इक्यानको वृहत शैक्षिक मेला साउनमा



नेपाल शैक्षिक परामर्श संघ इक्यानले यही साउन ५ देखि ८ गतेसम्म एघारौं इक्यान बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ।

विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्ये राखी शैक्षिक मेला आयोजना गर्न लागेको हो।

शैक्षिक मेलाको अधिकांश स्टल तथा पेभिलियनहरु बिक्री भइसकेका छन्। यस शैक्षिक मेलामा २ सय ३३ स्टलहरु तथा १७ वटा पेभेलियनहरु (ठुला स्टलहरु) रहने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

संघका कार्यवाहक अध्यक्ष विष्णुहरि पाण्डेले शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका– २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त मेलामा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, अभिभावक संघ नेपाल, ब्रिटिस काउन्सिल, आईडीपी एजुकेसन नेपाल, शिक्षा पत्रकार सञ्जाल, नेपाल फोटो पत्रकार समूहसमेतको सहकार्यमा मेला आयोजना गरिएको कावा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। मेलामा एक लाखभन्दा बढी महानुभावहरुले अवलोकन गर्नुहुने अपेक्षा गरिएको छ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनलन्ड, मलेसिया, जर्मन, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागीता हुनेछ। मेला अवधीभर चारैदिन रक्तदान कार्यक्रम गरिने भएको छ।

यस मेलाको स्पोन्सरका रुपमा अरिना इन्टरनेसनल एजुकेसन सर्भिसेज ,बाबा एजुकेसन कन्सल्टेन्सि, कङ्गारु एजुकेसन फाउन्डेसन ,गोल्डेन गेट इन्टरनेसनल एजुकेसन, फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सि, इन्लाइटिन इन्टरनेसनल एजुकेसन आइसकेका छन् भने अन्य प्रायोजन गर्ने कम्पनीहरुको नाम आउने क्रम जारी छ।

कावा अध्यक्ष पाण्डेले बृहत शैक्षिक मेला वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुका लागि निकै उत्सुकताको विषय त रहन्छ नै, त्यसमा पनि शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहनसहन, हावापानी, वातावरण, कलेज एवमं देशअनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो यो मेला हुने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्