युरोपियन लिग फुटबलमा बेटिङ छ्याप्छ्याप्ती



 

दीपक रिजाल, काठमाडौं
गएको चैत २० देखि जेठ १८ गतेभित्र ललितपुर महानगरपालिका–११ चाकुपाट बस्ने सनी धाख्वाको १ करोड रुपियाँ चोरी भयो। पटकपटक घरबाट रकम चोरी भएपछि सनी प्रहरीकोमा उजुरी गर्न पुगे। महानगरीय अपराध महाशाखाले चोरी भएको घटनामा ध्यान नदिएपछि उनी विभिन्न प्रहरी कार्यालय धाए पनि पत्ता नलागेपछि अन्तिममा उनी महानगरीय प्रहरी प्रभाग पुल्चोक पुगे।

पुल्चोक प्रहरीले १ करोड रुपियाँ चोरी भएको घटनालाई सूक्ष्म रूपमा अनुसन्धान शुरू गर्यो। अनुसन्धानका क्रममा चोर सनीको घर जोडिएको उनको काकाको बरन्डाबाट प्रवेश गरेको पत्ता लगाएपछि अनुसन्धानलाई साँघुरो बनाउँदै लग्यो।

शुरूमा ३० लाख हराउँदा सनीले घरमा नै पैसा यताउता परेको भनेर खासै चासो दिएनन्। तर गत जेठ १८ गते उनको ५० लाख रुपियाँ हराएपछि सनी प्रहरीकोमा खबर गर्न गएका थिए। प्रहरीले अनुसन्धान गर्ने क्रममा उनका काकाको छोरा विशाल धाख्वालाई शंका लागेर पक्राउ गर्यो। शुरूमा उनले आफूले पैसा नचोरेको जिकिर गरेपछि पुल्चोक प्रहरी प्रभागले धाख्वाको बैंक खाता चेक गर्यो।

महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले भन्नुभयो– ‘पक्राउ परेका अभियुक्तले शुरूमा पैसा आफूले नचोरेको जिकिर गरेपछि बैंक खाता चेक गर्दा अस्वाभाविक रकम खातामा देखियो।’ बैंक खातामा रहेको पैसा कहाँ र कसरी आयो त्यसको पुष्टि गर्न आग्रह गर्दा उनले फुटबलमा बेटिङ गर्दा जितेको पैसा भनेर घटनालाई मोड्न खोजे पनि प्रहरीले १ करोड चोरीमा उनी नै संलग्न भएको पत्ता लगायो। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा विशालले आफ्नो घरको बरन्डाबाट सनीको घरमा प्रवेश गरेर चोरी गरेको स्वीकार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख ठूले राईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रहरीले फुटबलमा बेटिङ राख्ने समूह अहिले राजधानीमा सक्रिय रहेको पत्ता लगाएपछि त्यस्ता गिरोहको खोजीलाई तीव्र बनाएको छ। एसएसपी राईले भन्नुभयो– ‘चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा अर्को घटनाको पर्दाफास होला जस्तो छ। हामी अहिले फुटबलको बेटिङको घटनालाई पनि मिहिन ढंगले अनुसन्धान गर्ने तयारीमा छौं।’

चोरीमा संलग्न रहेका विशालले युरोपियन लिग फुटबलमा बेटिङ गर्ने गरेको बताएपछि त्यस्तो कार्यमा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले राजधानीमा फुटबलमा बेटिङ राख्ने ठूलो समूह सक्रिय रहेको बताएपछि प्रहरीले अहिले आफ्नो अनुसन्धानलाई तीव्र बनाएको छ।

यता घरबाट झन्डै १ करोड चोरी भएर पीडित भएका सनीसँग घटनाका बारेमा जिज्ञासा राख्दा उनले यो घरभित्रको मामिला भएको र प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले केही नबताउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्