सम्मेलनपूर्व प्रदर्शनकारी र प्रहरीबीच झडप



ह्याम्बर्ग, (एजेन्सी)
जर्मनीको ह्याम्बर्ग शहरमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनका क्रममा कालो पहिरन लगाएका करिब १ हजार प्रदर्शनकारीले आफ्नो मुखुन्डो हटाउन अस्वीकार गरेकोले कारवाही गर्नुपरेको प्रहरीले बताए। प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहरा र खुर्सानीको धुलो प्रहार गरेको र प्रदर्शनकारीले उनीहरूमाथि बोतल र ढुंगा तथा अन्य बस्तुले प्रहार गरेको जनाएको छ। प्रदर्शनकारीले कम्तिमा एउटा सवारी साधनमा आगो लगाएको र तोडफोड गरेका थिए।

शिखर सम्मेलनको सुरक्षाका लागि २५ हजार प्रहरी तैनाथ गरिएको छ। प्रदर्शनकारीलाई सम्मेलन स्थल जानबाट रोक्न प्रहरीले शहरको मुख्य इलाकामा सुरक्षा घेरा बनाएका छन्। सम्मेलनका क्रममा ह्याम्बर्गमा १ लाखको संख्यामा प्रदर्शनकारी पुग्न सक्ने अनुमान गरिएको छ।

ह्याम्बर्गमा शुक्रबार दिनभरिजस्तो शिखर सम्मेलनको विरोधमा शान्तिपूर्ण प्रदर्शन भइरहे। सिखर सम्मेलनमा सहभागी हुन भेला भएका जी २० नेताहरूबीच धेरै मुद्दामा मतभेद रहेको छ। जसमा जलवायु परिवर्तन र ब्यापार जस्ता मुद्दा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड सम्मेलनपूर्व जर्मन चान्सलर एन्जेला मर्केलसँग भेटवार्ता भएको छ। दुई नेताबीच भएको १ घण्टा लामो वार्तामा उत्तर कोरिया, मध्यपूर्व, युक्रेन संघर्ष र जी २० सँग सम्बन्धित मुद्दामा छलफल भएको जर्मन सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

एन्जेला मर्केलले गत हप्ता जी २० मा पेरिस जलवायु सन्धीको चर्चा केन्द्रमा रहने बताएकी थिइन्। उक्त सन्धिबाट अमेरिका बाहिरिसकेको छ।

‘सम्मेलनमा पहिलोपटक ट्रम्पसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट हुनेछ। ट्रम्पले यसअघि पोल्यान्डमा एक भाषणमा रुसको आलोचना गर्दै उसलाई जिम्मेवार देशको समुदायमा सहभागी हुन आग्रह गरेका थिए।

ट्रम्पले रुसलाई युक्रेन र अन्य स्थानहरूमा अस्थिरता ल्याउने खालको आफ्ना गतिविधिहरू र सिरिया तथा इरानजस्ता शत्रू शासकलाई सहयोग बन्द गर्न भनेका थिए।

तर रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोवले रुस त्यस क्षेत्रमा अस्थिरताका लागि जिम्मेवार भएको कुरा रुसी राष्ट्रपतिलाई स्विकार्य नभएको बताए। यही कारणले हामी दुई राष्ट्रपतिबीच हुन लागेको पहिलो भेटघातको प्रतिक्षा गरिरहेका छौं’ –प्रवक्ताले भने।

प्रतिक्रिया दिनुहोस्