नेप्से जेठ २५ यताकै उच्च



 

नेपाल समाचारपत्र
काठमाडौं
नयाँ आर्थिक वर्षको शुरूआतसँगै शेयर बजार परिसुचकमा क्रमशः सुधार आएको छ। आर्थिक वर्ष २०७४⁄७५ को पहिलो कारोबार भएको दिन आइतबार शून्य दशमलव ९ अंकले बढेको शेयर बजारमा सोमबार पनि २० दशमलव ५८ अंकले बढेको हो।

वृद्धिसँगै बजार परिसूचक सोमबार जेठ २५ यताकै उच्च विन्दुमा पुगेको छ। सोमबार बजारले १६ सय अंक छुँदा कारोबारमा आएका सबै समूहका परिसूचकमा सुधार आए। सोमबार १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दुबाट शुरू भएको बजार कारोबार अवधिभर सकारात्मक देखियो।
नेप्सेले छलाङ मार्दा सोमबारको कारोबार रकम भने हल्का मात्र बढेको छ।

सोमबार बजारमा १ सय ५४ कम्पनीका २० लाख १२ हजार ४ सय १५ कित्ता शेयर ६९ करोड ४३ लाख ६९ हजार ४ सय ३५ रुपियाँमा कारोबार भए। कारोबार अघिल्लो दिनभन्दा १ करँेड ३१ लाख बढी हो। आइतबार बजारमा ६८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएका सबै समूहका परिसूचक बढेपछि बजारको समग्र परिसूचक १ हजार ६ सय ४ दशमलव १५ अंकमा पुगेर रोकियो। सोमबार सबैभन्दा धेरै बीमा क्षेत्रको परिसूचक ९५ दशमलव ३५ अंकले बढेको छ। त्यस्तै विकास बैंक, उत्पादनमूलक समूहमा पनि क्रमशः २९ दशमलव ५७ र २७ दशमलव शून्य ४ अंकका सुधार आए। त्यस्तै अन्य समूहका परिसूचकमा पनि १ दशमलव १६ अंकको सुधार आयो।

यस्तै सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४ अंकले बढेर ३ सय ४० दशमलव ७७ को बिन्दुमा पुगेको छ। सोमबार सबैभन्दा धेरै कारोबार फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको भयो। कम्पनीका शेयर ४ करोड ८९ लाख ३ हजार ४ सय ६६ रुपियाँमा कारोबार भए। त्यस्तै कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुबेर मर्चेन्ट बित्तीय संस्थाका संस्थापक शेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

सोमबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीका शेयरधनीले कमाएका छन्। कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। दोस्रोमा नेसनल माइक्रोफाइनान्सको ८ दशमलव १४ र तेस्रोमा फर्वार्ड माइक्रोफाइनान्सको ७ दशमलव ४ प्रतिशतले शेयर मुल्य बढेको छ। त्यस्तै कुबेर मर्चेन्ट बित्तीय संस्थाका संस्थापक शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत गुमाए। आर्थिक वर्षको समाप्तिसँगै चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गर्ने समय नजिकिँदै गर्दा लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीमा आकर्षित हुँदा समग्र बजार बढेको हो।

प्रतिक्रिया दिनुहोस्