बुद्धजन्मस्थलः भ्रम र वास्तविकता



 

अशोकनन्द वज्राचार्य

नेपाललाई विश्वसामु मात्र दुई चीजले चिनाइन्छ। एक विश्वको सर्वोच्च शिखर सगरमाथा भनेर त दुई शान्तिको अग्रदूत भगवान् बुद्धको जन्मभूमि भनेर। बौद्धमार्गीहरूको लागि अति श्रद्धाले हेरिने चार तीर्थस्थलहरूः १) बुद्ध जन्मेको ठाउँ लुम्बिनी, २) बुद्धत्व प्राप्त गरेको ठाउँ बुद्धगया (भारत), ३) प्रथम धर्मदेशना गरेको ठाउँ–कुशीनगर (भारत), ४) महापरिनिर्वाण (मृत्यु) भएको ठाउँ–कुशीनगर (भारत)। यसरी चारवटा तीर्थस्थलहरूमध्ये तीनवटा भारतमा परेको तर सबभन्दा महत्वपूर्ण तीर्थस्थल बुद्ध जन्मेको ठाउँ नै लुम्बिनी नेपालमा परेकोले रन्थनिरहेको भारतले त्यो एउटा तीर्थस्थल पनि भारतमै परेको भए बुद्धसम्बन्धी सम्पूर्ण ऐतिहासिक घटनाहरू नै भारतमै हुन्थ्यो र बुद्ध नै भारतको हो भनेर एकलौटी दाबी गर्न पाउने थियो। त्यसै कारण भारतले वर्षौंदेखि बुद्ध भारतमा जन्मेको भनेर झुटा प्रचार गर्दै आएको छ। भारतबाट प्रकाशित हुने किताब, पत्रपत्रिकादेखि लिएर श्रीलंका, कोरिया, थाइल्यान्ड, जापान आदि देशमा पनि बुद्ध भारतमै जन्मेको भनी छाप्दै आएको पाइन्छ। हाम्रै देशको विश्वविद्यालयको एउटा पाठ्यपुस्तकमा पनि बुद्ध भारतमा जन्मेको भनेर यो पंक्तिकार वि.सं. २०६५ मा श्रीलंका जाँदा त्यहाँको टुरिज्म बोर्डको ब्रोसरमा नै बुद्ध भारतमा जन्मेको भनी छापेको देख्दा हामी अचम्मित भई हामीलाई स्वागत गर्न आउने बौद्ध संस्कृतिमन्त्रीको पी.ए.लाई त्यतिखेर नै ध्यानाकर्षण गरेका थियौं। उनले गल्ती छापिएकोमा क्षमा माग्दै त्यसलाई सच्याएर छापिने आश्वासन दिएका थिए। यसरी बौद्ध देश भनेर मानिने नेपालको नजिकको मित्र राष्ट्र श्रीलंकामै बुद्ध भारतमा जन्मेको भनेर गलत खबर छापिन्छ भने टाढा–टाढाका देशको कुरै छोडिदिऊँ। गतवर्षको सेप्टेम्बरमा दक्षिण कोरियामा भएको एक कार्यक्रममा एकजना भारतीय भिक्षुले बुद्ध भारतमा जन्मेको भनेर बोल्दा हामीले त्यति नै खेर सभामा ‘नो, बुद्ध वाज बर्न इन नेपाल’ भनेर विरोध गरेका थियौं।

यसरी भारतले बुद्ध भारतमा जन्मेको भनेर विश्वव्यापीरुपमा प्रचार गर्दै आएको छ। यो भ्रमलाई हटाउन २०७० साल वैशाख २ गते कोरियाबाट करिब ६० जना बौद्धमार्गीहरू नेपालमा आई लुम्बिनीको अखण्ड शान्तिदीपमा आपूmले कोरियाबाट ल्याएको चिराग बाली बुद्ध जन्मेको देश नेपालबाट ल्याएको शान्तिदीप भनेर कोरियामा भएको ठूलो ‘ल्याम्प फेस्टिवल’मा प्रदर्शन गरेका थिए। यसरी नेपालको बेवास्ता र भारतको झुटा प्रचारले विश्वभरि बुद्ध भारतमा जन्मेको भनेर झुटो सन्देश प्रवाह भैरहेको छ। तर हाम्रा नेताहरूलाई विश्वको एकमात्र हिन्दू राष्ट्र भनेर वकालत गर्दै फुर्सद छैन। तर अचम्मको कुरा, मित्रराष्ट्रहरूसँग सहयोगको हात फैलाउँदाचाहिँ बुद्ध जन्मेको देशलाई सहयोग गर्नुस् भन्न पछि पर्दैनन् यी नेताहरू। अझ हिन्दू राष्ट्रको वकालत गर्ने कतिपय नेताहरूले आफ्ना छोराछोरी विदेशमा पढ्न पठाउँदा (विशेष गरी मुस्लिम देशमा) धर्म लेख्दा हिन्दू धर्म नलेखीकन ‘बुद्धधर्म’ भनेर लेखाएको पनि प्रमाणहरू भेटिएको छ। आफ्नो निहित स्वार्थको लागि लाजै पचाएर जे पनि गर्न तयार यी नेताहरूले गर्दा आज देशले उन्नति गर्न सकेको छैन।

नेपालमा भएको पछिल्लो सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा दिल खोलेरै नेपाललाई बुद्ध जन्मेको देश भनी नेपालीको मन जितेका थिए। नेपालीले पनि तालीको गडगडाहटका साथ उनको खूबै स्वागत गरेका थिए। तर लगत्तै उनले जापान, जर्मनी र फ्रान्सको भ्रमणमा बुद्ध भारतमा जन्मेको भनी हदैसम्मको धृष्टता देखाएर भाषण गरे। भारतले जतिसुकै झुटो प्रचार गर्दै हिँडे पनि युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई बुद्ध जन्मेको ठाउँ भनेर विश्वसम्पदामा राखिसकेको छ।

जे होस्, बुद्ध भारतमा जन्मेको हो भन्ने दाबी असफल भएपछि अब भारतले अर्को दाबी गर्नेतिर लागेको छ। भगवान् बुद्धले सिद्धार्थ राजकुमारको रूपमा २९ वर्ष बाल्यकाल र युवावस्था बिताएका शुद्धोदन महाराजको कपिलवस्तु, तिलौराकोट दरबार वास्तवमा त्यो होइन, भारतको उत्तर प्रदेशको पिपरहवामा (लुम्बिनी र कपिलवस्तु बीचमा ८ किलोमिटर दक्षिण अवस्थित) पर्दछ भनेर झुटो प्रचारप्रसार गर्न शुरु गरेको छ। पिपरहवामा भेटिएको भग्नावशेषलाई शुद्धोदन महाराजको राजप्रासाद हो भनेर दाबी गर्दै आएको छ। तिलौराकोट दरबार उत्खननमा भेटिएका भाँडाकँुडा, मुद्रा, बुट्टेदार इँटाहरू र अन्य पुरातात्विक महत्व भएका बुद्धकालीन ऐतिहासिक वस्तुहरू रातारात बोर्डर पार गराई भारतको पिपरहवामा लगियो भनेर पनि हामीले सुन्दै आएको कुरा हो।

नेपालमा भएको पछिल्लो सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा दिल खोलेरै नेपाललाई बुद्ध जन्मेको देश भनी नेपालीको मन जितेका थिए। नेपालीले पनि तालीको गडगडाहटका साथ उनको खूबै स्वागत गरेका थिए। तर लगत्तै उनले जापान, जर्मनी र फ्रान्सको भ्रमणमा बुद्ध भारतमा जन्मेको भनी हदैसम्मको धृष्टता देखाएर भाषण गरे। भारतले जतिसुकै झुटो प्रचार गर्दै हिँडे पनि युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई बुद्ध जन्मेको ठाउँ भनेर विश्वसम्पदामा राखिसकेको छ।

सन् २०१३ जनवरीमा भारतीय दूतावासले नेपाल संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको संयुक्त तत्वावधानमा लुम्बिनीमा ‘नेपाल इन्डिया टुरिजम मार्ट’ भनेर कार्यक्रम गरेको थियो। सो कार्यक्रममा भारतले शुद्धोदन महाराजको राजप्रासाद भारतको पिपरहवामा पर्दछ भनेर प्रचार सामग्री बाँडेको थियो। ‘द पाथ’ भन्ने पुस्तकमा शुद्धोदनको दरबार पिपरहवामा पर्दछ भनेर लेखिएका पानाहरू बाँडिएको थियो। नेपालका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटी र पर्यटन सचिव सुशील घिमिरे पनि सो कार्यक्रममा उपस्थित थिए। तर उहाँहरूलगायत त्यस कार्यक्रममा उपस्थित अन्य सहभागी विज्ञहरूले समेत केही प्रतिक्रिया नदिई मौन बसिदिनु लज्जास्पद र विडम्बना नै मान्नुपर्छ।

सन् १८९५ मा जर्मन पुरातात्विक सर्वेक्षक एन्टनर फ्युहरर र बोउद सर्कलको उत्खननबाट र सन् १८९९ मा भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीको उत्खननबाट तिलौराकोट नै राजा शुद्धोदनको दरबार र शाक्य राजाहरूको राजधानी भनेर पत्ता लगाएको थियो। त्यस्तै सन् १९६९–१९७२ मा पुरातत्वविद् तारानन्द मिश्र र बाबुकृष्ण रिजालले उत्खनन गर्दा, सन् १९९७–१९९९ मा युनेस्कोका विद्वान् प्रो. रविन कनिनघमको नेतृत्वमा वसन्त विडारी र कोषप्रसाद आचार्यले उत्खनन गर्दा, अनि सन् २००५–२००६ मा पुरातत्व विभागले उत्खनन गर्दा भेटिएका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरूले तिलौराकोट नै राजा शुद्धोदनको दरबार र शाक्य राजाहरूको राजधानी हो भनेर प्रमाणित भएको थियो। तर सन् १९६२ मा भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राबाट बदनियतपूर्वक तिलौराकोट उत्खननमा भेटिएका वस्तुहरू बुद्धकालीन समयको होइन भनेर विवाद ल्याउन खोजियो। त्यस्तै सन् १९७० को दशकमा भारतीय पुरातत्वविद् के.एम. श्रीवास्तवले पनि पिपरहवा नै शाक्य राजाहरूको राजधानी थियो भनेर दाबी गरेका थिए। तर उनीहरूको दाबीमा कुनै दम थिएन। किनभने अट्ठकथाको निदानकथा, ललितविस्तर लगायत विभिन्न बौद्धग्रन्थहरू तथा बौद्ध साहित्यमा र चिनिया बौद्ध यात्रीहरू फाहियान (४औं शताब्दी), ह्वेनसा– (७ औं शताब्दी) र इत्सिङ (७⁄८ औं शताब्दी) को यात्रा विवरणमा जे–जस्तो उल्लेख भएको छ, ती सबै विवरणले तिलौराकोट नै राजा शुद्धोदनको दरबार हो पिपरहवा होइन भनेर प्रमाणित गर्दछ। तिलौराकोटको सँगै वाणगंगा नदी बग्नु, तिलौराकोटबाट हिमाल देख्नु, तिलौराकोट दरबारको चारैतिर ठूला–ठूलो पर्खाल हुनु र शत्रुले हमला गर्न नसकून् भनेर पर्खालमुनि चारैतिर नहर खनेको हुनु, कपिलवस्तु र मायादेवीको माइती देवदहको बीचमा लुम्बिनी पर्नु, त्यस्तै गरी कपिलवस्तु र राजगृहको बीचको उल्लिखित दूरी, त्यस्तै अन्य ठाउँहरूको उल्लिखित दूरी, विभिन्न ठाउँहरूको दिशा उल्लेख भएको आदि सबै प्रमाणहरू र विवरणहरूले कपिलवस्तु र तिलौराकोट नै बुद्धको पिता राजा शुद्धोदनको राजप्रासाद र शाक्य राजाहरूको राजधानी हो भनेर बलियो आधार बन्दछ, जबकि पिपरहवासँग कुनै मेल खाँदैन।

हामीले जनस्तरमा यस्ता भ्रमहरूलाई फैलिनबाट बचाउन केही गर्नुपर्छ। यसै कुरालाई मध्यनजर राखी २०७० वैशाख २७ गते धर्मोदय सभाले संस्कृति तथा पर्यटनमन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा पत्रकार, बौद्ध संघसंस्था, बौद्ध विद्वान् एवं बुद्धिजीवीहरूको उपस्थितिमा एउटा अन्तरक्रिया कार्यक्रम गरेको थियो। त्यस बेला धर्मोदय सभाले विभिन्न ११ बुँदे प्रस्तावना मन्त्रीज्यूसमक्ष पेस गरेको थियो। लुम्बिनी, कपिलवस्तु, तिलौराकोट, रामग्रामलगायत विभिन्न बौद्धस्थलहरूको नक्सा र परिचय भएको टुरिस्ट ब्रोसर बनाई प्रचारप्रसार गर्ने, लुम्बिनी विकास कोषको आयोजनामा हुनुपर्ने ‘फोर्थ वल्र्ड बुद्धिस्ट समिट’ कपिलवस्तु दरबारलाई मूल विषय बनाई चाँडै सम्मेलनको आयोजना गर्ने, तिलौराकोटस्थित कपिलवस्तु दरबार विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने, विदेशी तीर्थयात्रीलाई नेपाली गाइडको सेवा अनिवार्य उपलब्ध गराउने, ई–मिडियामार्फत व्यापक प्रचारको व्यवस्था गर्नेजस्ता कुराहरु सो प्रस्तावनामा समेटिएको थियो।

गतवर्ष २५६० औं बुद्ध जयन्ती मनाउने क्रममा नेपाल सरकारबाट ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने नारासहित विभिन्न राष्ट्रहरुको बौद्ध विद्वान्हरुको सहभागितामा अन्तर्राष्ट्रिय सेमिनारसमेत गरी बुद्ध नेपालमा नै जन्मेको हो भन्ने सन्देश फैलाउन केही हदसम्म सफल भएको थियो। यसरी बर्सेनि बुद्ध जयन्ती नेपाल सरकारबाट नै मनाउनुपर्ने जनताको अपेक्षा थियो र आवश्यकता पनि थियो। तर यसपालि २५६१ औं बुद्ध जयन्ती सरकारबाट नमनाइदिँदा सम्पूर्ण बौद्धजगत् र नेपाली जनता निराश भएका छन्। राष्ट्रको ऐतिहासिक धरोहर नै गुम्न सक्ने यस गम्भीर विषयमा सरकारको ध्यान जानुपर्ने देखिन्छ। साथै बौद्धमार्गीहरूको असीम आस्था एवं श्रद्धाका स्थलहरू लुम्बिनी र कपिलवस्तुलाई बचाउन हामी सबैले सधैँ सचेत अनि जागरुक भएर विश्वव्यापीरुपमै आवश्यक कदम चाल्नुपर्ने आजको आवश्यकता हो।
(लेखक धर्मोदय सभाका सचिव हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्