नेपाल अफगानिस्तानसँग स्तब्ध



 

नेपाल समाचारपत्र
काठमाडौं
सिंगापुरमा भइरहेको आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रतर्फको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग स्तब्ध भएको छ। नेपालले बिहीबार सिंगापुरको मैदानामा ५० रन पनि कटाउन नसकेर लज्जास्पद हार बेहोरेको थियो। नेपाल आफ्नो कडा प्रतिद्वन्द्वी अफगानिस्तानसँग १ सय ४१ को फराकिलो रन अन्तरले हार्न पुगेको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको थियो।

नेपालले चार राष्ट्र सम्मिलित उक्त छनोट चरणमा पहिलो दुई खेलमा सिंगापुर र मलेसियामाथि सानदार जित हात पारेको थियो। तर यो हारले नेपाल चार अंकसहित दोस्रो स्थानमा र अफगानिस्तान तीनै खेल जितेर शीर्षस्थानमा अडिग गरेका छन्। डबल राउन्डको खेलमा नेपालको लागि न्युजिल्यान्डमा हुने विश्वकपमा पुग्न मौका भने बाँकी छ। दोस्रो राउन्डमा नेपालले तीनै वटा खेल उत्कृष्ट नेट रनरेटका साथ जित्नु आवश्यक छ।

नेपालको पहिले बलिङ गरेर अफगानिस्तानलाई १ सय ९० रनमा रोकेको थियो। यसअघि नेपालले अघिल्ला दुई खेलमा विपक्षीलाई १ सय रन पनि कटाउन दिएको थिएन। तर अफगानका खेलाडीलाई नेपाली बलरले अंकुश लगाउन सकेनन्। अघिल्ला दुई खेलमा गरी १० विकेट लिएका सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।

खेलमा नेपालको ब्याटिङ पाँच ओभरसम्म ठिकै चलेको थियो। तर छैठौ ओभरको अन्तिम बलमा ओपनर आसिफ शेखलाई गुमाएपछि नेपालले एकपछि अर्को विकेट गुमायो। २३ बलमा ६ रन बनाएर आसिफ आउट हुँदा नेपालको स्कोर ९ थियो। आठौं ओभरमा अर्का ओपनर सन्दीप सुनार एक रनमा आउट भएका थिए। दुबै विकेट मुजीबले लिएका थिए। अफगान कप्तानले नेपाललाई आफनो एकै ओभरमा तीन झट्का दिए। उनले नवौं ओभरको अन्तिम तीन बलमा दीपेन्द्रसिंह ऐरी (४ रन), प्रनीत थापामगर (शून्य) र अनीलकुमार शाह (शून्य) लाई आउट गरेर ह्याट्रिकसमेत पूरा गरेका थिए। नाभिनले आदिल खान (४ रन) लाई पनि आउट गरेर चार विकेट लिएका थिए।

यसपछि फेरि मुजीबले थप विकेट लिएर नेपालको ब्याटिङ धरासयी बनाए। उनले खेलमा चार विकेट लिन सफल भए। नेपाली कप्तान सन्दीप लामिछाने र शहाब आलम उनको शिकार भएका थिए। सन्दीपले खाता खोल्न पनि सकेनन् भने आलमले एक रन बनाए। रोहितकुमार पौडेल शून्यमा जाहिर खानद्वारा आउट भए। नेपाली ब्याटसम्यानले दोहोरो अंक पनि छुन नसकेको स्थितिमा आठौं नम्बरका ब्याटसम्यान पवन सराफले दोहोरो अंक बनाए। बलिङमा दुई विकेट लिएका उनले ५२ बलको सामना गरेर तीन चौकासहित २६ रन योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्