यसरी तह लाग्दै छन् ढल



सुरेश तामाङ

मेलम्चीबाट पानीको आपूर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न ४ स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माणको काम थालिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फोहर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि, पुनःस्थापना र निर्माणकार्यको पक्रियालाई प्राथमिकताका साथ अगाडि बढाएको हो।

काठमाडौंमा थप ३ स्थानमा फोहरपानी प्रशोधन केन्द्र बन्ने भएको छ भने त्यो केन्द्रबाट झण्डै ४ सय ५० किलोवाट बिजुली बाल्ने योजना रहेको निर्देशनालयले जनाएको छ। बन्न लागेका तीनवटै स्थानमा र गुहेश्वरीस्थित केन्द्रलाई थप गुणस्तरीय बनाइने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो।


‘गुहेश्वरी ढल प्रशोधन केन्द्रमा काम शुरु भइसकेको छ’, निर्देशनालयका प्रवक्ता ढकालले भन्नुभयो– ‘बाँकी स्थानमा भने डिजाइनिङको काम भइरहेको छ।’

प्रवक्ता ढकालका अनुसार, गुहेश्वरीस्थित केन्द्रलाई अभिवृद्धिका साथै पुनःस्थापनाका लागि भारतीय कम्पनी भा टेक वा ब्याग लिमिटेड, चेन्नईसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ। कम्पनीले २ वर्षभित्र अभिवृद्धि र पुनर्निर्माण सम्पन्न गर्ने र १० वर्षसम्म सो कम्पनीले हेर्ने सम्झौतामा उल्लेख गरिएको छ।

गुहेश्वरीस्थित प्रशोधन केन्द्रले हाल १ करोड ६० लाख लिटर फोहरपानी प्रशोधन गर्ने क्षमता राख्दछ । निर्देशनालयले यस प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि गरी दोब्बर अर्थात् ३ करोड २० लाख लिटर फोहोरपानी प्रशोधन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जनाएको छ।

निर्देशनालयले ढल व्यवस्थापनका लागि विभिन्न स्थानमा आधुनिक फोहोरपानी प्रशोधन केन्द्रको निर्माण गर्ने र त्यहाँबाट विद्युत् निकाल्न मिल्ने गरी गृहकार्य थालेको हो। नेपालमा यसको व्यवसायिक अभ्यास पहिलो रहेको भए पनि भारतलगायत विकसित मुलुकमा सफल अभ्यास भइरहेको उहाँले बताउनुभयो। निर्देशनालयका अनुसार यसको लागि काम अगाडि बढिसकेको छ। विभिन्न स्थानमा फोहर प्रशोधन केन्द्रको निर्माणमार्फत् नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ वातावरणको प्रत्याभूति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुनेलगायतका फाइदाहरू लिन पाउने प्रवक्ता ढकालले दाबी गर्नुभयो।
गुहेश्वरीस्थित फोहोर प्रशोधन केन्द्रलाई थप अभिवृद्धि गर्दै भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोबीघाटमा नयाँ र आधुनिक प्रशोधन केन्द्र निर्माण गरी उपत्यकालाई सफा, सुन्दर र गन्धरहित बनाउन काम थालिएको छ।

जहाँ चिनियाँ ठेकेदार कम्पनीले डिजाइनिङको कामहरू गरिरहेको निर्देशनालयले जनाएको छ। निर्देशनालयले फोहोर प्रशोधन केन्द्रमा आधुनिक प्रविधि अपनाई गुहेश्वरीको केन्द्र र सुन्दरीघाटमा बन्ने केन्द्रमा ढल र पानीबाट निस्केको ग्याँसमार्फत् विजुली निकाल्ने कम्पनीसँग सम्झौता भएको छ।

गुहेश्वरस्थित ३ करोड २० लाख लिटर फोहरपानी प्रशोधन गरेर करिब २ सय ४० किलोवाट बिजुली निकाल्न मिल्ने निर्देशनालयले जनाएको छ। त्यस्तै गरी, करिब ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन गर्ने धोबीघाटको केन्द्रबाट मात्रै २ सय ४ किलोवाट बिजुली निकाल्ने जनाएको छ। दुवै गरी झण्डै ४ सय ५० किलोवाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनासमेत रहेको जनाइएको छ।

यसका लागि वागमती नदीको सहायक खोला हनुमन्ते र मनोहरा खोलाको दुवै किनारमा करिब २५ किलोमिटर फोहोरपानी बग्ने प्रणाली निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ। निर्देशनालयका अनुसार सोमध्ये हनुमन्तेको ठेक्का अवार्डको अवस्थामा छ भने मनोहराको टेन्डर आह्वान भएको छ।

त्यस्तै दोस्रो चरणको कार्यक्रममा खोकनामा नयाँ प्रशोधन केन्द्र निर्माण गर्न करिब ४० हेक्टर जग्गा अधिग्रहण गरीसकेको र गोकर्णको विस्तृत अध्ययन गरेर दोस्रो चरणको कार्यक्रममा राख्ने योजना भइरहेको निर्देशनालयका प्रवक्ता ढकालले बताउनुभयो। निर्देशनालयको विभिन्न आयोजनामध्ये ढल व्यवस्थापन आयोजनामार्फत् सन् २०१८ सम्म सम्पन्न गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैंकको करिब १ सय ३६ मिलियन यूएस डलर लागत विनियोजन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्