चार बलात्कारी कारागार चलान



 

लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरीको औरही गाउँपालिका–२ फूलबारीयाकी २० वर्षीया सौन्दर्यकर्मी (ब्युटिसियन) लाई जेठ २८ गते बलात्कार गरी फरार रहेका चार जना बलात्कारीलाई प्रहरीले पक्राउ गरी उनीहरूलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने वर्ष २६ को सुनील साह, वर्ष २० को अनिकेत यादव, सोही ठाउँ बस्ने वर्ष २१ को रमेश पञ्जियार तथा वर्ष २० को सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
सौन्दर्य व्यवसायी राधा (नाम परिवर्तित) लाई जेठ २८ गते पसल बन्द गरी घर जाने क्रममा औरहीदेखि फूलबारीया गाउँतर्फ जाने बाटोसँगको खेतमा बाटो ढुकेर बसेका बलात्कारीहरूले सामूहिक बलात्कार गरेकाले उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

जिल्लाको औरही गाउँपालिकाको वडा नं. २ मा जेठ २८ गते एक सौन्दर्यकर्मीलाई बलात्कार गरी फरार रहेका औरही–२ बस्ने वर्ष २६ को सुनील साहलाई सोही दिन पक्राउ गरी उमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरेर कारबाही शुरू गरेको थियो भने बाँकी तीन जनालाई उसको बयानको आधारमा तथा खोजतलासको क्रममा एक साताभित्र पक्राउ गरी उनीहरूमाथि प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेस गरेकोमा न्यायाधीश दीपकराज पन्थले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्