न्युयोर्कको अस्पतालमा गोली चल्यो दुईको मृत्यु , छ जना घाइते



 

न्युयोर्क, (एजेन्सी)
एकजना बन्दुकधारीले अमेरिकाको न्युयोर्कको ब्रोन्क्स बोरोग स्थित एउटा अस्पतालमा एउटा उसल्ट राइफलले गोली चलाउँदा एक डाक्टरको ज्यान जानुका साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। पाँच जना घाइतेको स्थिती चिन्ताजनक रहेको पनि बताइएको छ।

एक हजार शैयाको उक्त ब्रोन्क्स–लेवनन हस्पिटलमा स्थानीय समयअनुसार शुक्रबार अपरान्ह करिब २ बजेर ५५ मिनेट जाँदा त्यसरी गोली चलाउने व्यक्ति सोही अस्पतालका पूर्वडाक्टर भएको र उनले आक्रमण लगत्तै आफैंमाथि पनि गोली चलाएर आत्महत्या गरेको सुरक्षा सूत्रले जनाएको छ।

न्युयोर्कका मेयर बिल डि ब्लासियोले भनेका छन्, ‘यस गोलीकान्ड पछाडि आतंकवादको हात रहेको छैन। बरु यसको कारण काम गर्ने स्थानसँग जोडिएको देखिन्छ। यसरी बिरामीको सेवा र सुरक्षा हुनुपर्ने स्थानमा विभत्स हिंसात्मक घटना हुनु निकै खेदपूर्ण छ। आक्रमणमा मारिनेमा महिला डाक्टर रहेकी छिन् भने घाइतेहरूको अवस्था पनि निकै गम्भीर रहेको छ। ’

प्रहरीले आक्रमणकारीले पनि डाक्टरकै सेतो कोट लागाएको जानकारी दिएको छ। घटनास्थलनजिकै फेला परेको उक्त राइफल सेनाले प्रयोग गर्ने एम –१६ राइफल जस्तो देखिएको एकजना स्थानीय राजनीतिज्ञले बताएका छन्। प्रहरी अधिकारी जेम्स ओ नेलले अस्पतालको १६औं तल्लाबाट आक्रमण शुरू भएको र १६औं १७ तल्लामा सबैलाई गोली लागेको बताएका छन्।

सन् २०१५ मा यौन दुव्र्यवहारको अभियोग लगाइएपछि उनले उक्त अस्पतालमा राजिनामा दिएको अनुसन्धानबाट खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्