।

नमोबुद्ध मुलतः धार्मिक पर्यटकको गन्तव्य स्थल बन्ने प्रशस्त आधार छ। यहाँको भूगोल, कला, संस्कृति एवं पर्यावरणीय अवस्था ज्यादै सुन्दर र मनमोहक छ। पर्यटकहरुलाई नगरभित्र धेरै दिनसम्म राख्ने कार्यक्रम अगाडि बढाउन ध्यान पुर्याइएको छ। कृषी जन्य उत्पादनको बजार प्रर्वद्धन तथा उत्पादन बृद्धिका लागि प्लास्टिक पोखरी, आकासे पानी संकलन ट्याङक, थोपा सिंचाइमा ध्यान दिने योजना अघि सारिएको छ। बुद्धचित्त मालाको प्रशोधन केन्द्र स्थापना, दुग्ध प्रशोधन केन्द्र स्थापना, प्रत्येक वडालाई सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले एक वडा एक सूचना केन्द्र स्थापना गरी वडा कार्यालयको कामलाई नगरकार्यालयसँग अनलाइन जोड्ने प्रयास भइरहेको छ।

नगरपालिकामा बहुउद्देश्यीय कर्भर्डहल निर्माण कार्यको प्रारम्भ भइसकेको छ। सार्वजनिक स्थलमा फ्रि वाइफाइको व्यवस्था, नगरको भौगोलिक अवस्था फरकफरक भएकाले कम्तीमा ५ स्थानमा हेलिप्याडको निमार्ण, नयाँ घर बनाउदा दुई ओटा रुख अनिवार्य रोप्ने परम्परालाई थालनी गर्ने योजनाका साथ नगरपालिका अघि बढेको छ। यहाँ प्रकृतिले दिएका सुन्दर र हरियाली डाँडाहरु छन् जहाँ पिक्निक स्पोर्ट तथा भ्यु टावर निर्माण गर्ने योजना अघि सारिएको छ। यो नगरपालिकालाई नेपालकै पहिलो वातावरणमैत्री र बालमैत्री नगर बनाउने योजना अघि सारिएको छ।

बालमैत्री, वातावरणमैत्री बालश्रम मुक्त नगर घोषणा गर्ने पूर्ण सरसफाइयुक्त नगर निर्माण, जैविक कृषि उत्पादन क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको नमूना गन्तव्य बनाउने, एक स्थानीय तह एक औद्योगिक क्षेत्रको अवधारणाअनुरुप औद्योगिक क्षेत्रको घोषणा गरी राष्ट्रिय भू—उपयोग नीतिअनुसार होटल तथा रिसोर्ट सञ्चालन क्षेत्र, वस्ती तथा कृषि क्षेत्रमा जमिनको विभाजन गर्ने, नगरपालिको उपयुक्त क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने प्राविधिक शिक्षालयको स्थापना गर्ने, सबैलाई स्वच्छ पिउने पानी पुर्याउने अवधारणाअनुरुप सबै स्थानमा खानेपानी उपलब्ध गराउने उद्देश्य लिएका जनप्रतिनिधिहरुले बोलेको व्यवहारमा उतार्न सक्छन् कि सक्दैनन् भन्ने आम चासोको विषय बनेको छ। इको स्मार्ट सिटीको अवधारणाअनुसार कार्य सञ्चालन गर्ने, एकिकृत बस्ती निर्माण गर्ने, रेन्जेन दोर्जे प्रतिष्ठानसँग सहकार्य गरी तमाङ् जातिका बारेमा अनुसन्धान गर्ने, प्रत्येक घरको घर नम्बरिङ गर्ने र टोल फ्री नम्बर उपलब्ध गराउने जसमा चौविसै घण्टा गुनासाहरु सुन्ने व्यवस्था गर्ने जस्ता महत्वकांक्षी योजना पूरा गर्न कम चुनौती छैन।

नमोबुद्धबाट कुरगाउँसम्म पर्यटकीय सिँढी मार्ग सञ्चाल गर्दै कुरगाउँ थुम्कामा गुरु रेम्पोछेको मूर्ति स्थापना गरी पर्यटकलाई आकर्षित गर्ने, प्रत्येक वडामा ऐतिहासिक पार्टी पौवा एवं सत्तलको निर्माण गरी समाजका जेष्ठ नागरिक लक्षित भजनघर, योग केन्द्र, सामाजिक परामर्श केन्द्रहरुको स्थापना गर्ने, कृषि एवं पर्यटकीय सामुदायिक एफएम रेडियोको स्थापना गर्ने अनि नगरभित्र रहेका सार्वजनिक गौचरण, जंगल, बाटो, पाटी, पौवा, मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च, पोखरी, पँधेरो, चौतारो, घाटलगायतका क्षेत्रमा भएको अतिक्रमणको सत्य तथ्य छानविन गरी संरक्षण तथा मृत्यु संस्कार स्थलको व्यवस्थापन गरिने गर्ने नगरको योजना सफल भए साच्चै यो नगर नमुना बन्न सक्छ। नगर बस सञ्चालनमा ल्याउने, विदेश जानुभन्दा पहिला अभिलेखिकरण गर्ने स्वदेश फर्किएपछि विदेशमा सिकेको ज्ञान, सीप, विज्ञता नगरमानै सदुपयोग गरी आयआर्जनको बाटो बढाउन पहल गरिनेछ जस्ता योजनाले यो नगरलाई सुन्दर बनाउन अझ मद्दत पुर्याउनेछ।

स्थानीय सडकहरूको निर्माण, उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिइने नगरप्रमुख शर्मा बताउनु हुन्छ। खास गरी पानीको मुहान, खोला, खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइने उहाँको भनाइ छ। डोजरजस्ता ठुला मेसिनहरुको जथाभावी प्रयोगलाई नियन्त्रण र निरुत्साहित गरिने र स्थानीयकला र संस्कृति प्रवद्र्धन गर्दै आर्थिक उपार्जन बृद्धि गर्ने लक्ष्य रहेको नगरप्रमुख शर्मा बताउनु हुन्छ। वातावरणलाई स्वच्छ राख्न सल्लाका रुखहरुलाई विस्थापन गरी अन्य रुखहरु भूगोलको बनावटअनुसार रोप्ने नगरको योजना छ। यहाँ पानीको ठूलो समस्या छ। पुराना पोखरीहरुको संरक्षण गरी पानी जम्मा गर्न सकियो भने कुवा, इनारका मुहानमा पानीको मात्रा क्रमिक रुपले बृद्धि हुनेमा नगरपालिका विश्वस्त छ। पानीको समस्या निराकरणको अल्पकालीन समाधान ट्याङ्करबाट पानी खुवाउने हुनसक्छ तर दीर्घकालीन उपाय भनेको रुखहरु रोप्ने, आकाशे पानीलाई जमिनभित्र पुर्याउने, ठाउँठाउँमा पोखरी निर्माण गरी पानी संकलन गर्ने योजना नै कार्यान्वयनमा ल्याउनुपर्छ।

नमोबुद्ध नगरपालिकाको बीचमा विपी राजमार्ग लमतन्न सुतेको छ। तर नमोबुद्ध नगरपालिकाले यसको अपनत्व पूरा मात्रामा लिन सकेको छैन। यहाँ क्रसर उद्योग, ईंटा भट्टाहरु सञ्चालनमा आएका छन् तिनीहरुलाई एउटा मापदण्ड मिलाएर करको दायरामा त ल्याइएको त छ तर धेरै न्यून मात्रामा। भुकण्डे हाम्रो नगरको केन्द्र हो। यहाँ सिंचाइको उचित व्यवस्थापन भए भकुण्डे फाँट हराभरा हुन सक्छ। विपी राजमार्ग यसै फाँटलाई आधा पारेर अगाडि बढेको छ। यसले गर्दा यात्रीहरुको आराम गर्ने केन्द्र बनेको छ। यहाँ सिंचाइको व्यवस्था भए यो फाँटमा मौसमअनुसारका बाली लहलहाएका हुनेछन्। दाप्चेखोलाको पानीलाई बाँध बाँधी प्रकृतिक सुन्दरता थप्न दोप्चेखोलाका वरिपरि हरियाली बढाइ पार्क निर्माण गर्ने नगरले योजना बनाएको छ।भकुण्डे आसपासका गाउँहरुलाई एकीकृत वस्तीका रुपमा व्यवस्थापन गर्ने कार्यको सर्वेक्षण भइरहेको छ।जसले गर्दा गाउँप्रतिको हाम्रा युवा पंक्तिको आकर्षण बढ्ने कुरामा दुई मत नहोला।

प्रतिक्रिया दिनुहोस्