वुद्धवीर बने पहिलो बीमित



 

रोशन पराजुली, हेटौंडा
मकवानपुरमा स्वास्थ्य बिमा शुरू भएको छ। बिहीबार मनहरी गाउँपालिकामा गाउँपालिका अध्यक्ष एकराज उप्रेती र क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. वासुदेव पाण्डेले संयुक्तरूपमा बिमा परिचयपत्र वितरण गरी स्वास्थ्य बिमा शुरू गरेका हुन्।

मनहरी गाउँपालिका–८ का ५४ वर्षीय वुद्धबीर गहतराजको मकवानपुरमा पहिलो स्वास्थ्य बिमा गरिएको हो। आर्थिक अभावका कारण उपचार गर्न समस्या भएपछि उनले पत्नी गुमाएका थिए। उनी आफू पनि रोगले ग्रसित भएपछि समस्यामा पर्दै आएका थिए। क्षेत्रीय स्वास्थ्य निर्देशक डा. पाण्डेले सरकारले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी ल्याएको कार्यक्रममा सहभागी हुन आग्रह गरे। उनले आगामी दिनमा कार्यक्रमको परिमाण ठूलो हुँदै जाने बताए।
गाउँपालिका अध्यक्ष उप्रेतीले सामान्य व्यक्ति बिरामी हुँदा आर्थिक अभावमा गाउँपालिका कार्यालयबाट आर्थिक सहयोगका लागि अनुरोध गरी चिठी लेख्नुपर्ने बाध्यता रहेको सुनाए। उनले बिमा कार्यक्रमबाट त्यस्तो चिठी लेख्नुपर्ने बाध्यताबाट मुक्ति पाइने बताए।

पहिलो बीमित गहतराजका निम्ति उप्रेतीले २ हजार ५ सय रुपियाँ सहयोग गरेका थिए। बिमा कार्यक्रमअन्तर्गत सरकारले ४ जनासम्मको परिवारका लागि २ हजार ५ सय रुपियाँमा वार्षिक बिमा गर्ने नीति ल्याएको हो। ५ जनाभन्दा बढी परिवार संख्याका भए थप रकम तिरेर बिमा गर्न सकिने जनाइएको छ। बीमित व्यक्ति बिरामी भएमा ५० हजार रुपियाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने नीति छ।

प्रतिक्रिया दिनुहोस्