कलेज छनोट गर्दा आइपर्ने १० प्रसंग



ओमशंकर श्रेष्ठ
१ घरदेखि कलेज कति टाढा छ भन्ने अर्थ हुँदैन। यस्तो बेला कलेजसम्म पुग्ने यातायातको साधन छ वा छैन र आफ्नो बजेटले भ्याउँछ वा भ्याउँदैन भन्नेबारे ध्यान दिनुपर्छ। दुरीभन्दा आफ्नो कलेज रहेको स्थानको महत्त्वमाथि ध्यान दिनुपर्छ। धेरै समय त्यहाँ बिताउनुपर्ने भएकाले त्यहाँको वातावरणले तपाईंलाई पक्कै प्रभावित पार्दछ। तर, दुरी जति नजिक भयो उति फाइदा हुन्छ। यसले पढाइका लागि समय जोगिन्छ। कलेज वरपर आधुनिक सुविधाहरु भएको खण्डमा खालि पिरियडमा समयको सदुपयोग गर्न सकिन्छ।

२ आफू जान लागेको कलेजले वर्षमा कति वटा खेलकुद प्रतियोगिता जित्ने गरेको छ भन्ने भन्दा त्यहाँका विद्यार्थीको खेल प्रस्तुति र क्षमता कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ। खेलकुदलाई भन्दा पढाइमा मात्र बढी केन्द्रित हुने कलेजको अचेल कुनै महत्त्व छैन। खेलकुद कलेजको अपरिहार्य विशेषता एवं गहना बनिसकेको छ।

३ कलेज महँगो वा सस्तो भन्दा पनि आफू जाने कलेजप्रति आफू कति आकर्षित छु र त्यहाँबाट आफूले अपेक्षित शिक्षा र ज्ञान हासिल गर्न सक्ने सम्भावना के–कति छ भन्नेबारे बुझ्नु जरुरी छ। यसबारे पैसा लगानी गर्ने अभिभावकहरुले पनि कलेज रोज्नुभन्दा पहिल्यै राम्ररी ध्यान दिनु जरुरी छ। किनभने महँगो कलेज रोजेर चाहेजस्तो प्रतिफल पाउन सकिएन भने पश्चाताप गर्नुबाहेक अन्य केही विकल्प हुँदैन।

४ कलेज कति लोकप्रिय र स्तरयुक्त छ भन्ने भन्दा सो कलेज भविष्यमा त्यहाँका विद्यार्थीलाई इन्टर्नसिप र रोजगारका अवसरहरु दिलाउन कति सक्षम छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ। यसका लागि त्यहाँका पूर्वविद्यार्थी र अभिभावकहरुसँग विचार विमर्श गर्नुपर्दछ। त्यसै गरी त्यहाँ पढेका विद्यार्थी समाजमा कति हदसम्म सफल र सम्मानित छन् भन्ने पनि बुझ्नुपर्दछ।

५ समय समयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिरहनेभन्दा तपाईंलाई मनपर्ने भौतिक पूर्वाधारहरु जस्तै स्विमिङ पुल, म्युजिक रुम, स्नुकर, डान्स रुम आदिको व्यवस्था गरिएको छ वा छैन भन्ने बुझ्नुपर्दछ। कहिलेकाहीं आफ्ना साथीहरुसँग घरमा झैं फिल्म हेर्न वा मज्जाले सुत्न हुने खालको डोर्म रुम छ वा छैन बुझनुपर्दछ।

६ आफूले छानेका केही कलेजहरुको बारे जान्न स्थलगत भ्रमण गनुपर्दछ। त्यसपछि आफ्नो छनोटमा परेका कलेजहरुलाई पनि प्राथमिकताको आधारमा वरियताक्रममा राख्नुपर्दछ। यस क्रमम त्यहाँका प्रिन्सिपल, व्यवस्थापन पक्ष र उक्त कलेजप्रतिको छरछिमेकीको धारणा पनि बुझ्नुपर्दछ। आफूले छानेको कलेजको मूल उद्देश्य नाफा आर्जन गर्नु मात्र हो कि सेवा पनि हो भन्ने बुझ्नुपर्दछ। साथै कलेज परिसरमा राजनीतिक चलखेल हुने गरेको छ वा छैन भन्ने पनि बुझ्नु जरुरी छ।

७ अध्ययन र अध्यापन नै कलेजको सबैभन्दा ठूलो उद्देश्य र उपलब्धि हुने भएकाले त्यहाँका सम्पूर्ण विभागका शिक्षक शिक्षिकाको शैक्षिक योग्यता, अनुभव र तिनीहरु आफूलाई दिइएको सुविधा र तलबप्रति सन्तुष्ट छ वा छैन भन्नेबारे बुझ्नु जरुरी छ। किनभने शिक्षक तथा शिक्षिको व्यस्थापनसँगको सन्तुष्टिका परिणाम नै त्यहाँको गुणस्तरीय अध्यापन हुनेछ। व्यवस्थापन सफल रहे मात्र कुनै पनि संस्था राम्ररी चल्दछ भन्ने यथार्थता बिर्सिनुहुन्न।

८ अध्ययनको सिलसिलामा विद्यार्थीले धेरै समय कलेजमा बिताउनुपर्ने हुनाले त्यहाँको क्यान्टिनको गुणस्तर र कलेजको वातावरणको सरसफाइमा पनि ध्यान दिइनुपर्दछ। त्यसै गरी कडा अनुशासन र शिक्षा दिने नाममा त्यो कलेजमा अमानवीय मानसिक र शारीरिक सञ्जाय दिइने गरेको छ वा स्वतन्त्रताको नाममा विद्यार्थीलाई निकै छाडा छोदिने गरिएको छ भन्ने राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ।

९ वर्तमान वैज्ञानिक युगको आवश्यकताअनुरूप योग्य एवं दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पठन पाठन हुने गरेको, नैतिकवान, विवेकशील, अध्यात्मप्रति आस्थावान र सुसंस्कृति र व्यवहारिक ज्ञान दिइने गरिएको छ वा छैन भन्ने पनि जान्न जरुरी छ। अझ समाज र समाज सेवाप्रति बफादार र जिम्मेवार हुने ढंगले पढाइने कलेज त अब्बल छनोट सावित हुनेछ ।

१० त्यहाँ पढ्ने विद्यार्थीहरुको मात्र नभई त्यहाँका कर्मचारी एवं शिक्षक शिक्षिकाको नैतिक आचरणप्रति पनि कलेज छनोट गर्नुअघि अभिभावक र विद्यार्थी दुवैले विशेष ध्यान दिनुपर्दछ। हामीले कहिलेकाहीं कलेजहरुमा यौन व्यभिचारी कार्य हुने गरेको खबरहरु पनि सुन्ने गरेका छौं। यौन शोषणका घटनाको कारण आत्महत्याको परिणामसमेत निस्कन सक्छ। साथै कलेज लागू पदार्थ र हिंसामुक्त छ वा छैन भन्ने पनि जान्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्