इजरायलका पूर्वप्रधानमन्त्री कारगार मुक्त



 

जेरुसेलम, (एजेन्सी)
इजरायलका पूर्वप्रधानमन्त्री एहुद ओल्मार्टलाई आइतबार बाँकी कैद माफी गरी कारागार मुक्त गरिएको छ। उनलाई जालसाजी र धेखाघडीको अभियोगमा २७ महिना लामो काराबास संजाय सुनाइएकोमा उनले दुई तिहाइ कैद काटिसकेका छन्।

उनलाई सन् २०१६ मा आफू व्यापार मन्त्री छँदा घुस लिएको र कानुन उल्लंघन गरेको अभियोगमा जेल चलान गरिएको थियो। इजरायलकै इतिहासमा यसरी कागारमा पर्ने ओल्मार्ट पहिलो पूर्व सरकार प्रमुख हुन्। सन् २००६ मा प्रधानमन्त्री बनेका उनले ३ वर्षपछि प्रहरीले आफू विरुद्ध लगाइएको अभियोग अनुमोदन गरेकाले पदबाट राजीनामा दिएका थिए।

इजरायलको मध्य भागमा रहेको मासियाहु कारागारबाट छुट्ने क्रममा ७१ वर्षीय ओल्मार्टले पत्रकारहरूसँग एक शब्द पनि नबोलेको बताइएको छ। यसअघि इजरायली संजाय मिनाह गर्ने बोर्डले कारगारमा ओल्मार्टको आचरण र गतिविधि निकै प्रशंसनीय रहेको जनाएको थियो।

तर अहिले सरकारी महान्याधिवक्ताको कार्यालयले उनले कारगारमा लेख्दै गरेको एक पुस्तकको एक अध्याय अवैध ढंगले कारागरबाहिर पठाएको विषयमा उनीमाथि अनुसन्धान गरिरहेको छ। उक्त पुस्तकका कारण राष्ट्रिय सुरक्षामा समेत अँँच आउन सक्ने अनुमान गरिएको छ।

गत साता समाजिक सञ्जालमा अस्पतालको पोशाकमा दुब्लो पातलो र कमजोर देखिने ओल्मार्टको तस्वीर भाइरल भएपछि उनको रिहाइका लागि जनआवाज उठेको थियो। उनलाई छातीमा पीडा भएपछि अस्पताल पुर्याइएको थियो तर स्वास्थ परीक्षणबाट सबै ठिकठाक देखिएकाले पुन कारागार फर्काएको थियो। सन् २०१४ मा सन् १९९३ देखि २००३ सम्म जेरुसेलमको मेयर रहँदा घुस खाएको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्