विम्बलडन टेनिसका केही रोचक कुरा



 

लन्डन, (एजेन्सी)
अहिले लन्डनमा ३ करोड १६ लाख पाउन्ड स्टर्लिङ नगद पुरस्कार राशी रहेको विम्बल्डन टेनिस प्रतियोगिता चलिरहेको रहेको छ। जारी प्रतियोगिताले केही रोचक घटनाक्रमका कारण चर्चा पनि बटुलिरहेको छ। विम्बलडन विश्वकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो। यसको इतिहास १ सय ४० वर्ष पुरानो छ। सन् १८७७ मा अल इंग्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलोपटक खेलिएको यस प्रतियोगिताको यो १ सय ३१औं संस्करण अहिले लन्डनमा जारी रहेको हो। साधारणतया विम्बलडन भन्नासाथ हामी टेनिसलाई सम्झिने गर्छौं। तर, यो नाम दक्षिण पूर्वी लन्डनको एउटा जिल्ला हो। प्रतियोगिता यही स्थानमा हुने गरेकाले ठाउँको नामबाट नै प्रतियोगिताको नामाकरण गरिएको हो।

विम्बलडन हाल विश्व टेनिसमा रहेको चार ग्रान्डस्लाममध्येको एउटा हो। सन् १९८८ मा अस्ट्रेलियन ओपनले हार्डकोर्ट रोजेपछि अहिले विम्बलडन घाँसेकोर्टमा खेलिने एक मात्र ग्रान्डस्लाम टेनिस प्रतियोगिता बनेको छ। वार्षिकरूपमा जुनको अन्तिम साताबाट शुरु भएर जुलाईसम्म दुई साता चल्ने यस प्रतियोगितामा प्रतिस्पर्धीहरुले तोकिएको कपडा मात्र लगाउन पाउने नियम रहेको छ। टेलिभिजनमार्फत् प्रसारण हुने यो पहिलो ग्रान्डस्लाम प्रतियोगितासमेत हो। सन् १९३७ मा यो प्रतियोगितालाई पहिलोपटक बीबीसीले टेलिभिजनमार्फत् प्रसारण गरेको थियो।

अहिले खेलमा प्रायोजनको युग हो। कुनै पनि खेलकुद गतिविधिका लागि यो प्रायोजनलाई मेरुदण्डको रूपमा लिइन्छ। तर, सुन्दा अचम्म लाग्न सक्छ, विम्बल्डन यस्तो प्रतियोगितामा हो जसमा प्रायोजन पूर्णरूपमा निषेधित रहँदै आएको छ। यो खेलाडीका साथसाथै बल ब्याइज र गल्र्सका कारण पनि रोचक प्रतियोगिता बनेको छ। खेलका क्रममा बल उपलब्ध गराउने बल ब्वाइज र गल्र्सहरु लन्डनको स्थानीय विद्यालयबाट ल्याउने गरिन्छ। जसका लागि विद्यार्थीलाई प्रधानाध्यापकले चुन्ने गर्छन्। यसका लागि विद्यार्थीले शारीरिक तथा लिखित परीक्षा दिने प्रावधानसमेत रहेको छ। औसतमा १५ वर्षका विद्यार्थीहरु बल ब्याईज र गल्र्स हुने गरेका छन्।

प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्नेहरुमा तीन जना खेलाडी रहेका छन्। विलियम रेनस, पिट साम्प्रास र रोजर फेडेररले समान तीन–तीन पटक यस प्रतियोगिताको उपाधि उचालेका छन्। यस्तै महिला एकलतर्फ मार्टिना नभ्रातिलोभाले सर्वाधिक ९ पटक उपाधि जितेका छन्। सन् २०१३ र २०१६ मा गरी दुई पटक पुरुष सिंगल्सतर्फ उपाधि जित्ने एन्डी मर्रे पहिलो ब्रिटिस खेलाडी हुन्। यस्तै महिला एकलतर्फ सन् १९७७ मा एक पटक मात्र उपाधि चुम्ने भर्जिनिया वाडे एकमात्र ब्रिटिस खेलाडी बनेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्