हामीले उदाहरणीय तथा चुनौतिपूर्ण स्किम ल्याएका छौं



सुवास खतिवडा
ब्रान्ड एन्ड प्रोमोसन हेड
युनाइटेड सिमेन्ट प्रालि

नेपाली सिमेन्ट उद्योगले पछिल्लो समय अधिकांश आन्तरिक माग धान्न थालेको छ। भूकम्पपछि पुनर्निर्माण र नवनिर्माणका कारण अहिले बजारमा सिमेन्टको माग पनि उच्च छ।तर, वर्षायामको बेला अहिले औसतभन्दा सिमेन्टको माग केही कमी हुने गरेको छ। आफ्नै चुनढुंगाबाट क्लिंकर उत्पादन गरी उच्चतम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने युनाइटेड सिमेन्टस्मा अहिले सुवास खतिवडा ब्रान्ड एन्ड प्रोमोसन हेडका रूपमा कार्यरत हुनुहन्छ। प्रस्तुत छ युनाइटेड सिमेन्ट र समग्र नेपाली सिमेन्ट उद्योगका बारेमा केन्द्रित रही नेपाल समाचारपत्रका लागि हेमन्त जोशीले उहाँसँग गरेको कुराकानी।

युनाइटेड सिमेन्टस्का बारेमा छोटकरीमा बताई दिनुहोस् न ?

युनाइटेड सिमेन्टस् केएल दुगड गु्रपको उत्पादन हो। युनाइटेड सिमेन्टस्को आफ्नै चुनढुंगा खानी छ। यस कम्पनीको इन्ट्रिग्रेटेड युनिटले त्यहाँबाट कच्चा पदार्थको उत्खनन् गरी क्लिंकर उत्पादन गर्ने काम गर्छ। कम्पनीको आफ्नै चुनढुंगा खानी भएको र आफैँले क्लिंकर उत्पादन गर्ने भएकाले यसको काम एकीकृत काम हो। ललितपुरको लेलेबाट चुनढुंगा उत्खनन् गर्ने युनाइटेड सिमेन्टस्को उद्योग भने धादिङको नौबिसेमा स्थापित छ। हाम्रो आफ्नै चुनढुंगा खानी भएको कारणले क्लिंकरको ग्रेडमा एकरूपता छ र सोही ग्रेडअनुसार नै सिमेन्टकोे उत्कृष्ट गुणस्तर निर्धारण हुन्छ। सिमेन्टको गुणस्तर क्लिंकरको गुणस्तरमा भर पर्छ भने क्लिंकरको गुणस्तर चुनढुंगामा भर पर्छ। आफ्नै चुनढुंगा खानी भएको कारणले हामीसँग स्रोतमै गुणस्तर नियन्त्र संयन्त्र अपनाएका छौँ। यसले गर्दा उत्पादित सिमेन्टको गुणस्तर पनि राम्रो हुन्छ। अधिकांश कम्पनीले क्लिंकरलाई ग्राइन्डिङ गरेर मात्रै बजारमा पठाउने काम गर्ने अवस्थामा हामी उनीहरूको तुलनामा भिन्न छौं।

आयातित क्लिंकर र स्वदेशीको चुनढुंगाबाट उत्पादित क्लिंकरको गुणस्तरमा कतिको फरक छ ?

फरक त पक्कै पनि छ। क्लिंकर भनेको सेमी फिनिस्ड उत्पादन हो। यसलाई पनि मोइस्चरलगायत सबै कुराबाट बचाउनुपर्ने हुन्छ। क्लिंकर आयातको क्रममा पनि विभिन्न कुराले असर पारेको हुन्छ। आयात गर्दा विदेशबाट ल्याइएको क्लिंकर पनि एउटै फ्याक्ट्रीमा उत्पादन भएको क्लिंकर हुँदैन। विभिन्न ठाँउबाट ल्याइएको चुनढुंगा र विभिन्न फ्याक्ट्रीबाट उत्पादित क्लिंकरमा एकरूपता नहुने हुँदा गुणस्तरमा पनि केही फरक पर्दछ। कहिलकाहीँ के पनि हुन्छ भने केही मात्राको क्लिंकर उच्च गुणस्तरको र केही क्लिंकर न्यून गुणस्तरको एकै ठाँउमा पर्ने हुँदा उत्पादनमा एकरूपता नै हुँदैन। हाम्रोमा के हुन्छ भने एउटै खानीको चुनढुंगा भएको कारणले क्लिंकरको गुणस्तरमा पनि एकरूपता छ।

सिमेन्ट उद्योगको बजारको अवस्था कस्तो छ ?

सिमेन्ट बजारमा एकदमै माग भएको औद्योगिक उत्पादन हो। यसका विभिन्न कारण छन्। तीमध्ये भुँइचालो एक हो। भुँइचालो पछि विभिन्न संरचनाको पुनर्निर्माणमाका काम भइरहेकोले सिमेन्टको माग बढेको छ। त्यस्तै नेपाल अझै पनि विकासशील अवस्थामा रहेकोले यहाँ संरचनाको निर्माण दु्रतगतिमा चलेका छन्। यीनै कारणले कारणले पनि सिमेन्टको बजार माग उच्च देखिएको हो। सिमेन्ट माग उच्च रहे पनि आपूर्तिमा भने हामीले धान्न सकेका छैनौँ। युनाइटेड सिमेन्टस्को दैनिक उत्पादन क्षमता २१ हजार बोरा भए पनि हामी औसतरूपमा १९ देखि २० हजार बोरा सिमेन्ट दैनिक उत्पादन गरेर बजारमा पठाइरहेका छौँ।

युनाइटेड सिमेन्टको लक्षित बजार कुन क्षेत्र हो ?

काठमाडौं नजिक फ्याक्ट्री भएको कारणले नजिकको बजार नै हाम्रो प्राथमिकतामा छ। किनभने टाढाको बजारमा उत्पादन पु¥याउन यातायात लागत खर्च बढ्ने भएकाले केही महँगो पर्न जान्छ। त्यस अर्थमा हाम्रो बजार भनेको काठमाडौं उपत्यकालगायत बागमती अञ्चलका जिल्ला नै हुन्। त्यसलगायत नारायणघाट र पोखरा लगायतका पृथ्वी राजमार्गका मुख्य क्षेत्र पनि हाम्रो बजारका क्षेत्र रहेका छन्।

उत्पादन क्षमता र बजार बिस्तारबारे तपाईंहरूको के कस्ता योजना रहेका छन् ?

तुरुन्तै उत्पादन क्षमता बढाउने हाम्रो कुनै योजना छैन। बजार माग धान्न दीर्घकालीन रूपमा त बढाउनैपर्ने हुन्छ। हामीले अहिले पूर्ण क्षमतामा नै उत्पादन गरिरहेका छौँ। यसको अर्थ हाम्रो बजार पनि राम्रै छ। अब हामीले बजार माग नै धान्न नसक्ने अवस्थामा आइपुगे उत्पादन क्षमता बढाउँदै लग्ने छौं।

वर्षा शुरू भईसकेपछि संरचना निर्माणमा पनि कमी आउने र बजारको माग घट्ने गर्छ। अहिले बजार मागको अवस्था चाहीँ कस्तो छ ?

पक्कै पनि सिजनले बजार मागमा असर गरेको हुन्छ। सामान्यतया ओपीसी सिमेन्टमा पिलर, बिम, ढलान निर्माणमा बढी प्रयोग हुने कारणले असर त गर्छ नै। माघदेखि जेठसम्म संरचना निर्माणका लागि अनुकुल समय मानिने र असार लागिसकेपछि कम हुँदै जान्छ। तर, अहिले अफ सिजन लागे तापनि हामीले पूर्ण क्षमतामै उत्पादन र बिक्री वितरण गरिरहेका छौं। उत्पादित वस्तु सबै बजारमा गई नै रहको छ। सिजनको बेला बजार माग एकदमै बढी हुन्छ जुन हामीले पूर्ति गर्न पनि सकिरहेका हुँदैनौँ तर अहिले माग र उत्पादन सन्तुलित नै छ। ओपीसी सिमेन्टमा क्लिंकरको मात्रा बढी प्रयोग हुने हुनाले महँगो पनि पर्न जान्छ।

त्यसमा पनि ओपीसी र पीपीसी सिमेन्टमा सिजनले अलिकति फरक पार्छ। सामान्य मानिसको बुझाईमा पिलर, बिम, ढलानमा ओपीसी र फ्लोरिङ र प्लास्टर जस्ता काममा पीपीसी सिमेन्ट प्रयोग गरिन्छ।

युनाइटेड सिमेन्टस्ले बजार प्रवद्र्धनमा लागि नयाँ स्किम ल्याएको सुनिन्छ। कस्तो स्किम हो त्यो ?

अहिले हामीले ग्राहकलाई हरेक १५ बोरा युनाइटेड सिमेन्टस्को खरिदमा १ बोरा सिमेन्ट सित्तैमा दिइरहेका छौँ। सिमेन्टको बजारमा यो स्किम धेरै ठूलो हो। यसले करोडौँमा असर गर्छ। त्यसै पनि सिमेन्ट कम्पनीले उत्पादन लागत र बजार मूल्यमा ठूलो मार्जिन राखेको हुँदैन। भोल्युममा बिक्री हुने भएका कारणले र मार्जिक कम हुने कारणले यो पन्ध्रमा एक भनेको आफैँमा उदाहरणीय तथा चुनौतिपूर्ण स्किम हो।

तर यस्ता स्किम बजार प्रवद्र्धनसँगै स्टक क्लियरेन्सका लागि पनि ल्याइन्छ भन्ने गरिन्छ नि ?

यो उत्पादनमा भर पर्छ। सिमेन्ट उत्पादनको क्षेत्रमा स्टक कम हुन्छ। हाम्रो भण्डारण कक्षमा ३÷४ दिनका लागि मात्र भण्डारण रहन्छ। यस अर्थमा पनि हाम्रो स्किम स्कट क्लियरेन्सका लागि होइन बजार प्रवद्र्धन र विस्तार गर्ने उद्देश्यले ल्याइएको हो। प्रवद्र्धनसँगै ग्राहकले केही राहत पनि पाएका छन्। युनाइटेड सिमेन्टस्को उत्पादन शुरू भएको १ वर्षजति भएको छ र बजारमा नयाँ पनि हौँ। तर पनि सेल्स भोल्युम हेर्दा हामी बजारमा प्रतिस्पर्धी नै मानिन्छौँ।

भूकम्पपछि संरचना निर्माणमा अझै पनि ग्रामीण भेगमा न्यून आर्थिक अवस्था भएका र ठूलो मात्रामा सिमेन्ट खरिद गर्न नसक्ने अवस्थामा युनाइटेड सिमेन्टस्ले ग्रामीण क्षेत्रका बासिन्दालाई कसरी समेट्छ ?

हाम्रो लक्षित बजार भनेकै बाग्मती अञ्चलका प्रायः सबै जिल्ला हुन्। तसर्थ, हाम्रो सिमेन्ट जाने बजार भनेकै भूकम्पले प्रभावित जिल्ला हुन्। हाम्रो अरू स्किममा सामान्यतया ढलान कार्यका लागि लाग्ने परिणामको सिमेन्ट खरिदमा ५ देखि ६ बोरा सिमेन्ट ग्राहकले सित्तैमा पाउँछन्।

उत्पादनकै चरणमा आईपर्ने समस्या र उत्पादित सिमेन्टले बजार नपाउने समस्या छ कि छैन ?

उत्पादनको चरणमा हाम्रो मुख्य समस्या भनेको विद्युत् आपूर्तिमा देखिने समस्या हो। अहिले त्यो पनि बिस्तारै हट्दै गएका कारण त्यस्तो समस्या अहिले कम छ। उत्पादनपछि बजार नपाउने भन्ने समस्याहरू त्यति साह्रो छैनन्। वर्षाको समयमा केही समस्या देखिन्छ। वर्षामा सबैभन्दा ठूलो समस्या भनेको सडकको समस्या हो र यसकारण हाम्रो ढुवानी भाडा बढी पर्न जान्छ। यस्तो अवस्थामा सवारी साधन बाटोमा अड्किँदा उत्पादित वस्तु समयमा बजारमा नपुग्ने समस्या पनि छ।
अन्त्यमा सुरक्षित आवासीय भवन निर्माणका लागि उपयुक्त विधिका बारेमा बताइदिनुहोस् न।

हामीसँग जग बलियो भए घर बलियो हुन्छ भन्ने उखान नै छ । जग निर्माणमा हामीले जग एउटै सतहमा तथा जमिनभन्दा कम्तीमा ५ फिट गहिराईमा राखिएको हुनुपर्दछ। घरको पिलर र बिममा कम्तिमा १२ एमएमको छड र रिङको लागि ८ एमएमको छड प्रयोग गर्नुपर्दछ। डीपीसी लेभलमा जस्तै बिम, जगमा पनि सबै पिलरमा जोडिने गरी राख्नुपर्दछ।

डीपीसी लेभल पुरानो जमिनको सतहभन्दा कम्तिमा डेढ फिट माथि हुनपर्छ र घरको सम्पूर्ण पिलरलाई यो लेभलमा आरसीसी ढलानको टाई बिमले जोड्नु पर्छ। बिमका सम्पूर्ण छड पिलरभित्रबाट जानुपर्छ भने छड पिलरभित्र एल आकारमा राख्नुपर्दछ। ढलान गर्दा बिम र स्ल्याब सँगै ढलान गर्नुपर्दछ र ढलान जतिसक्दो खाँदेर बनाउनुपर्छ। ढलान गरिसकेको २४ घण्टापछि कम्तिमा पनि १४ दिनसम्म पानीले भिजाउनुपर्दछ। ढलान मसला बनाउँदा १ भाग सिमेन्टमा १ दशमलव ५ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ। सामान्यतया १ बोरा सिमेन्टका लागि २० देखि २५ लिटर पानी चाहिन्छ। पानिको मात्रा बालुवाको चिसोपनमा भरपर्ने भएकोले काम गर्न सकिने र नबग्ने गरी ढलान मसला बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्