लोकप्रिय बन्दै बाख्रे योगा, जहाँ बाख्रासँग योगा गर्छन् मानिसहरु



स्वस्थ रहनका लागि स्वस्थ जिवनशैली तथा पोषिलो खानपान आवश्यक पर्छ । आजकलका मानिसहरु जिउलाई स्वस्थ राख्नका लागि घण्टौँसम्म व्यायाम तथा अनेकथरीका योगा गर्ने गर्दछन् ।
दुनियाँमा योगा गर्ने तरिका विभिन्न खालका छन् । हुँदाहुँदा मानिसहरुले अब योगा गर्नका लागि जनावरको समेत सहारा लिन थालेका छन् । अमेरिकामा अहिले बाख्रासँग योगा गर्न थालिएको छ, जसलाई मानिसहरु गोट(बाख्रे) योगा भन्छन् ।

अमेरिकाको ओरेगनमा पछिल्लो समयमा एउटा ट्रेण्ड चलेको छ । त्यहाँ बाख्रे योगा अर्थात् गोट योगा लोकप्रिय बनिरहेको छ । बाख्रे योगाको बारेमा सुन्दा अचम्म लाग्नसक्छ ।

योगा गरिरहेको मानिसहरुको बीचमा बाख्राहरु घुमिरहेका हुन्छन् । यति मात्र होइन बाख्राहरु योगीहरुको जिउमाथि पनि चढ्दछन् ।

यो बाख्रे योगामा भाग लिनका लागि मानिसहरु टाढा टाढाबाट योगाशालामा आउँछन् । लेनी मोर्स नामका व्यक्ति बाख्रे योगा प्रशिक्षक हुन् । उनले दिनमै कैयौँ योगा कक्षा संचालन गर्दछन् । बाख्रे योगामा सहभागी हुने मानिसहरुको संख्या बढिरहेको छ ।

विभिन्न राज्यहरुबाट आफुसँग योगा सिक्न आउने मोर्स बताउँछन् । कतिपय त योगा गर्नका लागि नभै हेर्नकै लागि पनि आउने गरेका छन् । तनाव र दुखमा परेका मानिसहरुलाई बाख्रे योगाले निकै राहत दिने गरेको अनुुभव उनको छ ।

त्यस्ता मानिसहरु बाख्रे योगा गरिसकेपछि खुसी भएर फर्किने गरेका उनको दाबी छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्