उत्तर कोरियाको लामो दूरीको क्षेप्यास्त्र परीक्षण सफल, अन्तर्राष्ट्रिय जगत्मा ठूलो सन्त्रास फैलियो



 

प्योङ्याङ, (एजेन्सी)
उत्तर कोरियाले मंगलबार आफूले पहिलो लामो दूरीको अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेकामा खुसी व्यक्त गरेको छ। यदि यो खबर सत्य ठहर भएको खण्डमा यस इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ( आईसीबीएम) सम्भवतः अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्छ।

तर संयुक्त राज्य अमेरिकाले भने हिजो जापनको एक सागरमा खसेको उक्त क्षेप्यास्त्र मध्यम दूरीको भएकाले त्यसबाट उत्तर अमेरिकामा कुनै खतरा हुन नसक्ने दाबी गरेको छ। उत्तर कोरियाली यसरी लगातार क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गर्न थालेकाले अन्तर्राष्ट्रिय तनाव बढिरहेको छ।

उत्तर कोरियाको सरकारी टेलिभिजनल हिजो ह्वासोङ–१४ नामक क्षेप्यास्त्रको प्रक्षेपण कार्य नेता किम जोङ उनले अवलोकन गरेको जनाएको छ। साथै सागरमा आफ्नो लक्ष्य भेदन गर्नुअघि उक्त क्षेप्यास्त्र ९ सय ३३ किमि उचाइमा पुगेर २ हजार ८ सय २ किमि तय गरेको पनि बताइएको छ।

केसीएनए समारचार निकायले एक विज्ञप्ति जारी गर्दै अब उत्तर कोरिया आधिकारिक रूपमा पूर्ण आणविक शक्ति सम्पन्न राष्ट्र भएको र त्यससँग विश्वको कुनै पनि भागमा मार हान्न सक्ने सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक रकेट भएको जनाएको छ।
साथै सो विज्ञप्तिमा अब अमेरिकाको आणविक युद्धको चेतावनी र ब्ल्याकमेलको अन्त्य भएको तथा यसले कोरियाली प्रायद्विपको प्रतिरक्षा पनि गर्ने जनाइएको छ। तर आणविक विशेषज्ञहरूले भने उत्तर कोरियासँग ठ्याक्कै लक्ष्य भेदन गर्न सक्ने आईसीबीएम र त्यसमा राख्ने निकै सानो खालको आणविक हतियार नभएको दाबी गरिरहेका छन्।

उत्तर कोरियाली आईसीबीएम अमेरिकाको अलास्कासम्म मात्र पुग्न सक्ने अनुमान गरिएको छ। अमेरिकी भौतिकशास्त्री डेविड राइटले हालै उत्तर कोरियाले सफल परीक्षण गरेको भन्ने क्षेप्यास्त्रको अधिकतम दूरी क्षमता ६ हजार ७ सय किमि हुने दाबी गरेका छन्।

जुन दूरी अमेरिकाका सबै ४८ वटै राज्यमा पुग्न नभ्याउने बताइएको छ। क्षेप्यास्त्र विकास गर्नुमात्र ठूलो कुरो नभएको र प्रक्षेपण गरिएको क्षेप्यास्त्र पुनः वायुमण्डलमा प्रवेश गर्दा त्यसको प्रतिरक्षा पनि गर्नुसक्नुपर्ने तथा सो क्षमता उत्तर कोरियासँग भए नभएको पुष्टि हुन नसकेको विशेषज्ञहरूको भनाइ रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा उत्तरकोरियाले आईसीबीएम बनाउन नसक्ने भनी ट्विट गरेका थिए। अहिले भने ट्रम्पले किम जोङ उनप्रति आक्रोश व्यक्त गर्दै ‘यो मान्छेले जीवनमा केही राम्रो गर्न सक्दैन?’ भनी ट्विट गरेका छन्। साथै उनले अब जापान र दक्षिण कोरियाको केही सीप नलाग्ने र उत्तर कोरियामाथि चीनले नै विशेष दबाब दिनुपर्ने विचार पनि व्यक्त गरेका छन्। यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तरमाथि दबाब दिनुपर्ने बताएका छन्।

यस पछिल्लो परीक्षणलाई लिएर चीनको विदेश मन्त्रालयका प्रवक्ता जेंग सुआंगले क्षेप्यास्त्र कार्यक्रममा उत्तर कोरिया संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्विरुद्ध गएकामा चीनले विरोध गर्ने बताएका छन्।

लामो दूरीको क्षेप्यास्त्र परीक्षणपछि खुसीयाली मनाइरहेका उत्तर कोरियालाई हिजो चीन र रसियाले औपचारिक रूपमा क्षेप्यास्त्र कार्यक्रम रोक्न आह्वान गरेका छन्। साथै यी दुवै राष्ट्रले वार्षिक रूपमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच आयोजना हुँदै आएको संयुक्त सैनिक अभ्यास पनि बन्द गरिनुपर्ने विचार व्यक्त गरेका छन्। अहिले रुसको भ्रमणको क्रममा मस्कोमा रहेका चिनियाँ राष्ट्रपति सि जिन्पिङले प्योङयाङका बारे आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता गरेको बुझिएको छ।
यसैबीच रसिया र चीनले अमेरिकालाई उत्तर कोरियाली आणविक आक्रमण असफल पार्ने उद्देश्यसहित दक्षिण कोरियामा थाड क्षेप्यास्त्र प्रणाली जडान नगर्न पनि जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्