नेपाली फुटबलको विकासमा कोकाकोला



 

फिरोज राजोपाध्याय
नेपाली फुटबल अहिले आफ्नो साख जोगाउन संघर्षरत छ। बंगबन्धु कप र साग फुटबलमा उपाधि जितेपछि नेपाली फुटबलको उचाई बढेको थियो। अझ सोलिडारिटी कप जितेपछि नेपाली फुटबलले काँचुली फेर्ने छाँटकाँट देखाएको थियो। तर, घरेलु लिगको अनिश्चितकालीन विश्रामले गर्दा जुर्मुराएको नेपाली फुटबललाई साख जोगाउन अहिले हम्मे–हम्मे भएको छ। यसको प्रमाण यूएईमा भएको एएफसी यु–२३ फुटबल प्रतियोगिता छनोट चरणमा नेपालले भोगेको पराजयलाई लिन सकिन्छ।

नेपाली युवा खेलाडीमा जोस छ, कला छ तर घरेलु लिग नहुँुदा उनीहरूले यूएईमा दुर्भाग्यवश हार बेहोरेका छन्। पहिलो खेलमा आयोजक राष्ट्र यूएईसँग नेपाल ५–० गोलअन्तरले हार्यो। पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा यूएईविरुद्ध सुधारिएको खेल देखायो। दोस्रो हाफमा नेपालले एक गोल मात्रै आत्मसात गरेको थियो। दोस्रो खेलमा भने नेपालले उज्वेकिस्तानसँग २–० को हार बेहोर्यो भने लेबनानसँग पनि सोही नतिजा आत्मसात गरेको छ। यदि घरेलु लिग भएको भए सायद नेपालले उज्वेकिस्तानलाई हराउन सक्ने पनि यो नतिजाले प्रस्ट पारेको छ।

केही समययता लिग चाँडै नै हुने कुरा खालि कुरैमा मात्र सीमित देखिएकाले हाल एन्फामाथि विश्वास गर्ने कुनै ठोस आधार पनि देखिएको छैन। एन्फाले न एउटा रंगशाला बनाउने पहल गरेको छ। न खेलाडीको क्षमता विकासका लागि कुनै स्तरीय प्रतियोगिता नै आयोजना गरिरहेको छ। विश्व खेल जगत्लाई हेर्ने हो भने कुनै पनि खेलको विकासका लागि व्यवसायीकरणलाई अनिवार्य आधार मान्न सकिन्छ। यो खेल विकासको प्राणवायुसमेत हो। पछिल्ला समयलाई हेर्ने हो भने नेपाली खेलकुदलाई पनि व्यावसायिक संघ–संस्थाहरूको साथ मिल्दै आएको छ। जसमध्ये नेपाली फुटबलको ‘ग्रासरुट’ विकासमा बोटलर्स नेपाल कम्पनी कोकाकोलाले लामो समयदेखि अग्रणी भूमिका निभाउँदै आएको छ। जुन यस पटक पनि जारी रहेको छ।

गत मंगलबार नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले एन्फा कम्प्लेक्समा कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभयो। यो राष्ट्रकै सबैभन्दा ठूलो प्रतियोगिता हो र यसलाई विद्यालयका होनहार विद्यार्थीले आफ्नो कला देखाउने प्लेटफार्म पनि भन्न सकिन्छ।

कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिता २०६२ सालदेखि थालनी भएको हो। कोकाकोलाले फुटबलको ग्रासरुट विकास हुनुमा धेरै योगदान रहेको छ। एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि बताउनुभयो– ‘कोकाकोलाको फुटबल विकास हुनुमा धेरै देन छ। फुटबलमा ग्रासरुटदेखि नै विकास गर्न आवश्यक छ। यसमा कोकाकोलालाई धन्यवाद दिन्छु।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनीले कोकाकोला र नेपाली फुटबलबीच एक दशकदेखि राम्रो सम्बन्ध रहेको बताए। उद्घाटन खेलमा डीएभी स्कुलले ड्रिमल्यान्डलाई २–० गोलअन्तरले हराएको थियो। जसमा अन्यना पराजुली र नायव हुसेनले गोल गरेका थिए।

यस वर्षको प्रतियोगितामा देसका ४४ जिल्लाबाट १५ सय विद्यालयको सहभागिता रहेका छन्। पहिलेझैं प्रतियोगिता तीन विभिन्न तहमा हुनेछन्। जिल्लास्तर, क्षेत्रीयस्तर र राष्ट्रियस्तरमा प्रतियोगिता सञ्चालन हुनेछन्। छात्र र छात्रातर्फ शीर्ष तीन टोलीले क्रमशः ३ लाख, १ लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसै गरी प्रतियोगितामा पाँच विभिन्न विधामा उत्कृष्ट हुनेलाई भने ५ हजार नगद दिइनेछ। यो रकम भने कमै देखिएको छ। गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र कोचमा उत्कृष्ट हुने खेलाडीले पाउनेछन्। प्रतियोगिताको बजेट १ करोड १५ लाख रुपियाँ रहेको छ। यसको लागि कोकाकोलाले ५० लाख नगद प्रायोजन गर्नेछ भने नेपाल सरकारबाट २० लाख नगद सहयोग गर्नेछ।

यो नेपाली फुटबलका लागि धेरै नै राम्रो सहयोग हो। यदि अन्य व्यापारिक संघ–संस्थाहरूले पनि प्रतियोगिता आयोजना गर्न अघि सरेमा नेपाली फुटबलको विकासमा एन्फाको मात्र मुख ताकेर बस्ने प्रवृत्ति हट्नेमा दुईमत नहोला।

प्रतिक्रिया दिनुहोस्