जी २० शिखर सम्मेलन आजदेखि ट्रम्पसहित विश्वका प्रमुख नेताहरू ह्याम्बर्गमा पुग्दै



 

बर्लिन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी २० सिखर सम्मेलनका लागि बिहीबार जर्मनीको ह्याम्बर्गमा पुगेका छन्। उक्त सम्मेलनमा जलवायु परिर्वतन नीतिका कारण उनी एक्लिन सक्ने सम्भावना व्यक्त गरिएको छ भने विश्वको प्रमुख आर्थिक शक्ति देशहरूको उक्त बैठकलाई पुँजीवाद विरोधी प्रदर्शनकारीले विथोल्ने चेतावनी दिइरहेका छन्।

२०१५ पेरिस जलवायु सन्धिबाट अमेरिका बाहिरिएको निर्णयपछि हुन गइरहेको सम्मेलनमा भाग लिने क्रममा ह्याम्बर्गमा राष्ट्रपति विमान एयर फोर्स वनबाट आइपुगेका ट्रम्प र उनकी पत्नी मेलानियाको अन्य प्रमुख अर्थतन्त्रका नेताहरूसँग तनावको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

शुक्रबारबाट औपचारिक शुरु हुन गइरहेको दुई दिने उक्त शिखर सम्मेलनका लागि चिनका राष्ट्रपति सि जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका नेताहरू आउने क्रम जारी रहेको छ।

सम्मेलनमा ब्यापार नीतिलाई लिएर प्रदर्शनकारीहरू बैठकमा अवरोध पुर्याउने तयारी गरिरहेका छन्। ब्यापार नीतिको विरोध गरिरहेकाहरूले करिब १ लाख प्रदर्शनकारी सडकमा ओर्लने दाबी गरेका छन्। सम्मेलनलाई ब्यवधान पुर्याउन सक्ने आशंकाका सुरक्षा ब्यवस्था कडा गरिएको छ।

यस सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेटवार्ता हुने अनुमान गरिएको छ। त्यसै गरी सीमा विवादका कारण तनावको स्थितिमा रहेका भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि भेटवार्ता हुने अनुमान गरिएको छ।

ह्याम्बर्ग प्रस्थान अगाडि राष्ट्रपति ट्रम्प पोल्यान्ड भ्रमण पुगेका थिए। ट्रम्पले पोल्यान्डलाई पेट्रियोटिक क्षेप्यास्त्र प्रणाली दिने विषयमा छलफल गरेका थिए।
त्यसै गरी बुधबार ह्याम्बर्ग पुगेका चिनियाँ राष्ट्रपति सी र जर्मन चान्सलरबीच विभिन्न मुद्दामा अमेरिकासँगको विमतीलाई प्रकास पार्दै विस्तारित मुद्दाहरूमा मिलेर काम गर्ने सहमति बनेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्