सर्वाधिक ग्रान्डस्लाम विजेता



 

कविरस शर्मा
गत आइतबार स्विजरल्यान्डका टेनिसस्टार रोजर फेडेररले ८औं पटक विम्बलडन टेनिसको उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरे। यो वर्ष उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। योसँगै फेडेररले आफ्नो ग्रान्डस्लाम संख्या १९ पुर्याए। ग्रान्डस्लाममध्ये पनि विम्बलडन प्रतियोगिता आठ पटक जित्ने उनी एकमात्र पुरुष खेलाडी बन्न सफल भए। उक्त नयाँ कीर्तिमान बनाउने क्रममा उनले समान ७–७ पटक विम्बलडन जितेका पिट साम्प्रास र विलियम्स रेनसाको कीर्तिमानलाई उछिने।

विम्बलडन वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता हो। टेनिसको चार ठूलो प्रतियोगितालाई ग्रान्डस्लामबाट सम्बोधन गरिन्छ। जनवरीमा हुने अस्ट्रेलियन ओपन वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो। यस्तै मेदेखि जुनबीच हुने फ्रेन्च ओपन, जुन र जुलाईबीच हुने विम्बलडन, अगस्ट र सेप्टेम्बरबीच हुने यूएस ओपन अन्य तीन ग्रान्डस्लाम हुन्। खेलाडीहरूले पाउने अधिक अंक, नगद पुरस्कार, सञ्चारमाध्यममा पाउने स्थानका कारण नै यी ग्रान्डस्लामहरूको मुख्य विशेषता हो। हरेक ग्रान्डस्लाम करिब दुई साता चल्ने गर्दछ।

अस्ट्रेलियन र यूएस ओपन हार्ड कोर्टमा खेलिन्छ भने फ्रेन्च ओपन क्ले कोर्ट र विम्बलडन ग्रास कोर्टमा हुने गर्दछ। यी चारमध्ये विम्बलडन सर्वाधिक पुरानो ग्रान्डस्लाम प्रतियोगिता हो। यो सन् १८७७ देखि आयोजना हुँदै आएको छ।

ग्रान्डस्लामसँगै यसका सर्वाधिक विजेताहरूको नाम पनि जोडिने गर्दछ। ग्रान्डस्लामका सर्वाधिक विजेताहरूको नाम लिनुपर्दा महिला खेलाडी अग्रपंक्तिमा आउने गर्दछ। ग्रान्डस्लामका ५ सर्वाधिक विजेताहरूमध्ये ४ जना महिला खेलाडीहरू रहेका छन्। जसमध्ये सर्वाधिक उपाधि जित्नेमा पनि महिला खेलाडीहरूको नै वर्चस्व रहेको छ। यसै सन्दर्भमा यहाँ सर्वाधिक ग्रान्डस्लाम विजेताहरूको संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ।

१. मारग्रेट कोर्ट
हाल अस्ट्रेलियाको पर्थस्थित क्रिस्चियन मिनिस्टरमा बहाल रहेकी ७५ वर्षीय मारग्रेट कोर्ट टेनिस जगत्का सर्वाधिक सफल खेलाडी हुन्। सन् १९६० देखि व्यवसायिक टेनिस करियरको थालनी गरेकी मारग्रेटले १७ वर्षको खेल जीवनमा २४ वटा ग्रान्डस्लाम उपाधिमा आफ्नो नाम लेखाएकी थिइन्। उनले आफ्नो करियरमा ११ पटक अस्ट्रेलियन ओपन, समान ५–५ पटक फ्रेन्च तथा यूएस ओपन र ३ पटक विम्बलडन टेनिसको उपाधि जितेकी थिइन्।

२. सेरेना विलियम्स
सन् १९९५ मा १३ वर्षको उमेरमा व्यवसायिक टेनिसमा होमिएकी अमेरिकी टेनिस क्विन सेरेना विलियम्सले हालसम्म २३ वटा ग्रान्डस्लाम जितिसकेकी छिन्। योसँगै उनी सर्वाधिक ग्रान्डस्लाम जित्नेहरूको सूचीको दोस्रो स्थानमा छिन्। हाल गर्भवती रहेकी सेरेना पुनः कोर्टमा फर्किएमा यो संख्या अझ बढ्न सक्ने सम्भावना प्रबल रहेको छ। सन् १९९९ मा यूएस ओपनको उपाधि जितेर पहिलो ग्रान्डस्लाम आफ्नो नाममा लेखाएकी सेरेनाले यस वर्षको अस्ट्रेलियन ओपन जित्दा आफ्नो ग्रान्डस्लाम संख्या २३ पुर्याएकी हुन्। यसबीच उनले समान ७–७ पटक अस्ट्रेलियन ओपन तथा विम्बलडन, ६ पटक यूएस ओपन र ३ पटक फ्रेन्च ओपनको उपाधि उचालिसकेकी छिन्।

३. स्टेफी ग्राफ
सन् १९८२ मा व्यवसायिक टेनिसलाई अँगालेकी जर्मन टेनिस सुन्दरी स्टेफी ग्राफले आफ्नो सक्रिय करियरमा कुल २२ ग्रान्डस्लाममा आफ्नो नाम लेखाएकी छिन्। टेनिस इतिहासमा सबैभन्दा लामो अवधिसम्म टेनिस वरियताको शीर्ष स्थानमा रहेर कीर्तिमानसमेत बनाइसकेकी ४८ वर्षीय ग्राफले पहिलो ग्रान्डस्लाम सन् १९८७ मा फ्रेन्च ओपन जितेर खाता खोलेकी थिइन्। त्यसपछि सन् १९९९ मा आफ्नो खेल जीवनबाट रिटायर्ड हुनुपूर्व उनले ७ पटक विम्बलडन, ६ पटक फ्रेन्च ओपन, ५ पटक यूएस ओपन र ४ पटक अस्ट्रेलियन ओपनको उपाधि आफ्नो पोल्टामा पारेकी थिइन्।

४. रोजर फेडेरर
गत आइतबार सर्वाधिक ८औं पटक विम्बलडन टेनिस जितेर इतिहास कोरेका स्विस टेनिसस्टार रोजर फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने सूचीको चौथो स्थानमा रहेका छन्। ३५ वर्षको उमेरमा विम्बलडन जितेर प्रतियोगिताकै सबैभन्दा पाको उमेरको विजेताको परिचयसमेत बनाएका फेडेररले हालसम्म १९ ग्रान्डस्लाममा आफ्नो नाम लेखाएका छन्। पुरुष टेनिस खेलाडीहरूमध्ये ग्रान्डस्लाम जित्नेमा उनी शीर्षस्थानमा रहेका छन्। सन् १९९८ मा व्यवसायिक टेनिस खेलमा लागेका फेडेररले सन् २००३ मा पहिलोपटक विम्बलडन उपाधि कब्जा गरी करियरको पहिलो ग्रान्डस्लाम भित्राएका थिए। त्यसपछि विम्बलडन उपाधि संख्या आठ पुर्याएका फेडेररले अस्ट्रेलियन ओपन र यूएस ओपन समान ५–५ पटक जित्नुका साथै फ्रेन्च ओपनको उपाधि एक पटक चुमेका छन्।

५. हेलेन विल्स
सन् १९९८ मा ९२ वर्षको उमेरमा संसारबाट बिदा भएकी अमेरिकी महिला टेनिस खेलाडी हेलेन विल्सले पनि १९ वटा ग्रान्डस्लाम जितेकी थिइन्। सन् १९२३ मा पहिलोपटक यूएस ओपन जितेर ग्रान्डस्लामको खाता खोलेकी विल्सले विम्बलडनको उपाधि ८ पटक जितेकी थिइन्। यसै गरी यूएस ओपन ७ पटक जितेकी उनले फ्रेन्च ओपनमा ४ पटक आफ्नो नाम लेखाइएकी थिइन्। सर्वाधिक ९ पटक विम्बलडन जित्ने मार्टिना नभारातिलोभापछि उक्त उपाधि जित्ने सूचीमा विल्स दोस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्