’नमस्ते, म बाख्रा गोठालो‘



 

हेटौंडा, (नेस)
‘नमस्ते, म बाख्रा गोठालो’ कतै परिचय दिनुपर्दा चित्लाङका चिज व्यवसायी अशोकसिंह ठकुरी यसै गरी भन्छन्। तर, उनको परिचय यति साँघुरो घेरामा सीमित छैन। उनले आफूलाई धेरै कुरामा अब्बल सावित गर्दै समुदायका अगुवा त बनेका छन् नै, उनी नयाँ र सिर्जनशील काम गर्न चाहनेका लागि प्रेरणाको स्रोत बनेका छन्।

फ्रान्समा लिएको चिज उत्पादन एक महिने तालिमले उनको सोचमा ल्याएको परिवर्तनका कारण नै उनी अहिले नेपालको चिज उत्पादन गर्ने एकमात्र फ्याक्ट्रीका मालिक बनेका छन्। बाख्राको चिज बेच्न ल्याएको भनी काठमाडौंका होटलमा जाँदा ‘फटाहा’ भन्दै प्रतिक्रिया जनाएको र नयाँ काम गर्न खोज्दा समुदायले समेत अविश्वास गरेको उनको अनुभव छ।

बुधबार चित्लाङ पुग्दा अर्काको काम गर्ने बिल्कुल मजदुरजस्ता देखिने उनी थुम्केडाँडामा आफ्नै धुनमा व्यस्त थिए। आफूलाई ‘बाख्रा गोठालो’ भनेर बोलाएको मन पराउने अशोककुमार सिंह ठकुरी आफूलाई चिनाउँदै आएको चिजलाई चिनाउन थप तत्पर देखिन्थे।

आफ्नो व्यवसायमा सरकारी नीति बाधक भएको भन्दै उनले धेरैलाई गुहारे पनि उनको कुरा सुन्ने कोही छैनन्। समाजमा केही नयाँ गर्न चाहने उनको अथक प्रयास जारी छ। खोरमा भएका बाख्राको बिहान र बेलुका दूध दुहुनु उनको दैनिक काममा पर्छ। दूधलाई चिस्यान केन्द्रमा ल्याएर चिज तयार गर्नुपर्ने काम पनि उनी आफैंले सम्हाल्दै आएका छन्।बाख्राको चिज भनेर धेरैलाई थाहा नभएको अवस्थामा उनले शुरु गरेको नयाँ व्यवसायकै कारण धेरैका लागि उनी उदाहरणका पात्र हुन्। तर, सधैं के गरी गर्ने भनेर सोध्न आउने तर आफूले केही नयाँ काम नगर्ने मान्छेप्रति भने यी ५४ वर्षीय मेहनती व्यवसायीलाई गहिरो वितृष्णा छ।

चित्लाङ पुग्ने जो कोही पनि उनको फ्याक्ट्री नहेरी फर्कंदैनन्। फर्किउन् पनि कसरी, उनले घरको फ्याक्ट्रीअगाडि लेखेका छन्– ‘नेपालकै पहिलो बाख्राको चिज फ्याक्ट्री।’ दैनिक दूध दुहेर चिजका लागि तयारी गर्नु अनि पुनः बिक्रीका लागि बजार पठाउनु उनको दैनिकी हो।
व्यवसाय शुरु गर्दाको क्षण कहिलेकाँही उनको मानसपटलमा झलझली आउँछ। यो बेला ठकुरी आफैंलाई आफ्नो सफलता कथाजस्तै लाग्छ रे। तर, आफ्नो सफलताको कथा धेरै सुन्ने तर आफैंले चाँहि कुनै काम नै नगर्नेप्रति भने उनी जुनसुकै बेला पनि रिस पोखिहाल्छन्। ‘धेरैलाई तालिम दिइयो’, तालिम लिने तर काम नगर्नेहरुप्रतिको उनको रिस यसरी शुरु भयो– ‘तर कसैले केही गरेनन्।’

करिब १२ वर्षदेखि आफ्नै पेसामा रमाइरहेका उनलाई आफ्नै काम गर्न भ्याईनभ्याई छ। १५ वर्षअघि फ्रान्समा २८ दिनसम्म बाख्राको दूधबाट चिज बनाउने तालिम लिएपछि जर्मनमा मासिक २ लाख ५० आम्दानी गर्ने सुवर्ण मौका छाड्दै आफ्नै देशमा मेहनत गर्ने अठोट राखेर नयाँ प्रविधिलाई स्वदेशमा भित्त्याएका उनी हाल मासिक कम्तीमा डेढ लाख सजिलै वचत गर्छन्।

कामको खोजीमा भौतारिरहेका उनलाई फ्रान्सेली नागरिकले चित्लाङबाट फ्रान्स लगेर तालिम दिएपछि आफ्नो सीपलाई स्वदेशमै प्रयोग गरेर जीवनयापन गर्ने सपना बुन्न थाले। ‘तालिम लिएपछि नयाँ उत्पादन नरुचाउने हो कि भन्ने डर थियो’, उनी भन्छन्– ‘अहिले देशकै नमुना लायक काम बनेको छ।’

आफ्नो पेसामा खुसी देखिएका अशोककुमारले २०६१ सालमा बाख्राको दूधबाट चिज उद्योगको रूपमा सञ्चालन शुरु गर्दा फ्रान्सेली नागरिकले १० लाख रुपियाँ सहयोग गरेको स्मरण गरे।

‘त्यसबेला यहाँका बासिन्दा बाख्राको दूधबाट चिज उत्पादन हुनेमा विश्वस्त थिएनन्’, उनले भने– ‘विस्तारै चिजको महत्त्व थाहा पाएपछि हाल काठमाडौंको पाँचतारे होटलदेखि धेरै जिल्लामा निर्यात गरिरहेको छु।’ बाख्राको दूधबाट कसरी चिज उत्पादन हुन्छ भन्ने जिज्ञाशा राखेर धेरै मानिस अवलोकन गर्ने आउने उनले बताए।

स्थानीय युवालाई वैदेशिक रोजगारमा नजान अनुरोध गर्ने उनलाई चिजले चिनाएको छ। कुनै समय सहकारीबाट ऋण नपुगेपछि सहयोग माग्नुपर्ने अवस्थाबाट गुज्रेको दिन सम्झँदै आफ्नो पेसालाई प्राथमिकता दिने प्रचलन शुरु नभएको चिन्ता व्यक्त गर्छन् उनी।

चिज उत्पादनका लागि उद्योग सञ्चालनमा ल्याएपछि ७ जना मजदुरले रोजगारी पाएका छन्। १ सय २० वटा बाख्रा पालेर दैनिक ३० देखि ३५ लिटर दूध खपत गर्दा ५ केजी चिज उत्पादन हुने गरेको उनले जानकारी दिए। चिजलाई सफ्ट र हार्डमा विभाजन गरेर किलोको २ हजार र ३ हजार मूल्य तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्