दीर्घकालीन हित हेर



 

केही दिनयता राजधानीमा ट्राफिक जामको कारण सर्वसाधारण हैरान भएका देखिन्छन् । किन यस्तो भएको भनेर कसैले सोध्यो भने त्यसको रेडिमेड जवाफ सुनिन्छ– मुग्लिन–नारायणगढ सडकमा आएको पहिरोले गर्दा यस्तो भएको हो ।
मुग्लिनको सडकमा कहिले पहिरो आउन नछोड्ने हो र राजधानीबासीले कहिलेसम्म जामको समस्या व्यहोर्नुपर्ने हो त्यो अझै प्रस्ट भइसकेको छैन । हरेक वर्षायाममा त्यस ठाउँमा पहिरो जाने गरेको पाइन्छ । बनाएजस्तो पनि गरिन्छ फेरी अर्को वर्षा आउने बेलामा पुरानै समस्या सिर्जना हुने गरेको छ । आखिर यो क्रमले कहिलेसम्म निरन्तरता पाउने त ? यो प्रश्नको जवाफ दिन कोही तयार छैन मात्रै होइन जवाफ दिनुपर्ला भनेर भाग्ने धेरै पाइन्छन् ।

मुग्लिन–नारायणगढ सडक भनेको राजधानी काठमाडौंको लाइफलाइन हो भन्दा पनि अतिशयोक्ति हुँदैन । तर, यसैमा हरेक पटक हेलचेक्र्याइँ हुने गरेको छ र वर्षेनि कैयौं होनहार नेपालीले ज्यान गुमाउनु परिरहेको छ । त्यसलाई, भरपर्दो र सुरक्षित बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपाय नअपनाइएका कारणले नै यो अवस्था सिर्जना भएको हो ।

त्यसको मार अहिले राजधानीबासीले पनि खेप्नुपरिरहेको छ । उपत्यकाबासीलाई काठमाडौंका सडकमा टेक्ने बित्तिकै सडक जाममा पर्नु दैनिकी जस्तै बनेको छ । काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टाअगावै हिँड्नुपर्ने बाध्यता भइरहेको छ । उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैरानी खेप्नुपरेको हो ।
मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि साना सवारीहरू बीपी राजमार्ग र बल्खु–दक्षिणकाली हुँदै आवत–जावत गर्दा उपत्यकामा सवारी चाप उत्पन्न भई जाम देखिएको हो । नेतृत्वदायी भूमिका निर्वाह गर्नेले राजनीति मात्रै जान्यौं विकास निर्माणका कार्य कसरी दीर्घकालीन हितअनुरूप गर्ने भन्ने कुरा जानेनौं । यसको परिणाम अहिले सर्वसाधारणले भोग्नु परिरहेको छ ।

उपत्यकामा मात्रै दैनिक साना–ठूला गरी १० लाखको हारहारीमा सवारीसाधन गुड्छन् । ५० लाख मानिसको बसोबास गरेको अनुमान गरिएको काठमाडौंमा झण्डै १५ देखि २५ लाखको हाराहारीमा मानिस दैनिकरूपमा आवत–जावत गर्दछन् । तर, जामका कारण अहिले राजधानीबासीले निसासिएको महसुस गर्नु परिरहेको छ । यो अवस्थाको दीर्घकालीन समाधानका लागि चाँडोभन्दा चाँडो सरकारी निकाय लाग्नु जरुरी रहेको छ । नत्र आगामी दिनमा झनै भयावह अवस्था नआउला भन्न सकिँदैन । मुग्लिन–नारायणगढ सडकको समस्यामा आँखामा छारो हाल्ने काम मात्रै नगरी दीर्घकालीन हिसाबले निर्माण अघि बढाउनुपर्दछ र राजधानीको हकमा पनि दीर्घकालीन उपाय अवलम्बन गर्नु नितान्त जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्