जी–२० शिखर सम्मेलन,आतंकवादको कडा निन्दा, यसको विरुद्ध मिलेर काम गर्न सहमत



सिरिया संघर्ष विराममा सहमति

ह्याम्वर्ग, (एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको पहिलो भेटवार्तामा सिरियालाई लिएर दुई देशबीच संघर्ष विरामको सहमति भएको छ।

दक्षिण पश्चिम सिरियामा संघर्ष विराम आइतबारदेखि लागु हुनेछ। यस सम्झौतानमा जोर्डन पनि संलग्न रहेको छ।

जर्मनीको ह्याम्वर्ग शहरमा भइरहेको जी–२० शिखर सम्मेलनको पहिलो दिन राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघात भयो। राष्ट्रपति बनेपछि ट्रम्प र पुटिनबीचको यो पहिलो भेटघात थियो। अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएको विवादमा ट्रम्प घरेलु राजनीतिमा निसाना बनिरहेको छ। दुई नेताबीचको बेठकमा रुसी ह्याकिङको विषयमा पनि चर्चा भयो।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले ह्याकिङ मामिलामा पुटिनले रुसको संलग्नता नभएको बताएको र त्यसलाई ट्रम्पले स्वीकारेको जानकारी दिए। दुई नेताबीच सिरिया, कट्टरपन्थ तथा साइबर सुरक्षा जस्ता मुद्दामा निर्धारित समयभन्दा लामो समय बैठक चलेको थियो।

अमेरिकी विदेशमन्त्रीले दुई नेताबीचको वार्ताको शुरूबाट अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको विवादबाट शुरू भएको बताए। राष्ट्रपति पुटिनले यसमा संलग्न रहेको समाचारको खण्डन गरे, जस्तो उनले पहिल्यै गरिसकेका थिए।

जी–२० शिखर सम्मेलनको पहिलो दिन जर्मनी चान्सलर एन्जेला मर्केलले सम्मेलनको अन्तिम घोषणा अगाडि अझै थुप्रै मुद्दामा सहमति बन्न बाँकी रहेको बताएकी थिइन्।
उनले सम्मेलनका क्रममा ह्याम्वर्गमा भएको हिंसात्मक प्रदर्शनको पनि निन्दा गरिन्।

यस शिखर सम्मेलनलाई लिएर बिहीबारदेखि नै ह्याम्वर्गमा पुँजीवादको विरोधमा प्रदर्शन भइरहेका छन्। सम्मेलनको पूर्वसन्ध्यामा र पहिलो दिन प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भए।
दुई दिवशीय शिखर सम्मेलनको अन्तिमदिन जल वायु परिवर्तन र व्यापारको मुद्दामा चर्चा हुने जनाइएको छ।

शुक्रबार पहिलो दिनको शिखर बैठकमा आतंकवादको मुद्दामा छलफल भयो। बैठकको अन्त्यमा जारी गरिएको संयुक्त विज्ञप्तिमा सबै नेताहरूले सर्वसम्मतबाट आतंकवादको कडा निन्दा गरेको छ र यसको विरुद्ध एकजुट भएर लड्न जोड दिएको छ। विश्वको कुनै पनि ठाउँबाट आतंककारीको आश्रयस्थल अन्त्य हुनुपर्नेमा सबैले जोड दिएका छन्।

आतंकवादको अन्त्य उनीहरूका लागि सुरक्षित आश्रय र मद्दतकाका लागि पाउने पैसा नपाएपछि मात्र सम्भव हुने नेताहरूले बताएका छन्। बैठकमा आतंकवादसँग जोडिएका जानकारी साझा गर्ने २१ वटा बुँदामा मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ।

वार्ता थप एक घण्टा लम्बियो
जर्मनीमा भइरहेको विश्वका प्रमुख अथतन्त्रहरूको समूह जी–२० को शिखर सम्मेलनका क्रममा पहिलोपटक भेटेका दुई शिर्ष नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब १ घण्टा बढी समय वार्ता भयो। अन्ततः उनीहरूको भेटवार्ता रोक्नका लागि ट्रम्पकी पत्नी मेलानियालाई पठाउनुपरेको जनाइएको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले दुई नेताबीचको केमिस्ट्री अत्यन्त राम्रो भएकाले कुराकानी रोक्न नै चाहेनन्। उनीहरूको वार्ताका लागि तय गरिएको समय पनि बितिसकेको थियो।

कुनै काम नभएकाले बैठकका लागि उनीहरूलाई थप एक घण्टा समय दिइयो। सबै गरेर उनीहरूले दुई घण्टा वार्ता गरेको टिलर्सनले पत्रकारहरूलाई जानकारी दिएको एनबीसीले जनाएको छ।

पत्रकार सम्मेलनपछि सीएनएनका प्रमुख राष्ट्रिय सुरक्षा संवाददाता जिम स्क्यिुटोले ट्रम्प र पुटिन वार्तालापको भिडियो सँगै ट्विट गरे। उनले क्याप्सनमा लेखे– ‘यिनीहरू (ट्रम्प र पुटिन) त्यही हुन् जसले तपाईंको अपमान गरिरहेका छन्।’

होटलमै बस्न बाध्य

ह्याम्वर्गमा जी–२० को शिखर बैठकको विरोध प्रदर्शनलाई ध्यानमा राखी मेलानिया शुक्रबार दिनभरि होटलमै बस्न बाध्य भइन्। मेलानिया र सहभागी विश्व नेताका पत्नीहरूलाई शहरको विभिन्न कार्यक्रममा सहभागी हुनु थियो, तर प्रदर्शनका कारण यो सम्भव भएन।

ट्रम्पका प्रवक्ता स्टेफनी ग्रिसमले भने– ‘ह्याम्वर्ग प्रहरीले हामीलाई होटलबाट बाहिर आउन अनुमति नै दिएन।’

प्रतिक्रिया दिनुहोस्