एमालेको अग्रता



 

स्थानीय तह दास्रो चरणको निर्वाचन परिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । यस चरणको निर्वाचनमा पनि तीन दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पहिलो चरणमा तीन दलबीच प्रतिस्पर्धा भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको थियो भने दोस्रो चरणमा पनि नेकपा एमाले नै पहिलो शक्ति हुने संकेतहरु देखा परेका छन् ।

मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी प्रतिस्पर्धा भए पनि नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा देखा परेका छन् । पहिलो चरणमा एमाले पहिलो शक्तिको रुपमा उदाएको भए पनि दोस्रो चरणमा भने एमाले इतरका सबै शक्ति मिलेर केही जिल्लामा एमालेलाई विस्थापित गर्ने योजना विफल हुँदा एमाले नै पहिलो शक्तिको रुपमा देखा पर्नुले जनतामा एमालेप्रति विश्वास बढ्दै गएको भन्दा फरक नपर्ला । कतिपय जिल्लामा संसदीय अभ्यासमा रहेका सबै दल मिलेर संयुक्त उम्मेदवारी एकातिर र अर्कोतिर एमालेले एक्लै उम्मेदवारी दिँदासमेत एमाले विजयी भएको देख्दा एमालेप्रति जनताको आकर्षण रहेछ भन्दा बढी हुँदैन ।

दोस्रो चरणको निर्वाचनमा १ नम्बर प्रदेशमा एमाले, ५ नम्बर प्रदेशमा दुवै दलबीच तीव्र प्रतिस्प्रर्धा र ७ नम्बर प्रदेशमा नेपाली कांग्रेस अगाडि हुने आंकलन निर्वाचनअघि गरिएको भए पनि निर्वाचन परिणाम भने सोचेजस्तो नआउँदा कांग्रेस र माओवादी अचम्ममा परेका छन् । अहिलेसम्म घोषणा भएका ठाउँमा पनि एमाले अगाडि रहनु र गणना भएका स्थानमा पनि एमाले अगाडि देखिनुले कांग्रेस, माओवादीलाई भने धक्का लागेको छ ।

स्थानीय निकाय निर्वाचनमा एमाले अगाडि देखिनुलाई एमालेले देखाएको राष्ट्रवादी धार र विगतमा भारतले लगाएको नाकाबन्दीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले डटेर सामना गर्नु नै एमालेप्रति जनताको भरोसा बढेको एकाथरी विश्लेषकले बताएका छन् भने अर्का थरी विश्लेषकले कांग्रेसको एजेन्डा पुरानो हुँदै गएको र नेतृत्वमा आएको कमजोरीले यसपटकको स्थानीय निकायमा एमाले हाबी हुन पुगेको विश्लेषण गरेका छन् । जे होस्, विगत २ दशकदेखि जनप्रतिनिधि नहुँदा जनतामा नैराश्यता देखिएको र अहिले चुनाव भएपछि जनता चुनावमा भाग लिन लालायित भएको जनताको सहभागिताले नै पुष्टि गर्छ । तर अब निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न सके मात्रै स्थानीय निर्वाचनले सार्थकता पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्