गुगललाई युरोपेली आयोगद्वारा २ अर्ब १० करोड जरिवाना



 

ब्रसेल्स, (एजेन्सी)
विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलमाथि धोखाधडीको आरोप लगाएको छ। युरोपेली युनियन आयोगले गुगलमाथि करिब २ अर्ब १० करोड पाउन्ड जरिवाना तिराएको छ। यो जरिवाना सर्चका क्रममा दिने नतिजामा गडवडी गरेकोमा लगाइएको हो।

गुगलले आफ्नो शक्तिको गलत प्रयोग गर्दै सर्च इन्जिनमा आफ्ना सपिंग सेवाको धेरै प्रचार गरेको आयोगले जनाएको छ। कुनै पनि कम्पनीलाई लगाइएको यो जरिवाना अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

यस मामिलाको जाँच सन् २०१० मा शुरू भएको थियो। केही प्राइज कम्पारिजन वेबसाइटले गुगलमाथि सर्च रिजल्टबाट उनीहरूको सेवा हटाएको उजुरी दिएपछि त्यसमा छानबिन भएको हो। आयोगले गुगललाई कडा कारवाही तथा जरिवानाको चेतावनी दिँदै आफ्ना प्रतिस्पर्धीहरूको गतिविधिहरू ९० दिनसम्म बन्द नर्गन निर्देशन दिएको थियो।

गुगलले यस मामिलामा आफू विरुद्ध लगाइएका सम्पूर्ण आरोपको सुनुवाइका लागि तयार रहेको जनाएको छ। उसले अदालतमा आफ्नो बचाउ गर्ने जनाएको छ।

ईयूका कम्पिटिसन कमिस्नर माग्रेथ भेस्टाजरले भने– ‘गुगलले जे गर्यो, नियमअनुसार त्यो पूर्ण रूपमा अवैध छ। गुगलले अन्य कम्पनीहरूलाई प्रतिस्पर्धा र नयाँ प्रयोग गर्ने मौका दिएको छैन। उसले युरोपेली उपभोक्तालाई प्रतिस्पर्धाको लाभ र सही चयन गर्ने अधिकारबाट समेत वञ्चित गरेको छ।

आयोगका अनुसार गुगलले आफ्नो सिस्टममा त्यसतो प्राविधिक हेरफेर गरेको छ जसले सर्चको नतिजामा उसको सपिंग सर्विस मात्रै देखिनेछ। यसबीच उसले प्रतिद्वन्द्वी साइटहरूलाई हतोत्साही बनाइरहेको छ।

वास्तवमा गुगलको युरोपको इन्टरनेट सर्चमा ९० प्रतिशत सेयर रहेको छ। आफूमाथि लागेको गम्भिर आरोपलाई लिएर गुगलले भनेको छ– ‘हामी आयोगको फैसलाको सम्मान गर्छौं, तर उनको दावीप्रति असहमत छौं। हामी अपिलका लागि विचार गरिरहेका छौं। यसका लागि आयोगको फैसलाको गहन समिक्षा गर्नेछौं।’
वास्तवमा प्रयोगकर्तालाई सर्च, जिमेल, ह्यांगआउट, प्ले जस्ता सेवा दिएर गुगलले प्रतिदिन १२ करोड अमेरकी डलर कमाउँछ र यो आम्दानी उसलाई विज्ञापनको माध्यमबाट हुनेगर्छ। कुनै पनि प्रयोगकर्ताले गुगलमा केही खोज्दा त्योसँग जोडिएका विज्ञापन आफैं सर्च पेजमा आउने गर्छ।

प्रतिक्रिया दिनुहोस्